चार जना बन्धकहरूको शव हमासबाट रेड क्रसलाई हस्तान्तरण , दोस्रो चरणको बन्धक रिहा शनिबारदेखि सुरु हुने

इनेप्लिज २०८१ फागुन १४ गते २३:५७ मा प्रकाशित

इजरायल र हमासले बन्धक साटासाट प्रक्रियालाई अगाडि बढाएका छन् । चार जना मृत बन्धकहरूको शव हमासले रेड क्रसलाई हस्तान्तरण गरेको इजरायली सुरक्षा अधिकारीले पुष्टि गरेका छन्।

यी बन्धकहरूको शव इजरायली रक्षा बललाई हस्तान्तरण गरिने अपेक्षा गरिएको छ।

हमासले पहिले नै यी मृत बन्धकहरूमा त्जाची इदान, इत्जिक एल्गाराट, ओहाद यहालोमी, र श्लोमो मन्त्जुर हुन् भनेर पहिचान गरिसकेको थियो।

हमासले बुधबार अबेर राति (स्थानीय समयअनुसार) शवहरू फिर्ता गर्ने अपेक्षा गरिएको थियो, जसको सट्टामा प्यालेसटानी कैदीहरूलाई रिहा गरिने थियो । तर बिहीबार बिहान (स्थानीय समयअनुसार) रेड क्रसको सवारी साधनहरूको एउटा समूह इजरायलको ओफर कारागार निस्किएको एबिसीन्यूजले जनाएको छ ।

बन्धक-कैदीहरु साटासाट प्रक्रिया इजरायल र हमासबीच जनवरीमा भएको युद्धविराम सम्झौताकाे पहिलो चरणको भाग हो। गत हप्ता, हमासले फिर्ता गर्ने भनिएको एक मृत बन्धकको गलत शव पठाएपछि इजरायलले सहमत भएका ६०० भन्दा बढी प्यालेसटानी कैदीहरूलाई रिहा गर्न अस्वीकार गर्यो। पछि सही शव इजरायललाई फिर्ता गरिएको थियो।

युद्धविरामको दोस्रो चरण शनिबारदेखि लागु हुने तालिका रहेको छ । “दोस्रो चरणको लागि कुनै प्रस्ताव हामीलाई दिइएको छैन, यद्यपि हामी यसका लागि तयार छौं र सम्झौताको सम्पूर्ण चरण पूरा गर्न चाहन्छौं,” हमासले भनेको छ।

प्रतिक्रिया