अमेरिकाको मिजोरी राज्यले चीनविरुद्ध २४ बिलियन डलरको मुद्दा जित्यो , रकम तिर्न न्यायाधीशद्वारा चीनलाई आदेश

इनेप्लिज २०८१ फागुन २४ गते १०:३७ मा प्रकाशित

अमेरिकी राज्य मिजोरीले चीनविरुद्ध दायर गरेको २४ बिलियन डलर (अर्ब )डलरको मुद्दा जितेको छ। संघीय न्यायाधीश स्टेफन लिम्बोले शुक्रबार सुनाएको फैसलामा चीनको कम्युनिस्ट पार्टी (दल)र सम्बद्ध निकायहरूलाई उक्त रकम तिर्न आदेश दिइएको छ।

मिजोरीका महान्यायाधीवक्ता एन्ड्रयू बेलीले यसलाई ऐतिहासिक जित भन्दै चीनलाई यसको मूल्य चुकाउनुपर्ने बताएका छन्। उनले चीनको स्वामित्वमा रहेका सम्पत्ति विशेष गरी फार्मल्यान्ड जफत गरेर रकम असुल गर्ने चेतावनी दिएका छन्।

यो मुद्दा २०२० मा तत्कालीन महान्यायाधीवक्ता एरिक श्मिटले दायर गरेका थिए। मिजोरीले चीनमाथि कोभिड-१९ महामारीको समयमा स्वास्थ्य सामग्री (पिपिइ ) संकलन गरेर विश्वलाई हानि पुर्याएको आरोप लगाएको थियो। चीनले मुद्दामा अदालतमा उपस्थिति जनाएन, तर मिजोरीका अदालतले पर्याप्त प्रमाणहरूका आधारमा निर्णय सुनाएको हो।

यसअघि तल्लो अदालतले मुद्दा खारेज गरेको थियो, तर जनवरी २०२५ मा अपिल अदालतले मिजोरीको पक्षमा फैसला सुनाउँदै आपूर्तिको हेरफेर सम्बन्धी आरोपमात्र अघि बढाउन आदेश दिएको थियो।

अब मिजोरीले यो रकम असुल गर्न सक्नेछ वा चीनले अमेरिकी अदालतको आदेश अस्वीकार गर्नेछ भन्ने विषयमा कानूनी तथा कूटनीतिक चुनौतीहरू देखिन सक्ने छ ।

२४ बिलियनको निर्णय राज्यको इतिहासमा सबैभन्दा ठूलो हो । र यसले कानूनी र भू-राजनीतिक मुद्दाहरूमा ठूलो ध्यान आकर्षित गरेको छ। बेलीले यो विजयलाई महामारीको विश्वव्यापी प्रभावका लागि चीनलाई जवाफदेही बनाउनको प्रयासको हिस्सा भनेर जोड दिएका छन् ।

प्रतिक्रिया