सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल-शराले देशमा जारी हिंसात्मक झडपहरू रोक्न आह्वान गरेका छन्। विशेष गरी लटाकिया र टार्टसमा भएका भिडन्तमा सयौँ सर्वसाधारणको मृत्यु भएपछि उनले राष्ट्रिय एकता र आन्तरिक शान्ति कायम गर्नुपर्ने’बताएका छन्।
अलजजिराका अनुसार राष्ट्रपति बशर अल-असदको अलावाइट समुदाय र सरकारी सुरक्षाकर्मीहरूबीच भीषण लडाइँ भैरहेको छ। विगत चार दिनमा मात्रै ७४५ अलावाइट नागरिक र १२५ सरकारी सुरक्षाकर्मीहरू मारिएका छन्। साथै, १४८ असद समर्थक लडाकुहरू मारिएकोबेलायत स्थित युद्ध अनुगमन संस्था सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको छ।
झडपको सुरुवात कसरी भयो?
यो हिंसा गत बिहीबार असद समर्थक लडाकु समूहले सरकारी सुरक्षा फौजमाथि आक्रमण गरेपछि सुरु भएको हो । जवाफमा, हजारौँ सरकार समर्थक लडाकुहरू लटाकिया र टार्टसमा सुरक्षाकर्मीहरूको समर्थनमा पुगेका थिए।
सिरियाली सरकारी समाचार संस्था साना अर्थात् एसएएनएका अनुसार टार्टसको बेतान्निता गाउँमा युद्ध अपराधीहरू र असद समर्थित सशस्त्र समूहहरू शरण लिइरहेकोछ।
राष्ट्रपति अल-शराअको प्रतिक्रिया :
डमास्कसको एक मस्जिदबाट श्रब्यदृश्य (भिडियो )सन्देश जारी गर्दै राष्ट्रपति अल-शराले भने, “सिरिया टिक्नसक्ने राष्ट्र हो, र अहिले भइरहेका घटना अपेक्षित चुनौतीहरू भित्रकै हुन्।” उनले नागरिकमाथि आक्रमण गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी पनि दिए।
यद्यपि, यो हिंसाले सिरियामा अझै गहिरो जातीय र धार्मिक विभाजन रहेको देखाएको छ। अल-शराको सरकारमा अलावाइट, कुर्द, तुर्कमान, अरब, सुन्नी, शिया, मुस्लिम र इसाई प्रतिनिधिहरू सामेल गरिएका छन् ।
तर, असद समर्थक समूहहरू अझै पनि सशस्त्र प्रतिरोध गरिरहेको अल जजिराले जनाएको छ ।
दूरसंचारमा हमला, अन्तर्जाल (इन्टरनेट )बन्द :
यसैबीच, आइतबार डेरा र डमास्कसलाई जोड्ने प्रमुख दूरसंचार तारमा आक्रमण भएपछि अन्तर्जाल (इन्टरनेट) सेवा अवरुद्ध भएको छ। सिरियाली दूरसञ्चार शाखाका निर्देशक अहमद अल-हरिरीका अनुसार बारम्बारको हमलाले दूरसञ्चार पूर्वाधार तहसनहस भएको छ।
स्थिति अझै तनावपूर्ण :
अल-जजीराका संवाददाताका अनुसार हिंसा केही कम भए पनि मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। उक्त “क्षेत्रका अधिकारीहरूले अझै पनि शवहरू फेला पारिरहेका छन्, जसले मृतकको सङ्ख्या अझै बढ्न सक्छ।”
सिरियाली जनताको लागि शान्ति फर्किने कि अझै हिंसात्मक राजनीतिक संघर्ष बढ्ने भन्ने प्रश्न अनुत्तरित नै रहेको छ।
प्रतिक्रिया