विश्वकै व्यस्त विमानस्थलमध्ये एक लन्डनको हीथ्रो विमानस्थल शुक्रवार बिहान विद्युत् आपूर्ति ठप्प भएपछि बन्द भएको छ । जसका कारण हजारौं यात्रुहरू समस्यामा परेका छन्। विमानस्थल नजिकैको सबस्टेशन( बिद्युत आपूर्ति केन्द्र) मा लागेको आगलागीले विद्युत् अवरोध निम्त्याएको हो। यसले विश्वभर उडान र यात्रा व्यवस्थापनमा ठूलो असर पारेको छ।
उक्त घटनाका कारण १२० भन्दा बढी उडानहरू आकस्मिक रूपमा अन्य विमानस्थलमा मोडिएका छन् भने १,३०० भन्दा बढी उडान र १,४५,००० यात्रुहरू प्रभावित हुने अनुमान गरिएको छ। हीथ्रोले यात्रुहरूलाई “विमानस्थल पुनः सञ्चालनमा नआउँदासम्म कुनै पनि हालतमा विमानस्थल नजान” आग्रह गरेको छ।
घटनास्थलमा आगो नियन्त्रण गर्न १० अग्नि यन्त्र तथा ७० अग्नि नियन्त्रक खटिएका छन्। १५० भन्दा बढी मानिसलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ भने १६,००० घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ।
विद्युत् अवरोधका कारण उडानहरू रद्द हुने र यात्रुहरूलाई लामो समयसम्म अन्योलमा बस्नुपर्ने सम्भावना रहेको छ। यस समस्याले स्थानीयवासीहरूलाई समेत असर पारिरहेको छ।
यस आगलागीको कारण अझै पुष्टि नभए पनि विद्युत् प्रणालीमा भएको गम्भीर क्षतिको छानबिन भइरहेको छ। हीथ्रोका अधिकारीहरूले यात्रुहरूलाई सम्बन्धित बिमानसेवासँग सम्पर्क गरी उडानको अद्यावधिक जानकारी लिन सुझाव दिएका छन्।
प्रतिक्रिया