क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले संघीय निर्वाचनमा ऐतिहासिक जितको घोषणा गर्दै अमेरिकालाई कडा चुनौती दिएका छन्। “क्यानडा कहिल्यै ट्रम्पका धम्कीहरूमा झुक्दैन,” कार्नीले मङ्गलबार बिहान विजयी भाषणमा घोषणा गरे।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएका कडा व्यापारिक कर र “५१औँ राज्य बनाउने धम्की”बीच कार्नीले जनताको एकतामा जोड दिँदै भने, “अमेरिकालाई हाम्रो भूमि, स्रोत, पानी र स्वाधीनता चाहिएको छ। तर त्यो कहिल्यै सम्भव हुने छैन।”
कार्नीले चुनावका क्रममा अमेरिकासँगको सम्बन्ध परिवर्तन भइसकेको बताएका थिए। उनले भने, “हामीले अमेरिकी विश्वासघातबाट पाठ सिक्नुपर्छ। अब हामी आफैँको हेरचाह आफैँ गर्नुपर्छ।”
यस निर्वाचनले उदारवादी दल (लिबरल पार्टी)लाई लगातार चौथो कार्यकाल दिलाएको छ, यद्यपि दल बहुमत नपाउने सम्भावना देखिएको छ। विपक्षी नेता पियरे पोइलिएभरले हार स्वीकार गर्दै कार्नीलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।
पूर्व केन्द्रीय बैंकर कार्नी (६०) पहिलोपटक राजनीतिक पदमा पुगेका हुन्।
ट्रम्पद्वारा क्यानडेली इस्पात , एलुमिनियम, साना सवारी साधन (कार )र औषधिमा २५% कर लगाउने निर्णयले क्यानडेली अर्थतन्त्र गम्भीर संकटमा परेको छ। कार्नीले जनतालाई चेतावनी दिएका छन्— “गाह्रो दिनहरू आउँदैछन्, तर हामी झुक्दैनौँ।”
प्रतिक्रिया