ट्रम्पले आफ्नो सम्बोधनमा १२ पटक पूर्व राष्ट्रपति जो बाइडेनको नाम लिदै बाइडेनले गर्दा मुद्रास्फीति, उच्च मूल्य, र युक्रेन युद्धजस्ता समस्याहरू भएको दोषारोपण गरे
राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा कंग्रेससमक्ष गरिएको उनको पहिलो सम्बोधन आधुनिक इतिहासकै सबैभन्दा लामो सम्बोधन बन्यो । उनले १ घण्टा ४० मिनेटको कंग्रेस समक्ष सम्बोधन गरे ।
उनको पहिलो सम्बोधनमा दुईवटा मुख्य उद्देश्य बोकेको थियो । पहिलो, उनको प्रारम्भिक ४३ दिनको महत्वपूर्ण कदमहरूको विजय उत्सव मनाउने, र दोस्रो, ती निर्णयहरूको औचित्य अमेरिकी जनतालाई बुझाउने।
ट्रम्पले व्यापार नीतिहरू, सरकारी खर्च कटौती, र विदेश नीतिमा ठूला परिवर्तनहरू गरेका छन् । डेमोक्र्याटहरूलाई आक्रोशित बनाएको छ ।
ट्रम्पले आफ्नो सम्बोधनको सुरुवातमै चुनावी जितको प्रशंसा गरे । डेमोक्र्याटहरूलाई उनले अवरोधकर्ता भने ।
उनको सम्बोधन अत्यधिक लामो हुन् गयो भने उनले परम्परागत रूपमा राष्ट्रलाई एकजुट गर्ने सन्देश दिनुको सट्टा ट्रम्पले आफ्ना विपक्षीहरूमाथि प्रहार गर्न प्राथमिकता दिए।
सम्बोधनका क्रममा डेमोक्र्याटिक सांसद अल ग्रीनले बारम्बार अवरोध गरे, जसका कारण सभामुख माइक जोन्सनले सुरक्षा अधिकारीहरूलाई उनलाई बाहिर निकाल्न निर्देशन दिए। अन्य डेमोक्र्याट सांसदहरूले पनि विरोधस्वरूप प्रचार सामाग्री प्रदर्शन गरे र सभाकक्ष छोडे।
चुनावी शैलीमा कंग्रेसमा सम्बोधन :
ट्रम्पको सम्बोधन चुनावी अभियानको शैली देखियो । उनले “वोकनेस” (Wokeness) हटाउने, विविधता कार्यक्रमहरू र ट्रान्सजेन्डर अधिकारलाई खारेज गर्ने प्रतिबद्धता व्यक्त गरे।
“हामीले हाम्रो विद्यालय, सेना, र समाजबाट वोकनेस (Wokeness)हटाइसकेका छौं। यो अब इतिहास बनिसकेको छ,” उनले भने। ट्रम्पले महिलाका लागि सुरक्षित खेलकुदको वकालत गरे ।
ट्रम्पले इलन मस्कको प्रशंसा गरे । ट्रम्पले मेक्सिको, क्यानडा, र चीनमा लगाइएको आयात कर बचाउ गर्दै भने जसरी उनीहरूले हामीलाई कर लगाउँछन्, हामी पनि उनीहरूलाई त्यसरी नै कर लगाउँछौं। यसबाट हामीले ट्रिलियन डलर आम्दानी गर्नेछौं र कहिल्यै नदेखिएको रोजगारी सिर्जना गर्नेछौं ,उनले सम्बोधनको क्रममा भने ।
युक्रेन युद्ध र अमेरिकी भूमिका : ट्रम्पले युक्रेन युद्ध अन्त्य गर्ने आफ्नो प्रयासबारे पनि बोले। तर, उनले युक्रेनलाई दिइएको अमेरिकी आर्थिक सहायता धेरै भएको भन्दै असन्तोष व्यक्त गरे।
ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबाट प्राप्त चिठीको प्रशंसा गरे, जसमा उनले पछिल्लो विवादप्रति खेद व्यक्त गरेका थिए। तर, ट्रम्पले जेलेन्स्कीलाई पुनः कुराकानी गर्ने कुनै निश्चित योजना बताएनन्।
बाइडेनलाई दोष :
ट्रम्पले आफ्नो सम्बोधनमा १२ पटक पूर्व राष्ट्रपति जो बाइडेनको नाम लिए। उनले मुद्रास्फीति, उच्च मूल्य, र युक्रेन युद्धजस्ता समस्याहरूको लागि बाइडेनलाई दोष दिए।
थुप्रै डेमोक्र्याटहरूले ट्रम्पको जवाफ दिएका छन् ।आक्रोश व्यक्त गरेका छन् । ट्रम्पको सम्बोधन उनको सरकारको उपलब्धिहरूको रक्षा गर्दै विपक्षीहरूमाथि आक्रमण गरे । यो भाषण एकताभन्दा बढी विभाजनमुखी रह्यो ।
“wokeness” भन्ने शब्दको अर्थ सामाजिक र जातीय न्यायजस्ता मुद्दाहरूमा सचेत वा सचेतनाको अवस्थालाई जनाउने गर्छ।
“Woke” को अर्थ मूलतः समाजमा भइरहेका असमानता, अन्याय, विभेद, वा उत्पीडनबारे सचेत रहनु वा त्यसका विरुद्ध आवाज उठाउनु भन्ने बुझिन्छ। विशेष गरी, यो शब्द जातीय, सामाजिक, र लैंगिक न्यायका सन्दर्भमा धेरै प्रयोग हुन्छ।
तर, हालका वर्षहरूमा “wokeness” शब्दलाई विभिन्न राजनीतिक तथा सांस्कृतिक सन्दर्भमा फरक ढंगले प्रयोग गरिएको छ, जसले यसलाई विवादास्पद पनि बनाएको छ।
प्रतिक्रिया