नयाँ वर्ष

इनेप्लिज २०८२ वैशाख १७ गते २२:५७ मा प्रकाशित

वरिष्ठ साहित्यकार प्रा मोहन सिटौला

मादक कविता बन्छ, जब स्थिति छ मादक
मूहुर्त मादकै बन्छ जब सङ्गति मादक
उत्तेजितै सवै बन्दाबन्दै साल पुरानो त्यो
लिएछ नि बिदा त्यस्ले ! गर्दै स्वागत नव्यको !

मनुवाहरुलाइै नै तिथी, मिति र वर्षको
खाँचो र ख्याल रहन्छ ऋतु, मौसम-चक्रको
माटो र ढुङ्गो सारामा चेतना हाल्छ मानुष
रचना, ध्वंश अनन्त गर्छ त्यो नर-राक्षस !

तै पनि नित्य यात्रा छ उठी, उठाई उच्चमा
जाने नै ध्येय यस्को छ गरे रै नित्य सिर्जना
अतीत, आज औ भोली, वेदान्त, बुद्ध, झल्मल
अन्यान्य धर्म, सिद्धान्त, संघसंस्था सुमङ्गल

गर्ने, गराउनेमा नै लागेकाछन् सँधैभरि
सिर्जना , रचना राम्रा गर्दै जाऊँ जुनीभरि
कटुता नगरौं कैल्यै, भएमा नदोह्या्उँ त्यो
गल्ती सुधार चैतन्य मानव ईश नै त हो !

सृष्टिको बागमा राम्रा शुभ, सुन्दर औ मिठा
नाना किसिमका रत्न, फूल औ कविता, कथा
कति होलान् ! कठै प्यारा अपार भवका कला
प्रकृतिले दियोस् सान मृदु संकेत झल्झला !

नयाँवर्ष सवैलाई यस्तै सन्देश दिन्छरे
सत्य हो प्रेम, सौन्दर्य भन्ने संकेत दिन्छरे !

प्रतिक्रिया