अमेरिकाको फ्लोरिडा राज्यमा १६ वर्षीया किशोरीलाई अपहरण गरी हत्या गरिएको घटना सार्वजनिक भएको छ। प्रहरीले जनाएको अनुसार किशोरीलाई सामाजिक सञ्जालमार्फत भेटेको जोडीले अपहरण गरेर हत्या गरेको हो।
मिरान्डा कोर्सेट नामक किशोरी गत फेब्रुअरी २४ मा हराइन् । उनलाई ३५ वर्षीय स्टेभन ग्रेस र उनकी ३७ वर्षीया साथी मिशेल ब्रान्डेसले अपहरण गरेको आरोप लागेको छ। ग्रेसलाई प्रहरीले पक्राउ गरिसकेको छ भने ब्रान्डेसले शनिबार बिहान आत्मसमर्पण गरेकी थिइन्।
प्रहरीका अनुसार फेब्रुअरी १४ मा मिरान्डाले सामाजिक सञ्जालमार्फत ग्रेसलाई भेटेकी थिइन्। पहिलो पटक भेटपछि उनी घर फर्किएकी थिइन् । तर भोलिपल्ट फेरी उनको घरमा गइन् र त्यहाँ ग्रेस र ब्रान्डेससँग बस्न थालिन्।
प्रहरी अनुसन्धान अनुसार फेब्रुअरी २० देखि २४ को बीचमा कोर्सेटको हत्या गरिएको थियो। त्यसपछि ग्रेसले उनको शव सानो सवारी साधन (कार)मा राखेर लार्गो भन्ने स्थानमा लगेका थिए। त्यहाँ उनको शवलाई विच्छेदन गरेर हिल्सबरो काउन्टीस्थित फोहोर फाल्ने टोकरी (डम्पस्टर)मा फालेको प्रहरीको दाबी गरेको एबिसीन्यूजले जनाएको छ ।
प्रहरीले फोहोर फाल्ने भाडो (डम्पस्टर) पत्ता लगाएको छ र शव खोज्ने कार्य जारी छ। घटनामा संलग्न ग्रेस पहिल्यै कारागारमा थिए, उनलाई मार्च ५ मा हार्पुन(माछा मार्ने भाला) देखाएर धम्क्याउने र लागू पदार्थ राखेको आरोपमा पक्राउ गरिएको थियो।
अनुसन्धान अझै जारी रहेको र थप अभियोगहरू लाग्ने सम्भावना रहेको प्रहरीको भनाई छ।
प्रतिक्रिया