लस एञ्जलसमा १३ वर्षीय बालकको हत्या: भकुण्डो प्रशिक्षकविरुद्ध ज्यान मुद्दा, आजीवन कारागार वा मृत्युदण्डको सम्भावना

इनेप्लिज २०८१ चैत २५ गते १०:५१ मा प्रकाशित

अमेरिकाको क्यालिफोर्निया राज्यको लस एञ्जलसमा एक १३ वर्षीय बालकको हत्या अभियोगमा भकुण्डो (फुटबल )प्रशिक्षकविरुद्ध ज्यान मुद्दा दर्ता गरिएको छ। ओस्कार ओमार हेर्नान्डेजलाई हराएको एक साता पछि सडक छेउमा मृत फेला परेपछि, प्रशिक्षक मारियो एडगार्डो गार्सिया-अक्विनोलाई पक्राउ गरिएको हो।

ओस्कारलाई मार्च ३० मा हराएको खबर गरिएको थियो। प्रहरीले जनाएको अनुसार, उनी आफ्नो प्रशिक्षकसंग भेट गर्न गएका थिए। दुई दिनपछि उनको शव लस एञ्जलसको पश्चिममा रहेको अक्सनार्ड शहरको लियो करिल्लो समुन्द्रतट नजिकैको सडक छेउमा फेला परेको थियो ।

जिल्ला वकिल नाथन होचम्यानले गार्सिया-अक्विनोमाथि विशेष परिस्थितिमा हत्या र अर्को १६ वर्षीय किशोरमाथि अश्लील नियतसहित आक्रमणको आरोपमा छुट्टै अभियोग लगाइएको जानकारी दिए। उक्त दोस्रो आरोप फेब्रुअरी २२, २०२४ मा पाल्मडेलमा भएको घटनासँग सम्बन्धित छ।

“हेर्नान्डेज परिवारप्रति हाम्रो गहिरो समवेदना छ। अब हाम्रो जिम्मेवारी दोषीलाई कडा कारबाही गर्नु हो,” होचम्यानले भने। यदि दोषी ठहरिए, गार्सिया-अक्विनोलाई जन्मकैद वा मृत्युदण्ड सजाय हुनसक्ने एबिसीन्यूजले जनाएको छ ।

शेरिफ रोबर्ट लुनाका अनुसार अझ त्यहाँ अरू पीडित पनि हुनसक्छन्। उनले कोही पीडित भएमा नडराई अगाडि आउन अनुरोध गर्दै कानुनी र मनोवैज्ञानिक सहयोग दिन तयार रहेको जनाएका छन् ।

प्रतिक्रिया