उस्ताद गुलाम अलीका तीन पुस्ताको स्वरमा पहिलो ऐतिहासिक गीत सार्वजनिक

इनेप्लिज २०८१ चैत ७ गते २१:४४ मा प्रकाशित

गजलका महारथी पाकिस्तानी गायक उस्ताद गुलाम अलीका साथ छोरा आमिर गुलाम अली र नाती नाजिर गुलाम अलीको स्वरमा ‘गजल उनकै गीत उनकै’को सांगीतिक भिडियो नेपालमा हालै सार्वजनिक भएको छ । गजलमा मनोज खड्काको शब्द र मिलन मोक्तानको संगीत रहेको छ ।

गजलको भिडियोमा केही दिन अघि ललितपुरमा आयोजित ‘गुलाम अली थ्री जेनेरेसन अन वन स्टेज’ कार्यक्रमका दृश्य समेटिएका छन् । भिडियोमा गुलाम अली नेपाल आउँदा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको स्वागतदेखि उनको कार्यक्रमसम्मको दृश्यलाई स्थान दिइएको छ । भिडियोमा गजल तयार पार्दाको दृश्यलाई पनि राखिएको छ । गुलाम अलीको स्टूडियोमा रिकोर्ड गरिएको गीतमा किरण कँडेलको एरेन्ज छ । यसमा चर्चित संगीतकार दीप तुलाधरले मुख्य सल्लाहकारको भूमिका निभाएका छन् ।

गीतकार मनोज खड्काले उस्ताद गुलाम अली खानको तीन पुस्ताले रेकर्ड गरेको हाल सम्मकै पहिलो ऐतिहासिक गजल रहेको बताए । गुलाम अलीका ‘गाजलु ती ठुला ठुला ऑखा’, ’लोलाएका ती ठुला’, ‘किन किन तिम्रो तस्वीर’ जस्ता केहि लोकप्रिय गीतहरुले नेपाली सांगीतिक क्षेत्रमा राम्रो योगदान दिएका छन् ।

भिडियो मनोज खड्का अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । हाल भर्जीनिया निवासी गीतकार खड्काका केहि कर्णप्रिय गीत बजारमा आईसकेका छन । रामकृष्ण ढकालको स्वरमा ‘गाउँघरले सोध्यो परदेशीलाई’, प्रमोद खरेल र त्रिशला गुरुंगको स्वरमा ‘तिमी जे बन उदाहरण बन’ र मेनुका पौडेलको स्वरमा रहेको ‘तेजस्वी अप्सरा’ लगायत गीतले नेपाली श्रोतादर्शकको उल्लेख्य माया पाएका छन्।

प्रतिक्रिया