न्यू जर्सीका डेमोक्र्याटिक सिनेटर कोरी बुकरले लगातार २३ घण्टासम्म अमेरिकी सिनेटको सभास्थल (फ्लोर)मा रहँदै राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको नीतिहरूविरुद्ध विरोध गरेका छन्।
सिएनएनका अनुसार सोमबार साँझ ७ बजे सुरु भएको उनको लामो भाषण मंगलबार साँझ ६ बजे पुग्दा पनि जारी रहेको थियो। यससँगै बुकर अमेरिकी सिनेट इतिहासमा दोस्रो सबैभन्दा लामो भाषण दिने सांसद बनेका छन्।
डेमोक्र्याटिक दलका नेताहरू राष्ट्रपति ट्रम्पको प्रशासनविरुद्ध कडा रणनीति अपनाउन मतदाताहरूको दबाबमा परिरहेका छन्। बुकरको यो विरोध ट्रम्पको दोस्रो कार्यकालमा डेमोक्र्याट सांसदहरूले उठाएको सबैभन्दा ठूला विरोधमध्ये एक भएको छ।
उनको भाषणले मंगलबार सिनेटको कुनै पनि कानूनी प्रक्रिया अघि बढ्न दिएन। तर यो कुनै विशेष कानूनी विधेयक रोक्न नभई प्रतीकात्मक विरोध थियो। ५५ वर्षीय बुकरले “देश संकटमा छ” भन्दै विभिन्न मुद्दामा ट्रम्प प्रशासनको आलोचना गरे। उनले इलन मस्कद्वारा संघीय सरकारको पुनर्संरचनाको प्रयासदेखि स्वास्थ्य सेवा कार्यक्रमहरूमा संभावित कटौतीसम्मको विषय उठाए।
“मैले सिनेटको सामान्य कामकाजलाई रोक्न यहाँ उभिएको छु,” बुकरले भने। “यी सामान्य समय होइनन्, र सिनेटले पनि यसलाई सामान्य रूपमा लिनु हुँदैन।”
बुकर लगातार उभिएर बोले, कुनै ब्रेक (बिश्राम)लिएनन्, र उनलाई समर्थन गर्न सिनेटर चक शुमर लगायत अन्य डेमोक्र्याट सांसदहरू पनि सहभागी भए।
प्रतिक्रिया