पूर्वराजा ज्ञानेन्द्र शाह आज काठमाडौं आइपुग्ने बिमानस्थलमा भव्य स्वागतको तयारी 

इनेप्लिज २०८१ फागुन २५ गते २:५१ मा प्रकाशित

झण्डै २ महिना लामो गण्डकी प्रदेशको भ्रमणपछि पूर्वराजा ज्ञानेन्द्र शाह आज काठमाडौं आइपुग्ने कार्यक्रम छ।

आज दिउँसो राष्ट्रिय प्रजातन्त्र पार्टी र राजावादीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि महाराजगञ्जस्थित निर्मल निवाससम्म स्वागतको तयारी छ। विमानस्थलमा भव्य स्वागतपछि पूर्वराजा ज्ञानेन्द्र सवार गाडीसँगै कार्यकर्ताले मोटरसाइक यत्राको तयारी रहेको छ।

पूर्वघोषित कार्यक्रमअनुसार आज राप्रपाले शक्ति प्रदर्शन गर्ने कार्यक्रम रहेको भएता पनि बुधबार बसेको पार्टीको पदाधिकारी बैठकले उक्त कार्यक्रम स्थगित गरी पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्ने कार्यक्रम राखेको हो। राप्रपाले आफ्ना नेता तथा कार्यकर्ताहरूलाई विमानस्थलदेखि निर्मल निवाससम्म गौशाला, चावहिल, महाराजगञ्ज जुन स्थानमा पायक पर्छ, त्यहाँ नेपालको झण्डासहित अनिवार्य रूपमा भेला भएर पूर्वराजालाई स्वागत गर्न उर्दी जारी गरेको छ।

पूर्वराजालाई स्वागत गर्न राप्रपासँगै दुर्गा प्रसाईंको अभियान र विश्वहिन्दु महासंघ, शिवसेना नेपाललगायत आधा दर्जनबढी संघसंस्थाका टोली परिचालन हुनेछन्। राप्रपालगायत सडक आन्दोलन शुरू गरेका अन्य समूहले आज हजाराँै जनता सडकमा उतार्ने जनाएका छन्।

विमानस्थलभित्र राप्रपाका नेताहरूले स्वागत गरेर बाहिरिए पछि विभिन्न समूहले स्वागत गर्ने कार्यक्रम तय भएको छ।

यसैबीच स्वागत ¥यालीका क्रममा हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले राजधानीको सुरक्षा व्यवस्था कडा पारेको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सबै सुरक्षा प्रबन्ध मिलाइएको जानकारी गराउनु भयको छ । स्रोतका अनुसार आज त्रिभुवन विमानस्थल प्रवेशमा कडाइ गरिने भएको छ। विमानस्थलमा कडाइ भए विभानस्थल प्रवेशद्वारमै स्वागत गर्ने राप्रपाको तयारी छ।

पूर्वराजा ज्ञानेन्द्र समिट एयरको विमानबाट दिउँसो साढे २ बजे काठमाडौं आउने कार्यक्रम छ। पूर्वराजासँग उहाँका निजी सचिव राजिब शाही र निजी सुरक्षाकर्मी हुनेछन्। छोरा पारस अस्वस्थ भएको कारण पूर्वराजाबाहेक परिवारका बाँकी सदस्यहरू निर्मल निवासमै छन्। केही समयदेखि पूर्वराजपरिवार समिट एयरमा यात्रा गर्न थालेका छन्।

पूर्वराजा ज्ञानेन्द्रले फागुन ७ गते जारी गरेको सन्देशमा अब राजाले हेरेर नबस्ने र जनताको साथ पाए आफू फेरि सक्रिय हुने उल्लेख गर्नुभएको थियो। सोही भनाइलाई आधार मानेर अन्य दलका नेताले पूर्वराजाप्रति कटाक्ष गरेका थिए। प्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्रलाई निर्वाचन जितेर सत्ता सञ्चालन गर्न चेतावनी दिएका थिए। तीनै ठूला दलका अध्यक्षले एउटै स्वरमा भनेका थिए,– ‘ढलेको राजतन्त्र कहिल्यै आउन सक्दैन।’

उक्त सन्देशपछि हौसिएको राप्रपाले हिन्दुराज्य र राजतन्त्रको पक्षमा आह्वान गर्दै आन्दोलनको कार्यक्रम यथावत् राख्न निर्देशन दिएको छ। राप्रपाले यसअघि देशका विभिन्न शहरमा शक्ति प्रदर्शन सम्पन्न गरिसकेकोे छ । यसैबीच राजावादीले देशभरबाट जुलुस निकालेका छन्। राप्रपाले हिजो शनिबार भरतपुरमा प्रदर्शन गरेको थियो । पछिल्लो एक सातायता जनकपुर, झापा, हेटौंडालगायत जिल्लामा राप्रपाले पूर्वराजाको समर्थनमा प्रदर्शन गरिसकेको छ।

चार महिना अघिदेखि देशव्यापी भ्रमणमा रहनुभएको पूर्वराजा ज्ञानेन्द्रले मुलुकको दुई दर्जन बढी जिल्लाको धार्मिक भ्रमण गर्नुभएको थियो। दुई महिनाअघि दाङ, नेपालगञ्ज, बर्दिया, लुम्बिनीको बुटवललगायत जिल्लाको भ्रमण गर्ने क्रममा उहाँले स्थानीयसँग भेटगरी राजतन्त्रको पक्षमा लाग्न आह्वान गर्नुभएको थियो।


कास्की बसार्इंको क्रममा पूर्वराजाले बागलुङको कालिका मन्दिर र म्याग्दीको गलेश्वर मन्दिरमा पूजापाठ र दर्शन गर्नुभएको थियो भने पोखराकै एक स्थानमा आफ्ना दाजु स्वर्गीय राजा वीरेन्द्रको शालिक अनावरण गर्नुभएको थियो।

सक्रिय राजनीतिमा आउने तयारीमा लागेका पूर्वराजा ज्ञानेन्द्र पुस १७ गते पूर्वरानी कोमल, छोरी प्रेरणा, पूजा र दिलासासहित भारतको उत्तर प्रदेशको राजधानी लखनउ जानुभएको हो। उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यको निमन्त्रणा मान्न पूर्वराजा ज्ञानेन्द्रपरिवार भारत जानुभएको हो।

उहाँले भारतबाट फर्कनासाथ पुस २८ गतेबाट लुम्बिनी प्रदेश भ्रमण शुरू गर्नुभएको थियो। त्यसलगत्तै माघ २ गतेबाट गण्डकी प्रदेश भ्रमणमा निस्कनुभएको थियो। परिवारसहित धार्मिक भ्रमणमा निस्कनुभएका पूर्वराजा मध्यपश्चिम, सुदूरपश्चिम र लुम्बिनी प्रदेशको भ्रमणमा व्यस्त रहनुभएको थियो।

बेद प्रसाद घिमिरे

प्रतिक्रिया