राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसको दोस्रो कार्यकालका पहिलो १०० दिन कार्यकारी आदेशहरूको वर्षा गर्दै बिताएका छन्। ती आदेशहरू सरकारको खर्च कटौती, अवैध आप्रवासन नियन्त्रण, र बाइडेन प्रशासनअन्तर्गत लागू गरिएका विविधता तथा समानता सम्बन्धी नीतिहरू हटाउन लक्षित छन्।
ट्रम्पले हस्ताक्षर गरेका १५० भन्दा बढी कार्यकारी आदेशहरू उनका पूर्ववर्तीहरूको तुलनामा धेरै छन्। तर ती आदेशहरूले अनेकौं मुद्दाहरू जन्माएका छन ।
संघीय अदालतहरूमा तीव्र गतिमा सुनुवाइ, अपिल र आपतकालीन आदेशहरू भइरहेका छन्, जसले संविधानद्वारा प्रत्याभूती गरिएका न्याय प्रक्रिया र अभिव्यक्ति स्वतन्त्रताजस्ता गम्भीर विषयहरू उठाइरहेका छन्।
ट्रम्पका आलोचकहरूले यो रणनीति विपक्षीहरूलाई अलमल्याउने र दबाबमा पार्ने हो भनेका छन्।
समर्थकहरू चाहिँ यो तरिकाले उनीलाई ठ्याक्कै र प्रभावकारी ढंगले लक्ष्य पुरा गर्न, ढिलो चल्ने कंग्रेसलाई छलेर अघि बढ्न मद्दत गर्छ भन्ने तर्क गर्छन्।
पहिलो १०० दिनमा ट्रम्प प्रशासनका कानुनी टोलीले देशभरका अदालतहरूमा कार्यकारी आदेशको पक्षमा पैरवी गर्दै आएका छन्।
त्यहीबीच, ट्रम्पले गएको हप्ता टाइम म्यागजिन( पत्रिका)मा दिएको अन्तर्वार्तामा भनेका छन्, “म कहिल्यै सर्वोच्च अदालतको अवज्ञा गर्नेछैन।” उनले थपे, “म सर्वोच्च अदालतप्रति गहिरो विश्वास र सम्मान राख्दछु।”
प्रतिक्रिया