एसोसिएटेड प्रेसद्वारा ट्रम्प प्रशासनका तीन उच्च अधिकारीविरुद्ध मुद्धा दायर 

इनेप्लिज २०८१ फागुन १० गते १६:४० मा प्रकाशित

एसोसिएटेड प्रेस (एपी)ले शुक्रबार राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका तीन वरिष्ठ अधिकारीहरूविरुद्ध मुद्दा दायर गरेको छ। 

मुद्दामा ह्वाइट हाउसले पत्रकारहरूको अभिव्यक्ति स्वतन्त्रताको उल्लङ्घन गरेको आरोप लगाइएको छ, जसअन्तर्गत एपीका पत्रकारहरूलाई राष्ट्रपति कार्यक्रममा सहभागी हुन रोकिएको थियो।

यो विवाद “गल्फ अफ मेक्सिको” लाई “गल्फ अफ अमेरिका” नामकरण गर्ने ट्रम्पको कार्यकारी आदेशपछि सुरु भएको थियो। 

एपीले नयाँ नाम स्वीकार गर्न अस्वीकार गरेपछि ह्वाइट हाउसले आफ्नो पत्रकारहरूलाई ओभल कार्यक्रम आयोजित कार्यक्रमहरूमा र एयर फोर्स वन( राष्ट्रपतिको विमान)यात्रा गर्न रोक लगाएको थियो।

एपीले वाशिङ्टन, डी.सी.स्थित संघीय अदालतमा दायर गरेको यो मुद्दामा राष्ट्रपति ट्रम्पका प्रमुख सल्लाहकार सुसी वाइल्स, उपप्रमुख टेलर बुडोविच, र प्रेस सचिव क्यारोलिन लेविटलाई प्रतिवादी बनाइएको छ। 

एपीको दाबी अनुसार यो प्रतिबन्ध असंवैधानिक भएको र पत्रकारिताको स्वतन्त्रतालाई नियन्त्रण गर्न गरिएको प्रयास हो। 

एपीले अदालतसँग तुरुन्तै यो रोक हटाउन आदेश दिन आग्रह गरेको छ।

तर ह्वाइट हाउसले यो मुद्दालाई “निराधार र मूर्खतापूर्ण” भन्दै खारेज गरेको छ। 

ह्वाइट हाउसका सञ्चार निर्देशक स्टेभन चेउङले भने, “एपीका पत्रकारहरू ट्रम्पको विरुद्ध रहेको मानसिकता (Trump Derangement Syndrome) बाट ग्रस्त छन्। हामी अदालतमा पनि तिनीहरूलाई पराजित गर्नेछौं, जसरी निर्वाचनमा पराजित गर्यौं।”

प्रतिक्रिया