अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिसी महानगर क्षेत्रको मेरिल्याण्डमा अर्जेन्टिनाका राष्ट्रपति हाविएर मिलेसँग भेटघाट गरेका छन् ।
मेरिल्याण्ड राज्यमा गत शनिबार आयोजित कन्जर्भेटिभ पोलिटिकल एक्सन कन्फरेन्स अर्थात् रुढीवादी राजनैतिक कार्य सम्मेलनको क्रममा अर्जेन्टिनाका राष्ट्रपति मिलेसँग भेटघाट गरेका हुन् ।
उक्त भेटघाट अनौपचारिक बैठक भएको ह्वाइट हाउसले पुष्टि गरेको छ । भेटघाटको क्रममा, ट्रम्पले मिलेलाई आगामी महिनाहरूमा ह्वाइट हाउस भ्रमण गर्न आमन्त्रण गरे।
राष्ट्रपति मिले हाल घरेलु चुनौतीहरूको सामना गरिरहेका छन् । उनले प्रवर्द्धन गरेको क्रिप्टोकरेन्सी (गुप्त मुद्रा) लिब्राको मूल्य अचानक घटेपछि उनलाई महाअभियोग समेत लगाउने समस्यामा फसेका छन् ।
रुढीवादी राजनैतिक कार्य सम्मेलन अर्थात् सि-प्याकमा आफ्नो उपस्थितिको क्रममा उनले सरकारको आकार घटाउने र सार्वजनिक खर्च नियन्त्रण गर्ने आफ्ना नीतिहरूको समर्थन गरे। उनले आफ्ना रणनीतिहरूलाई ट्रम्प र इलन मस्कले अपनाएको दृष्टिकोणसँग तुलना गरे र सरकारको अनावश्यक खर्च हटाउने प्रतिबद्धता व्यक्त गरे ।
मिलेसँगको भेटघाटका अतिरिक्त, ट्रम्प पोल्याण्डका राष्ट्रपति आन्द्रेज डुडासँग पनि भेट्ने कार्यक्रम रहेको थियो, जसमा युक्रेन युद्धबारे छलफल हुने अपेक्षा गरिएको थियो।
प्रतिक्रिया