प्रजातन्त्र सेनानी तथा वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको निधन भएको छ । भक्तपुरको सूर्यविनायक निवासी उहाँको ७७ वर्षको उमेरमा उपचारका क्रममा काठमाडौको अन्नपूर्ण न्यूरो हस्पिटलमा निधन भएको हो । उहाँलाई अस्ति साँझ मात्र मस्तिष्कघात भएर उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो ।
विद्यार्थी कालदेखि प्रजातान्त्रिक आन्दोलनमा लाग्नुभएका उहाँ प्रजातन्त्र पुनर्वहालीको निम्ति २०३१ मंसिर ५ गते राज्य बिप्लब मुद्वामा आजिवन कारावास सजायमा जेल पर्नु भएको थियो । नेपाली कांग्रेसका नेताहरु बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईसँग निकटस्थ रहेर काम गर्नुभएका उहाँले जेलबाट छुटेपछि पुनर्जागरण पत्रिका प्रकाशित गर्नुभएको थियो, जसको विमोचन बीपी कोइरालाले गर्नुभएको थियो ।
उहाँले २०४६ सालको आन्दोलनका क्रममा भूमिगत रुपमा पुनर्जागरण साप्ताहिकमार्फत आन्दोलन बुलेटिन निकालेर आन्दोलनका गतिबिधि सम्प्रेषण गर्नुभएको थियो । २०४६ को जनआन्दोलनपछि तत्कालीन अन्तरिम प्रधानमन्त्री कृष्प्रसाद भट्टराईको प्रेस सल्लाहकार बन्नुभएका उहाँ राष्ट्रिय समाचार समितिको अध्यक्ष, गोरखापत्र संस्थानको अध्यक्ष र प्रेस काउन्सिलको अध्यक्ष बन्नुभएको थियो ।
उहाँले २०४६ सालको जनाअन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको आत्मकथा “मेरो कथाका पानाहरु” पुनर्जागरणमा धारावाहिक रुपमा प्रकाशित गर्दै आउनुभएको थियो । त्यसलाई समेटेर तीन खण्ड पुस्तकका रुपमा प्रकाशित भइसकेका छन् भने अन्य खण्ड पनि प्रकाशित हुने क्रममा थिए । हाल भक्तपुरको कटुन्जेस्थित गणेशमान सिंह बाटिकाको अध्यक्ष रहनुभएका उहाँ जहिले पनि एन्टी करेन्ट धारमा हिड्ने गर्नुहुन्थ्यो । वहाँका एक श्रीमती, एक सुपुत्र र तीन छोरीहरु हुनुहुन्छ ।
दिवंगत प्रतातन्त्र सेनानी वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतलाई अन्तिम श्रद्धाञ्जलीकोलागि पशुपति आर्यघाटमा राखिएको थियो। नेपाली कांग्रेसका नेता तथा उपप्रधानमन्त्री प्रकाधमानसिंह श्रेष्ठ, महामन्त्री गगन थापा, उपसभापति धनराज गुरुङ, सांसदहरु रामहरि खतिवडा, दुर्लभ थापा लगायत पार्टीका थुप्रै नेता कार्यकर्ताहरुले अन्तिम बिदाई गरेका थिए। वहाँ प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न भक्तपुरका सर्बसाधरण जनता, नेपाली कांग्रेसका स्थानीय नेता कर्याकर्ता र आफन्तहरुको निकै ठूलो भिड लागेको थियो।
मदन बस्नेत
प्रतिक्रिया