क्रेमलिनको ट्रम्पप्रतिको प्रतिक्रिया: पुटिनमाथिको ‘रिस’ सम्बन्धी टिप्पणी

इनेप्लिज २०८१ चैत १७ गते १८:१० मा प्रकाशित

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति “एकदमै रिसाएको” र “असन्तुष्ट” भएको टिप्पणीप्रति क्रेमलिनले प्रतिक्रिया दिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई “अस्थायी प्रशासन” अन्तर्गत राख्ने पुटिनको योजनाबारे आफ्नो असन्तोष व्यक्त गरेका थिए।

सोमबार, क्रेमलिनका प्रवक्ता डिमिट्री पेस्कोभले ट्रम्पको केही टिप्पणीहरू प्रत्यक्ष उद्धरण नभई परिभाषित (प्याराफ्रेज) गरिएका हुनसक्ने बताए। उनका अनुसार, रुस र अमेरिकाबीचको सम्बन्ध सुधार्न तथा युक्रेनमा शान्ति स्थापनाका लागि प्रयास जारी छ।

“विशेष गरी विगतको प्रशासनका कारण ठूलो क्षति पुगेको द्विपक्षीय सम्बन्ध सुधार्न हामी अमेरिकी पक्षसँग काम गरिरहेछौं,” पेस्कोभले पत्रकारहरूलाई बताए।

उनले थपे, “हामी युक्रेनी समस्या समाधान गर्ने केही अवधारणाहरू कार्यान्वयन गर्न पनि काम गरिरहेका छौं। हालसम्म विशेष विवरणहरू उपलब्ध छैनन्, जसबारे जानकारी दिन सकियोस।”

 दुई नेताबीच यसै हप्ता हुने भनिएको दूरवार्ता (फोन )को सम्भावनाबारे सोधिए पछि पेस्कोभले पुटिनको कार्यतालिकामा यस्तो कुनै योजना नभएको बताए। तर, उनले आवश्यक परे तुरुन्तै वार्ता गर्न सकिने संकेत दिए।

प्रतिक्रिया