लमजुङदेखि मनाङसम्म: एक अविस्मरणीय हिमाली यात्रा

इनेप्लिज २०८३ असार १४ गते १३:२८ मा प्रकाशित

–कमलसिंह बम, ग्रीनहिल सिटी कोलोनी, मूलपानी, काठमाडौँ


मङ्सिर महिनाको स्वच्छ आकाशमा अपराह्नको समयमा हेलिकप्टरको झ्यालबाट तल हेर्दा पहाडको थुम्कामा बसिरहेको एउटा सुन्दर गाउँ हाम्रो नजरमा आएर टक्क अडियो । हरिया डाँडा, रङ्गिन छाना, तहतह मिलेका खेतका गरा, घुमाउरा गोरेटो र सिरानमा दूरसञ्चारको टावर, विद्यालय एवं ठुलो खेल मैदानले गाउँ चित्रमा जस्तै देखिन्थ्यो । उत्तरतर्फ घामको प्रकाशमा सुनौलो रङ्गमा अन्नपूर्ण हिमशृङ्खला चम्किरहेको थियो । त्यो दृश्य हेरिरहँदा प्रकृति, संस्कृति र मानव जीवनको सन्तुलित सङ्गम जस्तो लाग्थ्यो ।

पछि थाहा भयो- त्यो लमजुङको चर्चित स्मार्ट भिलेज घलेगाउँ रहेछ । यो दृश्य २०७४ साल मङ्सिर महिनाको प्रतिनिधि सभा निर्वाचनको अनुगमनका क्रममा गोरखा र मनाङबाट पोखरा फर्कंदा देखिएको हो । क्षणभरमै मनमा यो गाउँलाई आकाशबाट होइन, जमिनबाटै टेक्ने इच्छा जाग्यो । तर, तत्कालमा सम्भव भएन, थिएन पनि । अन्ततः करिब सात वर्षपछि, २०८१ साल चैत २२ गते त्यो चाहना वास्तविक यात्रामा बदलियो ।

काठमाडौँ मूलपानीस्थित ग्रीनहिल सिटी कोलोनीमा ‘ह्याप्पी ग्रुप’का मित्रहरूले यसपटक २/३ दिनका लागि गाउँले जनजीवन र प्रकृतिको स्वाद लिन होमस्टे जाने निधो गरे । लमजुङका ऐतिहासिक एवं रमणीय गाउँहरू काउलेपानी, राइनास र भुजुङको चर्चा भए पनि सबैको पहिलो रोजाइमा पर्यो- घलेगाउँ । लमजुङबासी अनिल बुढाथोकीको स्थानीय ज्ञानले घलेगाउँ जाने योजना अझ कसिलो बन्यो । अन्ततः आठ-नौ जनाको टोली तयार भयो । लामो समयदेखि घलेगाउँ जाने चाहना मनमा राखेको म, म नजाने त कुरै थिएन । बरु मैले प्रस्ताव अझ अलि लम्ब्याएँ – “बेसीसहर पुगिसकेपछि किन मनाङ पनि नजाने?”। मेरो प्रस्तावमा सबै सहमत भए ।

गाडीमा सात जनाको मात्र सिट भएकाले भर्खरै त्यहाँ पुगेर फर्केका अनिलले स्वेच्छाले आफ्नो नाम फिर्ता लिन चाहे । हामीले बाध्य भई उनको कुरा मान्यौँ, तर मनले उनलाई छुटाउन मानेको थिएन । अन्ततः पूर्वसहसचिव कमलकुमार श्रेष्ठ, पूर्वडीआईजीहरू गोविन्द निरौला र रमेश भण्डारी, अवकाश प्राप्त प्राध्यापकहरू पोषरमण चापागाईं र युवराज अधिकारी, अर्थविद डा. रेवतबहादुर कार्की र म गरी सात जनाको टोली तय भयो ।

स्कोर्पियो जिपमा हाम्रो यात्रा सुरु भयो । उमेर, पेसा र अनुभव फरक भए पनि हामी सबै एउटै परिचयमा बाँधिएका थियौँ यात्रुहरू । यात्रा प्रारम्भ गर्दै गर्दा मेरो मनको कुनामा भने विगतमा हेलिकप्टरबाट देखेको घलेगाउँको सुनौलो र सुन्दर रूप झलझली आइरह्यो; मानौँ त्यो दृश्यले यसपटकको स्थलगत यात्रालाई पूर्णता दिन हामीलाई कुरिरहेको थियो ।

वैकल्पिक रुटमा सरप्राइज

पहिलो दिन साँझसम्ममा घलेगाउँ पुग्ने योजना थियो । नागढुङ्गा – मुग्लिन खण्डको ट्राफिक जाम छल्न हामीले टोखा-नुवाकोट (त्रिशूली करिडोर) हुँदै गल्छी निस्कने वैकल्पिक मार्ग रोज्यौँ । यो बाटो हामीमध्ये धेरैका लागि नयाँ पनि थियो । सहरको कोलाहल छाडेर टोखा उक्लिएपछि यात्राले बिस्तारै नयाँ लय समात्दै थियो । जिम्मेवारीबाट मुक्त भएझैँ साथीहरू पुराना अनुभव र जीवनशैलीका कुरामा गफिन थाले । यात्राको सुन्दरता यस्तै साना संवादमा पनि लुकेको हुँदो रहेछ ।

त्यत्तिकैमा सुनसान भञ्ज्याङमा दुइटा मोटरसाइकल रोकिएको देखियो । नजिक पुग्दा त हामीलाई सरप्राइज दिन अनिल बुढाथोकी र अपूर्व ओझा पो आइपुगेका रहेछन् ! यो अनपेक्षित भेटले यात्रालाई अझ आत्मीय बनायो ।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको घना जङ्गल, माथिल्लो देउराली र नागबेली ढलान बाटो काट्दै हामी नुवाकोटका समथर फाँट छिचोलेर त्रिशूली नदी किनार पुग्यौँ । सवारी चाप नभएको सहज बाटो हुँदै गल्छी र त्रिशूली पछ्याउँदै हामी मुग्लिन पुग्यौँ ।

ट्राफिकको केरकार र बरादीको स्वाद

मुग्लिनमा त्रिशूली पुल तरेपछि मर्स्याङ्दी हाम्रो सहयात्री बनिन् । आबुखैरेनीतिरको चार लेनको चिल्लो सडकमा गाडी गुड्दै गर्दा अचानक ट्राफिक प्रहरीले रोकेर रुट परमिट मागे; उनीहरूलाई निजी गाडीमा व्यावसायिक यात्रु बोकेको शङ्का भएको रहेछ । ड्राइभर केही नबोली हामीतिर हेर्न थाले । त्यत्तिकैमा मित्र गोविन्द निरौलाले हाँस्दै जुक्ति निकाल्नुभयो, “हामी साथीभाइ घुम्न निस्केका हौँ, भाडाको गाडी होइन ।” हामी सबैले सहमति जनाएपछि प्रहरीसँगको कुरा मिल्यो र गाडी अगाडि बढ्यो ।

सङ्कट टरेपछि गाडीभित्र फेरि ठट्टा सुरु भयो । युवराजजीले जिस्क्याउँदै भन्नुभयो, “गोविन्द सर ! तपाईंले त बडो जुक्ति निकालेर सङ्कट समाधान गर्नुभयो, नत्र हामी घलेगाउँ होइन, बस चढेर काठमाडौँ फर्कनुपर्ने थियो।” उनको यो भनाइ २०८२ भदौको जेन्जी आन्दोलनपछि राष्ट्रपतिले संवैधानिक निकास निकालेको प्रसङ्गमा जुक्ति शब्द प्रयोग गरेजस्तै बडो रोचक र व्यङ्ग्यात्मक सुनिएको थियो ।

गफैगफमा हामी खानाका लागि पूर्व निर्धारित रेष्टुराँभन्दा दुई–तीन किलोमिटर अघि बढेपछि हामी फेरि फर्किएर बरादीस्थित मनुमर्स्याङ्दी रेस्टुराँ पुग्यौँ । ह्याप्पी ग्रुपकै एक मित्र घुरन ठाकुरको सिफारिसका कारण यहाँ हाम्रा केही अपेक्षा थिए, तर अनुभव अपेक्षाभन्दा माथि रह्यो ।

पृथ्वी राजमार्गको छेउमा अवस्थित त्यो रेस्टुराँ हाम्रा लागि आत्मीयताको एउटा सुन्दर चौतारी बन्यो । वैदेशिक रोजगारीबाट फर्केका सञ्चालक मनुराज पन्तले त्यहाँ स्थानीय उत्पादनमा आधारित स्वादको एउटा बेग्लै संसार बसाएका रहेछन् । मर्स्याङ्दीका ताजा माछा, लोकल कुखुराको झोल र रैथाने गाउँले तरकारीको स्वादमा माटोको साँचो सुगन्ध मिसिएको थियो ।

मनु एकैसाथ कुशल भान्से, सञ्चालक र अद्भुत कलाकार रहेछन् । घरी भान्सामा स्वादिला परिकार तयार गर्ने, त घरी टेबलमा ड्रिक्स सजाउने उनको जाँगर लोभलाग्दो थियो । त्यही व्यस्तताका बिच उनले हामीसँग बियरको चुस्की साट्दै दोहोरी भाकामा मिठो गीत सुनाउन थाले । मर्स्याङ्दी नदीको सुसाइ, चिसो हावाको झोक्का र उनको सुरिलो स्वरले त्यो बुफे लन्चलाई एउटा साङ्गीतिक उत्सवमा बदलिदियो । स्वादिलो भोजन र सङ्गीतको यस्तो संगमका कारण हामीले पेटभन्दा पहिले मन अघाएको अनुभूति गर्यौं ।

घलेगाउँतर्फ: बेसीसहरको उकालो

बरादीको आतिथ्य सम्झँदै हाम्रो यात्रा अघि बढ्यो । बेसीसहरको बैंकचोक र बजारलाई पछाडि छाड्दै गाडी डाँडातिर उक्लियो । मर्स्याङ्दी तलतिर छुट्दै गइन्, भूगोलले नयाँ रूप लियो । कतै कालोपत्रे त कतै खाल्डाखुल्डी, सडकका प्रत्येक घुम्तीमा नयाँ दृश्यहरू खुल्दै गए । पहाडका काखमा टाँसिएका गाउँ र टाढा टाढादेखि चम्केका हिमालले यात्राको थकान बिर्साइरहेका थिए ।

यही उकालामा मलाई सेवाकालको एउटा घटना सम्झना आयो । संवत् २०७३/७४ सालतिर गण्डकी प्रदेश प्रहरी प्रमुख हुँदा लमजुङ, गोरखा र मनाङका प्रहरी एकाइ निरीक्षणका क्रममा यो क्षेत्रमा पटक–पटक ओहोरदोहोर भएको थियो । घलेगाउँको चर्चा सुने पनि त्यतिबेला यो २२–२४ किलोमिटर बाटो काट्न दुई–ढाई घण्टा लाग्थ्यो । धुलो र बिग्रिएको सडकका कारण गाडी लिएर घलेगाउँ पुग्नु मर्मतको नयाँ झन्झट निम्त्याउनु जस्तै हुन्थ्यो । यो केवल एउटा गाडीको कथा थिएन, बरु राज्यका सुरक्षा निकायले भोग्दै आएको स्रोत–साधन अभावको चित्र थियो । अत्यावश्यक सेवा भनिए पनि साधनस्रोत व्यवस्थापनमा राज्यको उदासीनतालाई धेरै पटक महसुस गर्नु परेको थियो। एउटा गाडी बिग्रँदा निरीक्षण र अनुगमन मात्र रोकिँदैनथ्यो, मर्मत बजेट पाउन महिनौँ लाग्थ्यो । त्यसैले प्रहरी सेवामा गाडीको स्वास्थ्य हाकिमको कार्यक्षमतासँग जोडिएको हुन्थ्यो ।

तर, समय बद्लिएछ; जुन बाटो कहिल्यै नजाने बहाना बनेको थियो, त्यही बाटो हुँदै यसपालि हामी सजिलै घलेगाउँ उक्लिरहेका थियौँ ।

घलेगाउँको अनुभूति

उकालोको लामो यात्रा पार गरेपछि एक घुम्तीमा अचानक दृश्य खुल्यो; डाँडामाथि सिङ्गारिएर बसेको सुन्दर बस्ती । त्यही थियो घलेगाउँ । समुद्री सतहदेखि करिब २,१०० मिटर उचाइमा रहेको यो गाउँले साँच्चिकै हिमालको काखमा बसेको अनुभूति दिन्थ्यो । सफा ढुङ्गे बाटा, व्यवस्थित घर र शान्त वातावरणले गाउँ प्रवेश गर्नेबित्तिकै मन शितल बनायो ।

हामी प्रेम घलेको “घलेज होम” मा बस्यौँ । कोठा बाँड्ने क्रममा डा. रेवन्तबहादुर कार्की मेरो रुम पार्टनर बन्नुभयो । दिनभरको यात्राले थकित भए पनि घलेगाउँको आकर्षणले कसैलाई कोठाभित्र टिक्न दिएन । साँझ हामी गाउँको सिरानमा रहेको गोर्खा पार्क पुग्यौँ । त्यहाँबाट एकातिर बेसीसहरको झिलिमिली, अर्कोतिर घलेगाउँको व्यवस्थित बस्ती र क्षितिजमा अस्ताउँदै गरेको सूर्यको दृश्य अत्यन्त मनमोहक देखिन्थ्यो । हिमालमा छरिएको सुनौलो आभा र शान्त वातावरणले त्यो क्षणलाई झन् अविस्मरणीय बनाएको थियो ।

पार्कबाट गाउँको सिरानसँगै जोडिएको विशाल खेल मैदान पनि देखियो । यस्तो कोचिएर बसेको गाउँ त्यसमाथि यत्रो खेलमैदान ! हेर्दा कौतुहल जाग्दथ्यो । स्थानीयका अनुसार पुराना रुखे थुम्को सम्याएर भोगचलन गरिएको त्यस मैदानमा आज फुटबल, भलिबल र बास्केटबलका संरचनाहरू बनेका रहेछन् । हरेक नयाँ वर्षको अवसरमा यहाँ फुटवल प्रतियोगिता आयोजनाले खेलकुदसँगै पर्यटन र होमस्टे व्यवसायलाई समेत टेवा पुगेको जानकारी मिल्यो ।

पार्कमा गाउँको पृष्ठभूमि देखिने गरी रातो रङको आधुनिक फोटो स्ट्यान्ड बनेको रहेछ । डिजिटल पुस्तालाई आकर्षित गर्दै सामाजिक सञ्जालमार्फत गाउँको प्रवर्द्धन गर्ने उद्देश्यले निर्मित उक्त रातो रङको आर्क& मा @GHALEGAUN& भनी निकै चातुर्यतापूर्वक लेखिएको थियो । पर्यटकहरू त्यहाँ बसेर हाँस्दै तस्बिर खिचाइरहेको देखिन्थे । त्यसै स्ट्याण्डको दायाँतर्फको मार्बल स्तम्भमा घलेगाउँको गौरवशाली इतिहास अङ्कित थियो । त्यहाँ सन् २००० मा होमस्टेको सुरुवातदेखि, दक्षिण एसियाकै नमुना गाउँ, स्मार्ट गाउँ हुँदै सन् २०२२ मा सुखी गाउँ घोषणासम्मका उपलब्धिहरू कोरिएका थिए । यो विकास यात्रा नियाल्दा घलेगाउँ सामुदायिक एकता र दूरदर्शी सोचको जीवन्त पाठशाला रहेछ भन्ने बोध हुन्थ्यो ।

साँझमा स्थानीय परिकारको भोजनपछि हामी सांस्कृतिक कार्यक्रम हुने सभाहल पुग्यौँ । सुरुमा सुनसान देखिए पनि रातको नौ बजेपछि गुरुङ पहिरनमा सजिएका कलाकारहरू मञ्चमा उत्रिए । घाँटु, सोरठी र लोकगीतको प्रस्तुतिले हल गुञ्जियो । कार्यक्रमको अन्त्यमा दर्शकलाई पनि नचाइयो । हाम्रा केही साथीहरूको अनौठो नृत्यकला भने फर्कने बेलामा बाटोभरि हाँसोको विषय बनिरह्यो ।

भोलिपल्ट बिहानै हामी पुनः गोर्खा पार्क पुग्यौँ । सूर्योदयसँगै माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ, मनास्लु हिमचुली हिमालका शिखरहरू सुनौलो बन्दै गएको दृश्य अद्भुत् नै देखिन्थ्यो । डा. रेवत कार्कीले भने एफएम रेडियोमा प्रत्यक्ष अन्तर्वार्ता दिनुपरेकाले यो दृश्य हेर्न पाउनुभएन । नेपालको सञ्चार जगत्‌मा पढिने, देखिने र सुनिने अर्थविश्लेषकका रूपमा परिचित डा. कार्की यस्तै कार्यक्रममा प्रायः व्यस्त रहनुहुन्छ ।

सूर्योदयपछि हामी चिया बगान र गाउँवरपर पदयात्रामा निस्कियौँ । फर्कने क्रममा उत्तरकन्या मन्दिर, परम्परागत ढुङ्गेधारा, सात कुँवा र पोंजोको कोइवो धीं बौद्ध गुम्बाको अवलोकन गर्‍यौँ । यस क्षेत्रलाई धार्मिक पर्यटन केन्द्रका रूपमा विकास गर्ने योजना पनि अघि बढिरहेको रहेछ । प्राकृतिक सौन्दर्य, सामुदायिक एकता र हिमाली आतिथ्यको अनुपम सङ्गम अनुभव गर्दै करिब नौ बजे हामीले घलेगाउँसँग बिदा माग्यौँ र हिमालपारिको अर्को गन्तव्य मनाङतर्फ लाग्यौँ ।

लमजुङ-मनाङ मार्गमा बुङ झरना


घलेगाउँ छोडेको एक घण्टामै हामी मर्स्याङ्दी बेसीको खुदी पुग्यौँ, त्यहीँबाट मनाङको प्रवेशद्वार मानिने बेसीसहर–मनाङ सडकसँग हाम्रो यात्रा जोडियो । यस स्थानबाट यात्रा अझ रोमाञ्चक र चुनौतीपूर्ण बन्दै गयो । खुदी काटेपछि क्षितिजमा मुस्कुराइरहेका हिमालका दृश्यहरू नियाल्दै हामी अगाडि बढ्यौँ ।

प्रायः फोर ह्विल(4WD) गाडीहरू मात्र चल्ने यस दुर्गम मार्गमा सवारी साधनहरू फाट्टफुट्ट मात्र देखिन्थे । बाटामा केही मोटर बाइकर यात्री त केही पैदल यात्री भेटिन्थे; कोही रहरले त कोही बाध्यताले पाइला चालिरहेका थिए । यात्राका क्रममा बुझियो; विदेशीहरू प्रायः पैदलै हिँड्न रुचाउँछन्, जबकि नेपालीहरू भने सवारी साधनको प्रयोग गर्न बढी जोड दिन्छन् ।

मर्स्याङ्दी नदी कहिले दायाँ त कहिले बायाँ हुँदै सङ्गीतझैँ गुञ्जिरहेको थियो। कतै चट्टानै काटेर बनाइएको साँघुरो सडक, त कतै नदीमाथि झुण्डिए जस्तो देखिने भीरको बाटोद। यात्राकै क्रममा अपर मर्स्याङ्दी जलविद्युत् आयोजनाको सात सय मिटरभन्दा लामो सुरुङ पार गर्दा आधुनिक पूर्वाधार र हिमाली भूगोलको अनौठो सङ्गम महसुस भयो ।

करिब साढे दुई घण्टाको यात्रापछि हामी मर्स्याङ्दी गाउँपालिका–४ मा पर्ने एउटा सानो बजारमा पुग्यौँ । सानो ठाउँ भए पनि त्यहाँ रेष्टुराँहरूको बाहुल्यता र निकै चहलपहल थियो । खाना र विश्रामको समय मिलाउँदै बाटोको ठिक पारि देखिने आकर्षक बुङ झरनाको दृश्य अवलोकन गर्ने अवसर पनि जुर्‍यो । हाम्रो टोलीका मोटरसाइकलमा सवार दुई सदस्य अनिल र अपूर्व पनि त्यहीँ आएर जोडिए ।

शीतल हावामा बियरको चुस्की लिँदै, मर्स्याङ्दी पारिको अग्लो चट्टानी भीरबाट आकाशैबाट झरेजस्तो लाग्ने बुङ झरनाको सेतो ऐना जस्तो धारा नियाल्यौँ । प्रकृतिको त्यो असीम शक्ति र सौन्दर्यले हामीलाई केही बेर मन्त्रमुग्ध बनायो । त्यसपछि यात्रा अघि बढ्यो । च्याम्चे बजार नजिकै बाटामा अर्को आकर्षक दृश्य भेटियफो “अक्टोपस झरना” । यो माथिबाट साँघुरो खोचमा बग्दै आएको पानी तल झर्दा अक्टोपसझैँ फैलिएको देखिन्थ्यो । लमजुङबाट मनाङ प्रवेश गर्ने यो यात्रा अत्यन्त रोमाञ्चक र चुनौतीपूर्णलागिरहेको थियो । कतिपय स्थानमा सडक यति साँघुरो छ कि दुईवटा सवारी साधन एकैसाथ पार हुन पनि मुस्किल पर्थ्यो । म्याग्दी नदीमाथिको पुल तरेपछि विशाल भीरहरू छिचोल्दै हामी औपचारिक रूपमा मनाङ जिल्ला प्रवेश गर्यौँ ।

साहस र बलिदानको प्रतिबिम्ब: म्यार्दी भीर


एकातिर आकाश छुने चट्टान, अर्कोतिर गहिरो खोँच । मार्दी भीरको साँघुरो सडकमा गाडी गुडिरहँदा एक साथीले टिप्पणी गरे, “यस्तो जोखिमपूर्ण ठाउँमा पनि किन सडक बनाएको होला? लागतभन्दा फाइदा कम होला जस्तो छ !”

महालेखा नियन्त्रक कार्यालयको अनुभव भएका कमलकुमार श्रेष्ठका लागि यो वित्तीय सवाल जायज नै थियो ।

अर्का सदस्य प्राध्यापक अधिकारीले थपे, “यो बाटो बनाउन धेरै वर्ष लागेको रे । निजी कम्पनीहरूले त नसकेर छोडेका थिए ।”

मैले भीरतर्फ औंल्याउँदै भनेँ, “यो सामान्य सडक होइन, नेपाली सेनाको साहस, पसिना र बलिदानको इतिहास हो । वि.सं. २०६४ मा निजी क्षेत्रले हात झिकेपछि यसको जिम्मेवारी सेनाले पायो । सैनिकहरू कम्मरमा डोरी बाँधेर भीरमा झुण्डिन्थे र विस्फोटक पदार्थले चट्टान फोर्ने गर्थे ।”

“त्यसो भए त निकै जोखिमपूर्ण रहेछ!” प्राध्यापक चापागाईले आश्चर्य प्रकट गरे ।

“जोखिम मात्र होइन, कयौँ सैनिक र मजदुरले ज्यानै गुमाए,” मैले गम्भीर हुँदै थपेँ, “यो बाटो यान्त्रिक औजारतथा मेसिनले मात्र होइन, बलिदानको जगमा बनेको हो ।”

फेरि प्रश्न थपियो, “तर यति दुःख गरेर बनाएको सडकले के परिवर्तन ल्यायो त?”

“सबैभन्दा ठुलो उपलब्धि त हामी केही घण्टामै मनाङ पुग्न सक्ने भयौँ,” मैले मुस्कुराउँदै भनेँ, “हिजो दिनहुँ पैदल हिँड्नुपर्थ्यो, बिरामीले उपचार पाउँदैनथे । आज स्वास्थ्य, शिक्षा, व्यापार र पर्यटन – सबैको मुहार फेरिएको छ।” पूर्व डीआईजी निरौलाले थपे, “संसारभरका पर्यटकलाई मनाङको स्वर्गजस्तो उपत्यकासम्म डोर्‍याउने ढोका यही हो । यो कठिन भूगोलमाथि मानवीय सङ्कल्पको विजय हो ।”

कुरा सकिन नपाउँदै पछाडिबाट कसैले जिस्क्याइहाल्यो, “ल सुरु भयो, सुरक्षा निकायको आधिकारिक प्रवक्ताको वक्तव्य !”

गाडीभित्र हाँसोको फोहरा छुट्यो ।

मेरो कुरा सकिएलगत्तै पोषरमणले सिटबाट अगाडि बढ्दै भने, “क्या मिठो कुरा गर्नुभयो, हात मिलाऔँ त !” मन परेको कुरा सुन्नासाथ हात मिलाएर प्रशंसा गर्ने उहाँको मौलिक शैली फेरि एकपटक प्रकट भएको थियो ।

चामे बजार: मनाङको सदरमुकाम


ताल बजार, धारापानी र तिमाङ छिचोल्दै हामी मनाङको प्रशासनिक तथा व्यावसायिक केन्द्र चामे पुग्यौँ । चारैतिर हिमालका अग्ला शृङ्खला, बिचमा गर्जिरहेको मर्स्याङ्दी नदी र त्यही किनारमा व्यवस्थित रूपमा बसिएको चामे बजार निकै आकर्षक देखिन्थ्यो । यहाँ बैंक, सरकारी कार्यालय र पर्यटकीय होटलहरूको राम्रो सुविधा छ ।

चामे टेक्नासाथ मेरा पुराना स्मृतिहरू ताजा भए । वि.सं. २०७२ सालमा पोखरामा क्षेत्रीय प्रहरी प्रमुख रहँदा पहिलो पटक म यहाँ आएको थिएँ । त्यतिबेला जिल्ला प्रहरी कार्यालयको पुरानो भवन सडकछेउमै थियो । वि.सं. २०७८ सालको विनाशकारी बाढीले चामेका धेरै संरचनासँगै पुरानो प्रहरी कार्यालय पनि बगाएको थियो । त्यसैले यसपटक सुरक्षित स्थानमा निर्मित नयाँ भवन हेर्ने मेरो तीव्र इच्छा थियो । सडकबाट करिब एक किलोमिटर माथि बनेको नयाँ भवन पुगेर जिल्ला प्रहरी प्रमुख डीएसपी नरेश सिंहसँग भेटघाट भयो । चियाको चुस्कीसँगै हामीले मनाङको सुरक्षा, पर्यटन र बाढीपछिको पुनर्निर्माणबारे लामो कुराकानी गर्‍यौँ ।

विपत्ति भोगेर पनि पुनः उठिरहेको चामे देख्दा मनाङवासीको सङ्घर्षशीलताप्रति सम्मान जागेर आयो । समयले पूर्वाधार बदले पनि चामेको प्राकृतिक सौन्दर्य र
मानिसहरूको आत्मीयता भने उस्तै जीवन्त थियो । अन्नपूर्ण पदमार्गको मुख्य केन्द्र भएकाले चामेमा बाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल भइरहँदो रहेछ । डीएसपी साबसँगको स्वादिलो चियापानपछि हाम्रो टोली फेरि अगाडि बढ्यो ।

उकालामा सङ्कटको सामना


चामेबाट करिब आधा घण्टाको यात्रापछि हामी भ्राताङ पुग्यौँ । मनाङका विशाल स्याउ बगैँचाले ढाकिएको यो क्षेत्र हिमाली मरुभूमिको बिचमा हरियो ओएसिसझैँ देखिन्थ्यो । तर समय घर्कँदै गएकाले हामी त्यहाँ नअडिई सिधैं अगाडि बढ्यौँ । भ्राताङ पार गरेपछि सडक लगातार उकालो र चुनौतीपूर्ण लाग्न थाल्यो । पहाड खारेर सडक फराकिलो बनाउने काम भइरहेकाले बाटो क्षतविक्षत थियो ।

एउटा निकै तीव्र र साँघुरो घुम्तीमा पुग्दा हाम्रो गाडीको गति अचानक शून्य भयो र ढुङ्गामा टायर घिस्रिन थाल्यो । गाडी पछाडि सर्न थालेपछि ह्वील-बेस कराएको आवाज र टायर डढेको गन्धले सबैको ढुकढुकी बढायो । झ्याल बाहिर हेर्दा निकै तल गर्जिरहेको मर्स्याङ्दी नदी देखिन्थ्यो । केही क्षण गाडीभित्र सन्नाटा छायो।

अब के गर्ने? भन्ने डरमिश्रित प्रश्नहरू सुनिन थाले ।

मैले सबैलाई ढाडस दिँदै भनेँ, “चिन्ता नगरौं, आवश्यक परे चामे प्रहरीको सहयोग लिन सकिन्छ । पहिले आफैँ प्रयास गरौँ।”

हामी सबै गाडीबाट ओर्लियौँ र सामूहिक रूपमा धकेल्ने निर्णय गर्‍यौँ । चालकले एक्सिलेटर दबाए, इन्जिनले धुवाँ फाल्दै जोड गर्‍यो र अन्ततः गाडीले कठिन घुम्ती पार गर्‍यो । एकाएक सबैको अनुहारमा मुस्कान छायो । केहीबेर अघिको तनाव हाँसो र ठट्टामा बदलियो ।

त्यो कठिन मोडले एउटा ठुलो पाठ पनि सिकायो; यात्रा होस् या जीवन, कठिन गन्तव्य पार गर्न मेसिनको शक्तिले मात्र पुग्दैन; साथ दिने भरपर्दा हातहरू र सङ्कटमा नडगमगाउने सकारात्मक सोचको पनि उत्तिकै आवश्यकता पर्दो रहेछ।

पिसाङ: मनाङ उपत्यकाको प्रवेशद्वार

भ्राताङपछि हामी पिसाङ क्षेत्रमा प्रवेश गर्‍यौँ । अन्नपूर्ण पदमार्गको यो महत्त्वपूर्ण विन्दु वास्तवमा दुई भागमा विभाजित रहेछ- लोअर पिसाङ र अपर पिसाङ । मर्स्याङ्दी नदीको किनारैमा सडकसँग जोडिएको लोअर पिसाङ आधुनिक र पर्यटकमैत्री छ । ठिक माथि, डाँडाको काखमा अवस्थित अपर पिसाङले भने पुरानो हिमाली बस्तीको मौलिक स्वरूप र प्राचीनतालाई जोगाएर राखेको छ । ढुङ्गाले बनेका परम्परागत घर, फरफराइरहेका लुङ्दार र बौद्ध ध्वजा, प्रार्थना चक्र, अनि गुम्बाहरूले यहाँको गुरुङ र तिब्बती संस्कृतिलाई जीवन्त रूपमा झल्काउँछन् ।

वरपर अन्नपूर्ण हिमशृङ्खला र पिसाङ पिकका सेता थुम्काहरू मुस्कुराइरहेका थिए भने तल मर्स्याङ्दी उपत्यका क्यानभासझैँ फैलिएको देखिन्थ्यो । यहाँ आइपुग्दा पहाडहरूमा हरियो वनजङ्गल पातलिँदै हिमाली मरुभूमिको फुस्रोपन सुरु भइसकेको थियो । यहीँबाट मनाङ उपत्यकाको वास्तविक र विशाल स्वरूप प्रकट हुन् सुरु हुन्छ।

पिसाङमा चिया ब्रेक लिँदा उपत्यकाका दायाँ बायाँतिर हिमालहरू निकै नजिक र विशाल देखिन थालेका थिए । हावामा उचाइको तीखो चिसोपन मिसिइसकेको थियो । यो प्राकृतिक र सांस्कृतिक मौलिकतालाई नजिकबाट अनुभूत गर्न यहाँ कम्तीमा एक-दुई दिन बिताउनुपर्ने रहेछ । तर, समयको पाबन्दीका कारण हामी भने तातो चियाको चुस्कीसँगै पिसाङलाई आँखामा सजाएर हाम्रो मुख्य गन्तव्य मनाङ गाउँतर्फ अगाडि बढ्यौँ ।

मनाङ गाउँको बसाइ


चामेबाट २६ किलोमिटरको यात्रा पार गरी साँझ छ बजेतिर हामी अन्तिम गन्तव्य मनाङ गाउँ पुग्यौँ । बाटोमै मडारिएका काला बादलहरू मनाङ आइपुग्दा हल्का छिटपुट वर्षामा परिणत भए । पानीका थोपासँगै चिसो ह्वात्तै बढ्यो । हाम्रो बसाइ भ्राकास्थित होटल न्यु याकमा पहिले नै तय भइसकेको थियो । गाडीबाट ओर्लनासाथ झोलाबाट बाक्लो ज्याकेट निकालेर पहिरियौँ र होटलमा चेक-इन गर्‍यौँ । यस दिन मेरा कोठा साझेदार रमेश भण्डारी पर्नुभयो । होटलमा हामीबाहेक अधिकांश पाहुना विदेशी पर्यटक मात्र थिए । दिनभरको यात्राले शरीर थाकेको थियो । केही साथीहरू तास खेलेर थकाइ मेटाउन चाहन्थे, तर बढ्दो चिसोले कोठाबाहिर निस्कनै दिएन ।

रातको खाना खान मेस हलपुग्दा दाउराबाट बाल्ने हिटरले वातावरण न्यानो बनाएको थियो । हलका प्रायः सबै टेबल विदेशी पाहुनाले भरिएका थिए- कोही इन्टरनेटमा झुमिरहेका, कोही पेय पदार्थमा मस्त । दृश्य नियाल्दा लाग्थ्यो, हामी मनाङमा होइन, ठमेलकै कुनै चल्तीको रेस्टुरेन्टमा छौँ । पर्यटकीय सिजनको चरम समय भएकाले होटलहरू भरिभराउ रहेछन् । काठमाडौंबाटै अग्रिम बुकिङ गरेर आउने हाम्रो निर्णय सही साबित भयो । वास्तवमा यो मनाङ गाउँ केवल एउटा सुन्दर बस्ती मात्र थिएन, यो त साहसिक यात्रीहरूको सपनाको प्रस्थानविन्दु पनि रहेछ । यहीँबाट सुरु हुन्थ्यो—विश्वकै अग्लो स्थानमा रहेको तिलिचो ताल, पदयात्रीहरूको धैर्यताको परीक्षा लिने थोरङ ला पास र हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको पवित्र साझा तीर्थस्थल मुक्तिनाथतर्फ जाने चुनौतीपूर्ण बाटो ।

विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गको यो प्रमुख बिसौनीमा यी प्रख्यात गन्तव्यहरूको फेदमा बसेर रात बिताउनु आफैँमा एउटा विशेष अनुभव थियो । सिरकको न्यानोमा रात कसरी बित्यो, पत्तै भएन । बिहान सबेरै नित्यकर्म सकेर हामी सूर्योदय नियाल्न बाहिर निस्कियौँ । मनाङको त्यो बिहानी हाम्रो यात्राकै सबैन्दा अविस्मरणीय क्षण बन्यो । पूर्वबाट उदाउँदै गरेको सूर्यका सुनौला किरणहरूले हिमालका सेता टाकुराहरूलाई स्वर्ण मुकुट पहिराइदिए झैं देखिन्थ्यो । माथि नीलो आकाश, वरपर चाँदीझैँ चम्किरहेका हिमशृङ्खला र तल फैलिएको विशाल उपत्यका । लाग्थ्यो, प्रकृतिले क्यानभासमा कुनै भव्य चित्र कोरेकी छिन् । चिसो सिरेटोका बिच हिमाली मौनता र प्रकृतिको त्यो विराट उपस्थितिले मनभित्र एउटा अनौठो शान्ति र आनन्द सञ्चार गराइरहेको थियो ।

गङ्गापूर्ण ताल र मनाङको मौलिकता

बिहान सात बजेतिर ब्रेकफास्ट सकेर हामी मनाङ बजार घुम्न निस्कियौँ । सिँढीदार रूपमा बसिएको बस्तीको पृष्ठभूमिमा गङ्गापूर्ण र अन्नपूर्ण शृङ्खलाका भव्य हिमशिखरहरू उभिएका थिए । ढुङ्गा छापिएका साँघुरा पदमार्गमा स्थानीय बासिन्दासँग संवाद गर्दै, यहाँको जनजीवन र संस्कृति बुझ्दै हामी बजारको माथिल्लो भागमा पुग्यौँ । त्यहाँबाट मर्स्याङ्दी नदीपारि अवस्थित प्रसिद्ध गङ्गापूर्ण हिमताल जाने बाटो खोज्नेक्रममा गल्लीहरूमा हामी केहीबेर अलमलियौँ।

दोबाटोमा एक स्थानीय महिलालाई सोध्यौँ, “यी बाटो कता जान्छन्?”

उनले सहज रूपमा हातले इसारा गर्दै भनिन्, “यो बाटो यतै जान्छ, त्यो बाटो उतैतिर जान्छ ।” उनको यो अति सरल र निर्दोष जवाफ सुनेर हामी सबै गलल हाँस्यौँ । त्यो क्षणले हिमाली जनजीवनको निष्कपटता र सहजतालाई निकै सुन्दर रूपमा उजागर गर्‍यो । यसैबिच पोषरमण, डा. रेवत र कमल श्रेष्ठसहितको समूह पछाडि नै छुटिसकेको थियो, हामी भने अगाडि बढिरह्यौँ । केही तल ओर्लिएपछि गङ्गापूर्ण ताल जाने बाटो प्रष्ट भयो । मनाङबाट आधा घण्टाको पैदल दुरीमा रहेको यो ताल समुद्री सतहबाट ३,५४० मिटर उचाइमा छ ।

गङ्गापूर्ण हिमनदी (Glacier) पग्लिएर बनेको यस तालको मनमोहक दुधिलो-नीलो (Milky-Turquoise) रङ्गले हामीलाई मन्त्रमुग्ध बनायो । हिमालको काखमा बसिएको कुनै प्राकृतिक रत्नझैँ देखिने यस तालको सौन्दर्य पान गरेर हामी फर्कियौँ ।

फर्कनेक्रममा अघि छुटेका साथीहरूसँग बाटोमै मिलाप भयो । एउटा बेकरीबाहिर बसेर तातो कफीको चुस्की लिँदै हामीले मनाङका अनुभवहरू साटासाट गर्‍यौँ । कुराकानीकाक्रममा बाटो सोध्दा ती महिलाको प्रसङ्ग आउँदा फेरि एकपटक हाँसोको फोहरा छुट्यो । अन्ततः मनाङ बजारको प्रवेशद्वारमा एउटा सुन्दर सामूहिक तस्बिर खिचाउँदै हामीले यो गन्तव्यलाई क्यामेरा र मन दुवैमा कैद गर्‍यौँ ।

मनाङ केवल हेर्ने मात्र होइन, प्रकृतिको विराट उपस्थितिमा आफ्नै भित्री मौनता भेट्ने र अनुभूत गर्ने ठाउँ रहेछ । सहरको कोलाहल र चिन्ताबाट टाढा यसले सम्झाइदिन्छ- प्रकृतिका अगाडि हामी कति साना छौँ, तर जीवन कति सुन्दर छ ।

फर्कँदै गर्दा मनाङ भौगोलिक रूपमा पछाडि छुट्दै थियो, तर मनभित्र भने सधैंका लागि बस्न सफल भयो । मर्स्याङ्दीको गायन, हिमालको निस्तब्धता, चिसो सिरेटो र स्थानीयको सरल मुस्कान- यी स्मृतिहरू यात्राभन्दा धेरै ठुलो जीवनोपयोगी सम्पत्ति बनेर हामीसँगै फर्किरहेका थिए ।

ब्लु लेकको सुखद आश्चर्य


पहिला गएकै मार्ग हुँदै फर्कने क्रममा हामीले पुरानो विमानस्थल रहेको हुँदे बजार पार गर्‍यौँ । मोटरसाइकलमा अगाडि गइरहेका अनिल र अपूर्वले अचानक मुख्य सडक छोडेर दायाँतर्फको एउटा कच्ची मोटर ट्रयाक समाते । केही अन्योलका बिच हामीले उनीहरूलाई पछ्याइरह्यौँ । केही बेरपछि गाडी एउटा अत्यन्तै सुन्दर तालको किनारमा पुगेर रोकियो । बल्ल थाहा भयो- अनिल र अपूर्वले हामीलाई एउटा सुखद आश्चर्य (Surprise) दिन खोजेका रहेछन् ।

मनाङ उपत्यकाको काखमा, समुद्री सतहबाट करिब ४,१५० मिटरको उचाइमा अवस्थित चिन्डी ताल जसलाई धेरैले ब्लु लेक भनेर चिन्छन्; साँच्चिकै प्रकृतिको अनुपम उपहार थियो । तालको कञ्चन नीलो पानीमा टल्किएका हिमशिखरहरूको प्रतिबिम्ब र वरपरको निस्तब्ध वातावरणले हामीलाई मन्त्रमुग्ध बनायो । अन्नपूर्ण पदमार्गको यो लुकेको गन्तव्य नहेरी फर्किएको भए यात्रा अपुरो हुने महसुस भयो । यो सुन्दर उपहारका लागि हामी दुवै साथीप्रति कृतज्ञ भयौँ । त्यही क्षण मनमा लाग्थ्यो- मनाङलाई साँच्चिकै बुझ्न र अनुभूत गर्न एक रातको बसाइ त सागरमा एक थोपा जस्तै मात्र रहेछ ।

भ्राताङको स्याउ बगान र कृषि-पर्यटन

करिब एक घण्टापछि हामी पुनः भ्राताङको प्रसिद्ध स्याउ बगैँचामा पुगेर रोकियौँ । पहिलोपटक यहाँ आउँदा डोरीले अड्याइएका, पङ्क्तिबद्ध होचा बोटहरू देखेर मैले गोलभेडा खेती ठानेको थिएँ । पछि ती उन्नत जातका इटालियन स्याउका बोट हुन् भन्ने थाहा पाउँदा म छक्क परेँ । त्यतिबेला बोटबाटै टिपिएको रसिलो स्याउको स्वाद लिएको र संयोगले बगैँचाधनी पाल्तेन गुरुङसँग भेट भई आधुनिक खेतीबारे बुझ्न पाएको सम्झना अझै ताजा छ ।

पाल्तेनजीका अनुसार गाला, फुजी र गोल्डेन डेलिसियस जस्ता उन्नत जातका स्याउको सफल परीक्षणले स्थानीय कृषिमा क्रान्ति ल्याएको हो । यी नयाँ बिरुवाहरूले परम्परागत स्याउको तुलनामा छिटो र धेरै फल दिएर कृषकहरूलाई

आकर्षित गरेपछि जिल्लाभरि हाइब्रिड स्याउ खेतीको तीव्र विस्तार भइरहेको छ । यसपटक फर्कँदा भ्राताङ अझ बढी व्यावसायिक र जीवन्त बनिसकेको देखियो । स्याउ खेतीको विस्तारसँगै यहाँ वाइनरी र सुविधायुक्त होमस्टेहरू सञ्चालनमा आइसकेका रहेछन् । स्थानीय काठ र ढुङ्गा प्रयोग गरी बनाइएका आकर्षक संरचनाले यहाँको पर्यटनलाई नयाँ उचाइ दिएको महसुस हुन्छ ।

हजारौँ स्याउका बोट, लहरै मिलेका सिँढीनुमा बगैँचा र हिमालको पृष्ठभूमिले भ्राताङलाई कृषि र पर्यटनको एउटा नमुना सङ्गम बनाएको छ । बगैँचामै उत्पादित ताजा स्याउको जुसको स्वाद लिँदै हामीले फेरि गाडी अगाडि बढायौँ र मनभरि मनाङका अविस्मरणीय स्मृतिहरू सजाउँदै हाम्रो टोली अर्को गन्तव्यतर्फ मोडियो ।

तालगाउँमा लन्च

चामे र तिमाङ पार गरेपछि हामी दिउँसोको भोजनका लागि मनाङको प्रवेशद्वार तालगाउँ पुग्यौँ । मर्स्याङ्दी नदीको किनारमा अवस्थित यो गाउँ वरपरका अग्ला पहाड, लामा झरना र नदीको सुसाइले निकै मनमोहक देखिन्थ्यो । मनाङको सफल यात्राको खुसीमा साथीहरू उत्सवकै मुडमा थिए । भ्राताङबाट ल्याइएको स्थानीय वाइनसँगै मर्स्याङ्दीको ताजा माछा र रैथाने परिकारको स्वाद लिँदै हामीले यात्राका अनुभवहरू साटासाट गर्न थाल्यौँ ।

हामीले होटल साहुसँग तालगाउँको इतिहासबारे सोधपुछ गर्दै थियौं । त्यहाँ एक जना स्थानीय अधबैंसे व्यक्ति आइपुगे । होटल साहुनीले आत्मीयताकासाथ उनीलाई “भेनाजु” भनेर सम्बोधन गरिन् । कुराकानीमा जोडिएका उनलाई स्थानीय मदिराको एक गिलास टक्र्याइयो र त्यो रित्याएपछि उनी बिस्तारै खुल्न थाले ।

“यस्तो जोखिमयुक्त नदी किनारमा किन बस्ती बसेको होला?” भन्ने मेरो जिज्ञासामा उनले मुस्कुराउँदै भने, “पहिला यहाँ ठूलो ताल थियो रे । पछि मर्स्याङ्दीले धार फेरेर ताल सुकेपछि हाम्रा बाजेहरूले यहाँ बस्ती बसालेका हुन् ।” त्यसपछि डा. रेवतले जग्गाधनी पुर्जाबारे सोध्दा उनी गम्भीर बने र थपे, “पुस्ताौँदेखि बसेर किनबेच चल्दै आए पनि हामीमध्ये अधिकांशसँग जग्गाको आधिकारिक कागज छैन, हामी सुकुम्बासी जस्तै हौँ ।” कुराकानी अघि बढ्दै जाँदा तालगाउँको अर्को यथार्थ पनि खुल्दै गयो । वि.सं. २०७८ को विनाशकारी बाढी र विगतका अनेकौँ विपत्तिले तालगाउँलाई थिलथिलो बनाए पनि स्थानीयको जन्मभूमि र पर्यटनप्रतिको मोह डगमगाएन । चुनावैपिच्छे राजनीतिक दलहरूले बाँड्ने जग्गाधनी पुर्जाको आश्वासन भने अझै पनि अधुरै रहेको गुनासो यहाँ सुनिन्छ ।

भेनाजुले दोस्रो गिलास पनि रित्याएपछि डीआईजी भण्डारीले हाँस्दै सोध्नुभयो, “अनि, अर्को प्याग थप्ने होइन?” उनी तुरुन्तै गम्भीर मुद्रामा उत्रिए, “मेरो बुबाले दिएको एउटा शिक्षा म कहिल्यै बिर्सन्न–पहिलो प्याग मुखमा, दोस्रो प्याग शिरमा, तेस्रो प्याग भिरमा !”

उनको जवाफ सुन्नासाथ सबै जना पेट मिचीमिची हाँस्यौँ । तर यो केवल उखान थिएन; मदिरा र कुलतले मानिसको विवेक नष्ट गरी कसरी विनाशको खाडलमा पुर्‍याउँछ भन्ने जीवनको व्यावहारिक दर्शन थियो ।


किनारमा तालगाउँको सङ्घर्षमय इतिहास सुन्दै खाएको रैथाने भोजनको स्वाद यात्राको अर्को अविस्मरणीय पल बन्यो । अन्तमा, भेनाजुले हामीलाई आफ्नो घरसम्म जाने अनुरोध गरेका थिए तर समय अभावले निम्तो थाती राख्दै हामी काउलेपानीतर्फ लाग्यौँ ।

फर्किँदै गर्दा बाटोमा फेरि त्यही म्यार्दी भीर पार गर्नुपर्ने भयो । यसपटक हाम्रो हेर्ने नजर बदलिएको थियो । हामीले बुझ्यौँ, कतिपय ठाउँहरू केवल घुम्ने र रमाउने ठाउँ मात्र होइनन्; तिनको निर्माणमा मानवको कडा मिहिनेत र ठूलो बलिदान लुकेको हुन्छ । म्यार्दी भीर प्रकृतिको कठोरता र मानिसको कडा सङ्घर्षको एउटा बलियो प्रतिबिम्ब हो ।

काउलेपानी होमस्टेको ग्रामीण आतिथ्य र बिदाइ


बेँसीसहरमाथिको डाँडामा अवस्थित काउलेपानी सामुदायिक होमस्टे पुग्दा साँझ परिसकेको थियो । हाम्रो समूहका लागि गाउँकै बिचमा रहेको घर नं. १३ छुट्याइएको रहेछ । घरबेटी आमैले आफ्नै बारीका फूलको माला र सेतो टीका लगाएर परम्परागत शैलीमा हाम्रो न्यानो स्वागत गरिन् । आँगनको गोलो टेबल वरपर थकाई मार्दै गर्दा भान्छाबाट तातो चिया र भुटेको भटमास आइपुग्यो । सामान्य परिकार भए पनि त्यसमा मिसिएको अपनत्व असाधारण थियो ।

त्यही समयामा पोषरमण भान्सा बाहिर कुनामा पानीधारोतिर एकटक हेरिरहनु भएको थियो । मैले सोधेँ, “के सोच्नुभएको सर?”

मुस्कुराउँदै उनले धारामुनि थुपारिएका जुठा भाँडारू, छेउमै करेसाबारीका तरकारी र अलि परको खेततिर देखाउँदै भने, “आफ्नै भोजपुर सम्झिएँ ।”

साँच्चै, केही आधुनिक सुविधाले छोए पनि काउलेपानीको मूल स्वरूप गाउँकै थियो—सहरले दिन नसक्ने सरलता र अपनत्वले भरिएको । उहाँ एक स्थापित नियात्राकार भएकाले नयाँ कुराको खोजीमा भएजस्तो लाग्दथ्यो । खाजा सकेर हामी त्यहाँका दुईवटा कोठामा हामी सबै एड्जस्ट भयौँ र आज मलाई टोलीका सवैभन्दा वरिष्ठ सदस्य पोषरमणसँग कोठा साझेदारी गर्ने अवसर मिल्यो ।

संयोगले हामी चैते दशैँको दिन काउलेपानी पुगेका रहेछौँ । नजिकैको कालिका मन्दिर र पुरानोकोट गढीको मेलामा गाउँलेहरू व्यस्त थिए । साँझपख मौलिक गुरुङ पोशाकमा सजिएका महिला समूह र होमस्टे समितिका अध्यक्ष हामीलाई भेट्न आउनुभयो ।

उहाँहरूबाट अवसर अभावमा रित्तिँदै गएको यो ऐतिहासिक गाउँ कसरी सामूहिक प्रयास, प्रकृति र संस्कृतिको संरक्षणले ग्रामीण पर्यटनको सफल नमुना बन्यो भन्ने सङ्घर्षको कथा सुनियो । विशेष परिस्थितिले गर्दा सामुदायिक भवनको परम्परागत स्वागत र सांस्कृतिक कार्यक्रम सम्भव नभएपछि उहाँहरूले यहीं घरमै नाचगानको प्रस्ताव राख्नुभयो । तर, अस्ति घलेगाउँको हाम्रो ‘कमजोर प्रस्तुति’ सम्झेर साथीहरू उत्साहित नभएकाले हामी भलाकुसारीमै रमायौँ ।


रातको भोजनमा लोकल कुखुराको झोल, ताजा साग र गोलभेडाको अचार जस्ता रैथाने स्वादको आनन्द लियौँ । कतिपयले स्थानीय मदिराको स्वाद लिँदै तालगाउँमा सिकेको- “एक प्याग मुखमा, दुई प्याग शिरमा, तीन प्याग भीरमा” भन्ने उखान सम्झँदा माहोल हाँसोले गुञ्जियो ।

रातको सबैभन्दा रमाइलो क्षण त त्यसपछि सुरु भयो, जब यात्राकै प्रतिक्षित म्यारिज खेल को रहर पूरा भयो । अघि नाचगानबाट पन्छिने साथीहरू नै तास खेलमा बढी सक्रिय देखिए । यसले उमेर ढल्के पनि मनको युवापन र ठट्टा अझै बाँकी रहेको प्रष्ट पार्थ्यो । हाँसो र रमाइला किस्साहरूका बिच रात अबेरसम्म यो कौतुहल चलिरह्यो । भोलिपल्ट बिहान घरबाहिरको साझा शौचालयमा लागेको लामो लाइनले होमस्टेको सामूहिक जीवनको यथार्थ अनुभूति गरायो । त्यसपछि तात्तातो फापरको सेलरोटी, चनाको तरकारी, उसिनेको अण्डा र चियाको रैथाने नास्ताले गाउँको स्वाद फेरि मनमा बसायो ।

बिदाइको क्षण अपेक्षाभन्दा बढी भावुक बन्यो । घरबेटी आमाले निधारमा अक्षताको सेतो टीका लगाइदिँदै शुभकामनास्वरूप रातो गुलाफ थमाइन् । ती आमाले सगुनको दही खुवाएर गरेको बिदाइले हामी सबैको आँखा र मन द्रवीभूत बनायो । पोषरमण सरको प्रस्तावमा हामीले उनकी सानी छोरीलाई सानो दक्षिणा पनि दियौँ । त्यो मर्मस्पर्शी क्षणले होटल र होमस्टेबीचको मौलिक भिन्नता प्रष्ट पारिदियो- होटलले केवल सुविधा दिन्छ, तर होमस्टेले आत्मीय सम्बन्ध दिन्छ । शायद यही नै सामुदायिक होमस्टेको सबैभन्दा सुन्दर र विशेष पक्ष हो ।

ऐतिहासिक लमजुङ दरबार र फिर्ती यात्रा


काउलेपानीबाट बिदा भएपछि हाम्रो अन्तिम गन्तव्य थियो- ऐतिहासिक लमजुङ दरबार । यी गन्तव्य हाम्रो यात्राको बाटोमै पर्थ्यो । प्रवेशद्वारमै उभिएको राजा यशोब्रह्म शाहको शालिकले यस भूमिको गौरवमय इतिहास झल्काइरहेको थियो । यही शाह वंशको विरासतबाट पछि गोर्खा राज्यको उदय भएको र नेपाल एकीकरण अभियानले गति लिएको इतिहास सम्झँदा, यो दरबार राष्ट्र निर्माणको प्रारम्भिक अध्यायको साक्षी झैँ प्रतीत हुन्थ्यो । दरबारसँगजोडिएको प्रसिद्ध लमजुङ कालिका मन्दिर वर्षमा चार पटक मात्र खुल्ने रहेछ; चैते दशैँको संयोगले हामीले दर्शनको सौभाग्य पायौँ ।

यहाँ दरबारका अवशेषहरू बिचबाट उत्तरतर्फ अन्नपूर्ण र मनास्लु हिमशृङ्खला भव्य रूपमा उभिएका देखिन्थे भने तल लमजुङको हरियाली भू–भाग । फर्कने क्रममा बेँसीसहरमा अनिल बुढाथोकीको कटेज शैलीको नवनिर्मित सुन्दर घरमा केही बेर सुस्तायौँ ।

दिउँसो मुग्लिन नजिकै त्रिशूली नदी किनारमा ताजा माछाको स्वाद लिँदै गर्दा बहने चिसो सिरेटो यात्राको अन्तिम मधुर स्मृति बन्यो । साँझपख काठमाडौँ छिर्दा फेरि त्यही ट्राफिक, धुलो र सहरको भागदौड हाम्रो स्वागतार्थ उभिएको थियो । आँखाहरू सहरमा ओर्लिए पनि मन भने अझै मर्स्याङ्दीकै कञ्चन किनार, घलेगाउँको न्यानो साँझ, मनाङको मौन हिमाली आकाश र काउलेपानीको आत्मीयतामै अल्झिरहेको थियो । वास्तवमा, यात्रा भनेको केवल भूगोलको परिवर्तन मात्र होइन रहेछ । यात्रा त मानिस, संस्कृति र दृश्यहरूको ऐनामा आफूलाई पुनः खोज्ने र पुनः परिभाषित गर्ने एउटा सुन्दर आत्मिक प्रक्रिया रहेछ ।

प्रतिक्रिया