ट्रम्प प्रशासनद्वारा सयौँ विद्यार्थीका प्रवेशाज्ञा (भिसा) खारेज

इनेप्लिज २०८१ चैत ३० गते ११:२८ मा प्रकाशित

संयुक्त राज्य अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनद्वारा विदेशी विद्यार्थीहरूका प्रवेशाज्ञा (भिसा )खारेज गर्ने अभियान दक्षिणी राज्यहरूमा समेत फैलिएको छ। फ्लोरिडा, टेक्सस, न्यू मेक्सिको, टेनेसी, उत्तर क्यारोलिना र ह्युस्टनका प्रतिष्ठित विश्वविद्यालयहरूमा अध्ययनरत सयौँ विदेशी विद्यार्थीहरूको एफ-१ विद्यार्थी प्रवेशाज्ञा (भिसा) र आप्रवासन स्थिति (स्टाटस) खारेज ( गरिएको छ।

टेक्सस ए एण्ड एम विश्वविद्यालयका अनुसार २३ जना अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सेभिस (एसइभिआइएस)प्रणालीबाट विवरण (रेकर्ड )हटाइएको छ, जसले उनीहरूको कानुनी स्थिति समाप्त गर्छ। फ्लोरिडा अन्तर्राष्ट्रिय विश्वविद्यालयमा १८ विद्यार्थीहरूको प्रवेशाज्ञा (भिसा )खारेज गरिएको छ। यस्तै, न्यू मेक्सिको राज्य , मध्य टेनेसी, राइस युनिभर्सिटी(बिश्वबिद्यालय) र टेक्सस ए एन्ड एम लगायतका बिश्वबिद्यालयमा सयौँ विद्यार्थी प्रभावित भएका छन्।

यो कदम पछिल्लो समय इजरायलविरुद्ध भएको बिश्वबिद्यालय (क्याम्पस) प्रदर्शनहरूमा संलग्न भएको आरोपमा अगाडि सारिएको छ। मार्च ८ मा कोलम्बिया विश्वविद्यालयका एक पूर्व विद्यार्थी खालिललाई आइसिइ गुप्तचरहरूले पक्राउ गरेपछि विषय चर्किएको हो। उनीविरुद्ध कुनै पक्राउ पुर्जी बिना पक्राउ गरिएको उनकी श्रीमतीले बताएकी छन्।

ट्रम्प प्रशासनले खालिललाई हमाससँग जोडिएको बताउँदै निष्कासन गर्न खोजेको छ, यद्यपि उनका वकिलहरूले त्यसको कुनै प्रमाण नरहेको बताएका छन्। अमेरिकी विदेश सचिव मार्को रुबियोले यस्ता हरेक ‘उग्र’ विद्यार्थीहरु प्रवेशाज्ञा खोस्ने बताएका छन् । हालसालै एक अदालतले खालिललाई देश निकाला गर्न योग्य भएको फैसला सुनाएको छ ।

अहिले यो नीति स्वतन्त्र अभिव्यक्तिमाथि हमला र शान्तिपूर्ण राजनीतिक विरोधलाई दबाउने प्रयासको रूपमा लिइएको छ। अमेरिकाभरि विद्यार्थी प्रदर्शनहरू भइसकेका छन् । असहमति देखाउने विद्यार्थीहरूलाई देशनिकाला गर्ने नीति लोकतन्त्रविरोधी भन्दै आवाज उठाई रहेका छन् ।

प्रतिक्रिया