सार्वजनिक जग्गा हडपेको आरोपपछि कांग्रेस नेता केसीले पत्रकार सम्मेलन गरेर भने- कानुनी उपचार खोज्छु !

इनेप्लिज २०८१ चैत १ गते १४:२२ मा प्रकाशित

नेपाली कांग्रेसका नेता डा. केदारनरसिंह केसीले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले सार्वजनिक जग्गासँग नाम जोडेर आफ्नो चरित्रहत्या गर्न खोजेको आरोप लगाएका छन् ।

उनले आज पत्रकार सम्मेलन गरी गत फागुन २८ मा प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदद्वय शिशिर खनाल र सुमना श्रेष्ठले दिएको अभिव्यक्ति राजनीतिक पूर्वाग्रहका साथ आएको बताए ।

‘साविक मनमैजु गाविस वडा नं ९ हाल तारकेश्वर नगरपालिका वडा नं १० लोकतान्त्रिक चोकमा रहेको कित्ता नं ६१ र ६२ मेरो तथा मेरो परिवारका नाममा र कित्ता नं ६३ सार्वजनिक जग्गा हो, मलाई सरकारी जग्गा एक कित्ता पनि चाँहिदैन, मेरो चरित्रहत्या गर्ने मनसायका साथ संसदमा आवाज उठाउँदा म दुःखीत भएको छु’, डा. केसीले भने ।

उनले संसद्को अभिव्यक्तिले आफ्नो राजनीतिक चरित्रहत्या भएको भन्दै कानुनी उपचारमा जानेसमेत बताए । डा. केसीले आधार र प्रमाणबिना कपोलकल्पित र भ्रमपूर्ण प्रश्न संसदमा उठ्नु गलत भएको समेत बताए । पत्रकार सम्मेलनमा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले स्थानीय जनप्रतिनिधिसँग समन्वय नगरी व्यक्तिगत चरित्रहत्या र मानहानी हुने हिसाबले संसदमा कुरा उठाउनु गलत भएको बताए ।

नगरप्रमुख महर्जनले सार्वजनिक जग्गा संरक्षणका लागि तारकेश्वर नगरपालिका लागिरहेको भन्दै राजनीतिक पूर्वाग्रह राखेर आम नागरिकलाई भ्रम फैलाउने काम जनप्रतिनिधीबाटै भइरहेकोमा चिन्ता व्यक्त गरे । ‘म संघीय सांसद र प्रदेश सांसदहरूलाई भन्न चाहन्छु, आउनुहोस् सार्वजनिक जग्गा कहाँ कहाँ मिचिएको छ बसेर नापजाँच गरौँ’, नगरप्रमुख महर्जनले भने । भूगोल नभएको कुरालाई लिएर संसदमा प्रस्तुत हुनु गलत भएको उनको भनाइ थियो ।

बेद प्रसाद घिमिरे

प्रतिक्रिया