भारतले बिहीबार बिहान पाकिस्तानका विभिन्न स्थानमा रहेको हवाई रक्षा प्रणालीहरूलाई लक्षित गर्दै क्षेप्यास्त्र (मिसाइल )आक्रमण गरेको पुष्टि गरेको छ। पहिलो पटक भारतले पाकिस्तानी सैन्य संरचनामा सीधा कारबाहीको सार्वजनिक स्वीकार गरेको छ।
भारतीय सरकारको वक्तव्यमा भनिएको छ, “यो प्रतिक्रिया पाकिस्तानले उत्तर र पश्चिम भारतमा रातभरिमा हाम्रो सैन्य संरचनालाई लक्षित गर्न खोजेपछि गरिएको हो।”
संयुक्त राष्ट्रसंघीय महासभाका अध्यक्ष फाइलेमोन याङले बुधबार भारत-पाकिस्तानबीच बढ्दो तनावप्रति “गहिरो चिन्ता” व्यक्त गर्दै तत्काल ‘संयम’ र संवादमार्फत समाधान खोज्न आग्रह गरे। उनले भने, “सर्वसाधारण र नागरिक पूर्वाधारमाथिका आक्रमणको म कडा निन्दा गर्दछु।”
यसैबीच, भारतको पंजाबस्थित उत्तरी क्षेत्रमा एक विमान रातिको समयमा आकस्मिक रूपमा खसेको स्थानीय प्रत्यक्षदर्शी र एक सरकारी अधिकारीले सिएनएनलाई बताएको सिएनएनले जनाएको छ ।
त्यो घटनाक्रम पाकिस्तानले पाँच भारतीय लडाकु विमान खसालिएको दाबी गरेको समयसँग मेल खाएको जनाएको छ । पाकिस्तान-प्रशासित कश्मीरमा भारतका क्षेप्यास्त्र प्रहार भएको दाबी गरिएको क्षेत्रमा संयुक्त राष्ट्रसंघको टोली बुधबार पुगेको छ ।
पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले टर्कीका राष्ट्रपति रेसेप तायिप एर्दोगनसँग बिहीबार कुराकानी गरेका छन्। उनले एर्दोगनलाई “प्रिय दाजु” भन्दै पाकिस्तानको समर्थनमा ऐक्यबद्धता देखाएकोमा धन्यवाद दिएका छन्।
तनावकै बीच पाकिस्तानले आफ्नो हवाई क्षेत्र कहिले खुला र कहिले बन्द गर्दै आएको छ जसका कारण यात्रुहरू र उडानमा व्यापक अवरोध आएको छ।
राष्ट्रिय ध्वजावाहक बिमानसेवाले थुप्रै उडान रुटहरू हाल स्थगित गरिएका जनाएको छ।
प्रतिक्रिया