अमेरिकी आन्तरिक सुरक्षा विभाग (डिएचएस) ले अब स्वेच्छाले अमेरिका छाड्न चाहने अवैध आप्रवासीहरूको हवाई टिकटको खर्च बेहोर्ने र तिनीहरूलाई १,००० डलरको प्रोत्साहन रकम दिने घोषणा गरेको छ।
विभागका अनुसार यस कदमले करदाताको हजारौं डलर बचत हुनेछ। हाल एक आप्रवासीलाई पक्राउ, हिरासत, र देशनिकाला गर्न औसत १७,००० डलर लाग्ने बताइएको छ जबकि स्वेच्छा-निकालाका लागि प्रस्तावित नयाँ कार्यक्रमले औसतमा मात्र ४,५०० डलर खर्च हुने अनुमान गरिएको छ।
डिएचएसले यो रकम तब मात्र दिइनेछ जब व्यक्तिले स्वेच्छाले अमेरिका छाडेको पुष्टि हुन्छ।
सहायता प्राप्त गर्नका लागि सिविपि होम नामक विशेष एप( अनुप्रयोग) मार्फत आवेदन दिनुपर्नेछ। यस कार्यक्रमले हजारौं आप्रवासीहरूलाई प्रभावित पार्ने अनुमान गरिएको छ।
गृह सचिव क्रिस्टी नोएमले फक्स न्यूजसँगको कुराकानीमा भनिन्, “यदि तपाई यहाँ अवैधानिक रूपमा हुनुहुन्छ भने, गिरफ्तारीबाट बच्न र सुरक्षित तरिकाले अमेरिका छोड्न स्वेच्छा-निकाला नै सबैभन्दा उत्तम र सस्तो उपाय हो।”
यो योजनाले कैयौं आप्रवासीलाई स्वतन्त्र निर्णयमार्फत देश छाड्न प्रेरित गर्ने विश्वास लिइएको छ।
प्रतिक्रिया