जालको ‘सृष्टि विवेचन’माथि एक दृष्टि

सञ्जय साह मित्र २०८३ असार १३ गते १०:१० मा प्रकाशित

साहित्यको बहुविधामा सिर्जना गर्ने र समालोचना तथा अनुसन्धानसमेत गर्ने निकै कम सर्जकमध्ये एक हुन् नवराज रिजाल । नेपाली र अङ्ग्रेजी भाषामा साहित्य सिर्जना तथा नेपाली भाषामा अनुसन्धान तथा समालोचना गर्ने रिजाल भोजपुरी भाषाका हिमाइती पनि हुन् । रिजालका प्रकाशित कृतिहरुलाई आधार मान्ने हो भने लघुकथा, कथा, नियात्रा, गजल, मुक्तक, अनुसन्धान–समालोचना, बालसाहित्य आदिका सशक्त हस्ताक्षर हुन् भने सहलेखनमा नेपाली भाषा व्याकरण तथा नैबन्धिक कृति पनि रहेका छन् । सम्पादक व्यक्तित्व रिजालको अर्को विशिष्ट पाटो हो, साहित्यको । मधेश प्रदेशदेखि केन्द्रसम्मका विभिन्न साहित्यिक तथा साहित्यिक पत्रकारिताका संस्थाहरुमा जिम्मेवार पदमा रहँदै रिजालले नवप्रज्ञापन साहित्यिक त्रैमासिकलाई तीन दशकभन्दा लामो समयदेखि निरन्तरता दिएका मात्र छैनन्, इतिहास नै रच्ने काम गरेका छन् । नवप्रज्ञापनले साहित्येतिहासका अनेक खुड्किलाहरु सिर्जना गरेको छ, कतिपय अवस्थामा नवइतिहासको आरम्भ गरेको छ ।

साहित्यको सेवा गरेवापत रिजालले अनेकौँ पुरस्कार तथा सम्मानहरु प्राप्त गरेका छन् । साहित्यिक समाजदेखि सरकारसम्मले रिजालको साहित्यसेवाको सम्मान गर्दै प्रोत्साहित बनाउने काम गरेका छन् ।

भनिन्छ, समालोचना साहित्यमाथिको साहित्य हो । रिजालले गरेका विभिन्न समालोचनात्मक सिर्जनाहरु प्रतिष्ठित पत्रिका तथा जर्नलहरुमा प्रकाशित छन् । रिजालका छरिएका समालोचनाहरुलाई सङ्कलित गरी तन्नेरी प्रकाशन, काठमाडौँले २०८१ फागुनमा एउटा कृति प्रकाशन गरेको छ – सृष्टि विवेचन । ‘सृष्टि विवेचन’ शीर्षकले नै समालोचनात्मक ग्रन्थ बुझाउने प्रस्तुत कृतिभित्र विभिन्न २७ सिर्जनामाथि लेखिएका समालोचनात्मक आलेखहरु रहेका छन् ।

पहिलो समालोचना रहेको छ – ‘अङ्गहीन को हो ?’ कथामा सामाजिक मनोविज्ञान । कथाकार कृष्णप्रसाद पराजुलीको ‘अङ्गहीन को हो ?’ कथालाई शीर्षकले निर्धारण गरेको विषयवस्तुको आधारमा मूल्याङ्कन गर्दै कथाको संरचनाको आधारमा पनि मूल्याङ्कन गरिएको छ । समालोचक रिजालले कथालाई प्रगतिशील कथाको रूपमा चित्रण गरेका छन् । ‘निर्मोही व्यासको ठोरीको एलबम नियात्राकृतिको विषयवस्तु’ शीर्षकमा दोस्रो समालोचना रहेको छ । नियात्राकारको परिचय र कृतिको विषयवस्तुमाथि गहन दृष्टि दिँदै समालोचक रिजालले सम्बन्धित कृतिलाई यथार्थवादी प्रगतिवादीको सशक्त दृष्टान्तको रुपमा स्वीकार गरेका छन् । कृतिभित्र समेटिएको अर्को समालोचना हो – रूद्रराज पाण्डेको रूपमती उपन्यासको विश्लेषणात्मक अध्ययन । आधुनिक नेपाली उपन्यासमा कृतिकार पाण्डेको परिचय, विधागत चिनारी, उपन्यासको कथावस्तु, मुख्य पात्रहरुको चरित्रचित्रण गरेर उपसंहारमा नेपाली उपन्यास साहित्यमा अतुलनीय योगदान पु¥याएको कृतिको रुपमा स्वीकार गरिएको छ ।

लैनसिंह बाङ्देलको माइतघर उपन्यासका पात्रहरूको मनोदशा शीर्षकमा नेपाली उपन्यासको एक विशिष्ट कृतिका पात्रहरूको मनोविज्ञान केलाइएको छ । रिजालले उपन्यासलाई यथार्थवादी बताए पनि पात्रहरूलाई अस्थिर मनोविज्ञानको भनी चित्रण गरेका छन् । अर्को समालोचना हो – सरिता खण्डकाव्यको कथावस्तु । नियात्राकारका रूपमा सुपरिचित निर्मोही व्यासको ‘सरिता’ खण्डकाव्यलाई कथावस्तुको दृष्टिकोणले मुख्य विश्लेषण गरिएको भए पनि रिजालका अन्य समालोचनामा जस्तै कृतिकारको परिचय, पात्रहरूको चरित्रचित्रणपछि कथावस्तुको बारेमा चर्चा गरिएको छ । व्यासको पहिलो र अहिलेसम्मको अन्तिम खण्डकाव्य भनिएको प्रस्तुत समालोचनामा सरिता खण्डकाव्यलाई नेपाली खण्डकाव्यको इतिहासमा महत्त्वपूर्ण स्थान रहेको किटान गरिएको छ । अर्को समालोचनाको शीर्षक हो – गोपाल अश्कको भाउजूको पसल कथाको अर्थबोध । यसमा अश्कको परिचयसँगै कथाकारिताको पनि विश्लेषण गरिएको छ । अश्कको ‘भाउजूको पसल’ कथालाई अश्कका धेरै कथाहरूमध्ये प्रतिनिधि कथाको रुपमा स्वीकार गरिएको छ ।

विश्वप्रेम अधिकारीको सम्झनाका बिम्बहरू कृतिमा अस्तित्वको खोजी शीर्षकमा लेखिएको समालोचनामा संस्मरणात्मक र विचारपरक कृतिको विश्लेषण गरिएको छ । अस्तित्वको खोजीका सङ्घर्षहरूले यस समालोचनाको उपादेयतालाई पुष्टि गर्दछ । अस्तित्वविनाको जीवन नभई अस्तित्वको पक्षमा रहनुपर्ने कृतिसँगै समालोचकको पनि निष्कर्ष रहेको छ । लोकेन्द्रबहादुर चन्दको माटोलाई प्रणाम कथामा प्रदर्शित देशप्रेम शीर्षकमा समालोचक रिजालले कथाकार चन्दको कृति ‘विसर्जन’भित्र समेटिएको कथा ‘माटोलाई प्रणाम’लाई देशप्रेमको दृष्टिकोणले अध्ययन गरेका छन् । किंवदन्तीमा आधारित प्रस्तुत कथालाई देशप्रेमको भावनाले ओतप्रोत मानिएको र देशप्रेमको भावना जागृत गराउने कथाको रुपमा रिजालले स्वीकार गरेका छन् । अर्को समालोचना हो – देवकुमारी थापाको प्रलयप्रतीक्षा कथामा जीवनको स्व–मूल्याङ्कन । यसमा कथाकार थापाको व्यक्तित्व र कथाकारिताको विस्तृत चर्चा गर्दै प्रस्तुत कथालाई चेतना जगाउने रचनाको रुपमा चित्रण गरेका छन् रिजालले ।

“विनयराज गौतमको ‘विदेशिएको छोरो’ कथामा अभिभावकीय दृष्टिकोण” शीर्षकमा बाराका साहित्यकार गौतमको ‘मृत्युको छहारीमा’ कथाकृतिभित्र सङ्कलित ‘विदेशिएको छोरो’ कथालाई अध्ययनको आधार बनाइएको छ । विदेशमा गइसकेको छोरो नफर्केपछि आमाबाबुले भोग्नुपरेको पीडालाई देखाइएको प्रस्तुत कथालाई रिजालले मातापिताले सन्तानलाई भुल्ने र आफ्नै नियतिको जिन्दगी बाँच्ने निर्णय गरेको सन्दर्भलाई केलाइएको छ । “हिर्दयनारायण चौधरीको ‘कहली ! सुनली !! बुझली !!!’ कृतिको सामाजिक सन्देश” शीर्षकमा थारु भाषाका साहित्यकार हिर्दयनारायण चौधरीको सम्मान गरेका छन् । थारु भाषाको पहिलो कथाकृतिको रुपमा रहेको प्रस्तुत कृतिको ऐतिहासिक महत्त्व भएको बताउँदै रिजालले कथाकार र कृतिको उच्च मूल्याङ्कन गरेका छन् । “माया ठकुरीको ‘आमा ! जानुहोस्’ कथाभित्र अभिव्यक्त वृद्ध मनोविज्ञान” शीर्षकमा शीर्षकानुकुल वण्र्य विषयको यथोचित मूल्याङ्कन गरिएको छ ।

“मुकुन्द आचार्यका हास्यरसका कृतिहरूमा व्यङ्ग्यचेत”मा समग्र नेपाली हास्यव्यङ्ग्य साहित्यका शीर्षस्थ व्यक्तित्व आचार्यको यथार्थपरक मूल्याङ्कन गरिएको छ । आचार्यलाई एक कुशल व्यङ्कारको रुपमा चिनाउँदै उनका कृतिहरुको अध्ययन गरिएको छ । “राममणि ढुङ्गेलका कथाहरूमा समसामयिक मूल्य–मान्यता”मा कथाकार ढुङ्गेलका प्रकाशित दुई कथाकृतिका आधारमा शीर्षकको आधारमा मूल्याङ्कन गर्दै समसामयिक जीवनका विषयवस्तुका कथाकारको रुपमा पनि चिनाइएको छ । यसै गरी “सदानन्द अगाभीका कथा कृतिहरूको अभिरेखाङ्कन”मा बहुविधाका साहित्यकार अभागीको परिचयका साथै तिनका प्रकाशित चार कथाकृतिको आधारमा पठनीय, उपयोगी र राम्रा रहेको निष्कर्ष निकालिएको छ । यसै गरी “बद्रीप्रसाद ढकालको ‘संस्कृतिमा के छ ?’ कृतिको वैचारिक परिप्रेक्ष्य” शीर्षकमा कृतिको परिचय, संस्कृतिको परिचय र विद्वानहरुको तर्कका साथै ढकालको कृतिको पनि सुन्दर विवेचन गरिएको छ । “वियोगी बुढाथोकीका मुक्तक कृतिहरूमा विचार दर्शन”मा २०४२ देखि विभिन्न विधाका साहित्यिक कृति प्रकाशन गरिरहेका बुढाथोकीका मुक्तक कृतिमा वैचारिकताको विस्तृत अध्ययन गरिएको छ । यसमा बुढाथोकीलाई समाज, देश र मानवताप्रति सचेत सर्जकको रुपमा चित्रण गरिएको छ । यसै गरी “वासुदेव अधिकारीको ‘बस्तीमा आगो’ कृतिभित्र जीवनबोध” शीर्षकमा कृतिकार र तिनका कृतिहरुको परिचयसँगै ‘बस्तीमा आगो’का कविताहरुको विवेचना गर्दै कोरोना काललाई पृथक कालको रुपमा चिनाइएको छ ।

काठमाडौँका कवि वसन्त रिजालको वि.स. २०७७ मा प्रकाशित ‘ब्यूझिएपछि’ कविताकृतिलाई समालोचक रिजालले मानवतावाद मान्यताले मूल्याङ्कन गरेका छन् – वसन्त रिजालको ब्यूँझिएपछि कृतिमा मानवतावाद शीर्षकमा । कृतिभित्रका कविताहरूको विश्लेषण गर्दै कृतिकार रिजाललाई मानवतावाद जीवन दर्शनका कविका रूपमा उभ्याएका छन् । ‘हरिदत्त पाण्डेयको सेतीकालीका छाल मातृभाषा कृतिको अध्ययन’ शीर्षकमा वैतडी जिल्लामा जन्मेका साहित्यकार हरिदत्त पाण्डेको एघारौँ कृतिको अध्ययन गरिएको छ । यो वैतडेली भाषामा लेखिएको कविताकृति भएको जानकारी गराइएको छ । वैतडेली भाषा साहित्यका यस कृतिले महत्त्वपूर्ण योगदान दिएको विश्लेषक रिजालको निष्कर्ष छ । संस्कृतिप्रति सम्वेदनशील बनी लेखिएको अनुसन्धानमूलक निबन्ध हो – ‘संस्कृतिको चिन्तन, विश्लेषण र वर्गीकरण’ । जति विस्तृत यसको विषयवस्तु रहेको, त्यत्ति विस्तार हुन नसक्दा यो कुनै गहन अनुसन्धानको अंश वा परिचय हो भन्ने अनुमान हुन्छ । यस अनुसन्धानले संस्कृतिको अन्तर्यतिर प्रवेश गर्दै सङ्क्षेपमा परिचय र नेपाली संस्कृतिको जगेर्नाप्रति चिन्ता अभिव्यक्त गरेको छ ।

लघुकथाका सर्जकसमेत रहेका समालोचक रिजालको अर्को समालोचना हो – ‘नेपाली लघुकथामा सामाजिक चिन्तनको विकासक्रम’ । लघुकथाको सैद्धान्तिक मान्यतासमेत उल्लेख गर्दै अन्वेषक रिजालले यस समालोचनामा केही छानिएका लघुकथाकारहरूका रचनाहरूलाई विषयवस्तुअनुरूप विश्लेषणको आधार मानिएको छ । नेपाली लघुकथामा सामाजिक चिन्तनको आरम्भ लघुकथा सिर्जनासँगै अगाडि बढिरहेको र वर्तमानमा लघुकथा सिर्जना तथा कृति प्रकाशनको बाढी नै आइसकेको सन्दर्भसम्म पनि सामाजिक चिन्तनका रचनाहरू तथा समाज सुधार र यसै विषयका विभिन्न पाटाहरूमा उद्देश्यका साथ सिर्जना भइरहेको उल्लेख गरिएको छ । साहित्यिक पत्रकारसमेत रहेको रिजालको रुचिको क्षेत्रसित सम्बन्धित अर्को समालोचना हो – ‘नेपाली साहित्यिक पत्रकारिता ः दृष्टि, दृष्टान्त र विश्लेषण’ । यस अनुसन्धानको शीर्षकमा ‘नेपाली’ शब्दले ‘नेपालको’ भन्ने अर्थ नदिएर ‘नेपाली भाषाको’ भन्ने अर्थ दिएको छ र यही अर्थले नेपालभित्रका सम्पूर्ण साहित्यिक पत्रकारिताबारे नभई नेपाली भाषाको करिब सम्पूर्ण साहित्यिक पत्रकारिताको सन्दर्भलाई समेट्न खोजेको छ । नेपाली साहित्यिक पत्रकारिता इतिहासको दृष्टिकोणले गर्विलो रहेको तर वर्तमान सन्तोषजनक नरहेको निष्कर्ष रहेको छ । ‘मधेस प्रदेशमा नेपाली बालसाहित्य लेखन परम्परा’ शीर्षकमा ‘मधेश’लाई ‘मधेस’ उल्लेख गरी यस प्रदेशमा बालसाहित्यको इतिहास र अवस्थालाई मूल्याङ्कन गरिएको छ । नेपाली बालसाहित्यको क्षेत्रमा मधेश प्रदेशको निकै ठुलो योगदान रहेको निष्कर्ष निकालिएको छ ।

‘लघुकथाका आधारहरूको विवेचना’ शीर्षकमा लघुकथाको सामान्य सैद्धान्तिक अवधारणापछि नेपाली लघुकथाको विकासक्रम र नेपाली लघुकथाका सैद्धान्तिक कृतिहरूमा देखिएका धारणाहरूको मन्थन गरिएको छ । लघुकथालाई वर्तमानमा आख्यानको एक शक्तिशाली उपविधाको रूपमा स्वीकार गर्दै यस आलेखमा लघुकथाले फरक घटनाको प्रतिनिधित्व गर्ने स्वीकार गरिएको छ । साहित्येतिहासको सङ्क्षित तर गहन मूल्याङ्कन गरिएको समालोचना हो – ‘तराई–मधेशमा नेपाली कथालेखन परम्पराको मूल्याङ्कन’ । यसमा सम्पूर्ण तराई–मधेशको नभई मुख्यतः वर्तमान राजनैतिक संरचनामा रहेको मधेश प्रदेशका कथाकारहरू र तिनका कथाकृतिबारे सङ्क्षेपमा प्रकाश पारिएको छ । समग्र नेपाली लघुकथाको क्षेत्रमा मधेश प्रदेशको गहन योगदान रहेको तथा समग्र नेपाली साहित्यमा नै पहिलोपटक यसै प्रदेशले लघुकथाको सैद्धान्तिक कृति दिएको यथार्थको पनि मूल्याङ्कन गरिएको छ । कृतिभित्र अन्तिममा समेटिएको समालोचना हो – ‘नेपाली निबन्धको परिचयात्मक विश्लेषण र मूल्याङ्कन’ । साहित्यको पाठ्यभेदभित्र पर्ने निबन्धको परिचय, परिभाषा, तत्त्वहरू, वर्गीकरण, निबन्धको व्यावहारिक आधार, निबन्धको स्वरूप आदिबारे यसमा सङ्क्षेपमा प्रकाश पारिएको छ । निबन्धका विशेषता तथा अन्तर्यहरूबारे समेत चर्चा गरिएको यसमा निबन्धलाई साहित्यको सबैभन्दा कान्छो विधाको रूपमा स्वीकार गरिएको छ ।

समग्र नेपाली समालोचनाको क्षेत्रमा एउटा महत्त्वपूर्ण उपलब्धि मानिने प्रस्तुत ‘सृष्टि विवेचन’ मधेश प्रदेशका अध्येताहरूका लागि चाहिँ खास बन्न पुगेको छ । कतै कतै प्रगतिशील र अधिकांशमा यथार्थवादी दृष्टिकोण अपनाइएको प्रस्तुत समालोचनात्मक कृतिको अध्ययन गर्दा समालोचक रिजाललाई एकातिर सैद्धान्तिक समाचोलक र अर्कोतिर प्रभाववादी समालोचक मान्न सकिन्छ । साहित्यिक सैद्धान्तिक आधार, अधिकांश साहित्यिक उपविधाका कृतिहरू तथा प्रदेशगत दृष्टिले मधेश प्रदेशको भौगोलिक इकाइलाई प्रधानता दिइएको यस कृतिले एकातिर समालोचक रिजालको अध्ययनको क्षेत्रलाई मुखरित गरेको छ भने अर्कोतिर साहित्यिक रुचिलाई पनि । विषयगत विविधता, शैलीमा करिब समरूपता तथा आयाममा मध्यमता यस कृतिका विशेषता हुन् । सकारात्मक चिन्तन यस समालोचनाको साझा र मूल सम्पत्ति हो । कृतिले कसैप्रति कतै अन्यायको भावना राखेको छैन, यस अर्थमा यस कृतिलाई सकारात्मक समालोचना सङ्ग्रह पनि मान्न सकिन्छ ।

अन्तमा, कृतिकार रिजालको साहित्यिक उन्नयनका साथै सुदीर्घ स्वस्थ सिर्जनशील जीवनको कामना गर्दछु ।

सञ्जय साह मित्र

पत्रकार/लेखक

प्रतिक्रिया