नेपालसहित विश्वभर फ्रेबुअरी १४ मा “भ्यालेन्टाइन डे” अर्थात “प्रेम दिवस” मनाइँदैछ । विशेष गरी युवा युवतीले यसलाई विशेष चाडकै रुपमा मनाउने गरेका छन् । पछिल्ला केही वर्षदेखि नेपाल र नेपाली समुदायमा पनि प्रेम दिवस बिशेष रुपले मनाउने गरिएको छ । बजार प्रेमिल बनेको छ, राता गुलाब र भ्यालेन्टाईनको सजावटले दुलही झैँ झकिझकाउ सजिएको छ। सामाजिक संजालमा प्रणय दिवसको शुभकामनाको ओईरो लागेको छ।
भ्यालेन्टाई डे अर्थात प्रणय दिवस फ्रेबुअरी १४ पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ । तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर त्यस्तो कार्यलाई प्रतिबन्ध लगाएका थिए तर भ्यालेन्टानले भने सम्राट्को निर्णयलाई धर्म विरुद्ध भनेर प्रेमिल जोडीलाई मिलाउने काम गरेका थिए। सेन्ट भ्यालेन्टाईनले राजाको आज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह गरिदिए। उनलाई त्यसरी निषेधाज्ञा तोडेको आरोपमा ईपू २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइयो।
त्यसरी प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो । विश्वभरि नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ। प्रेम दिवसको नाममा मनाईने भ्यालेन्टाईन डे त्यस अर्थमा धर्मसंग जोडिएको र तात्कालिक राज्य ब्यबस्थाको बिरोधसंग सम्बन्धित विषय हो।
त्यसरी रोमबाट सुरु भएको भ्यालेन्टाईन डे, पछिल्लो समयमा हाम्रो देश नेपालमा पनि मनाउनेको सङ्ख्या ह्वात्तै बढेको छ । आफुलाई मन परेको मान्छेलाई प्रेम प्रस्ताव राख्ने, प्रेममा रहेकाले एक अर्कामा प्रेमभाव साटासाट गर्ने र विभिन्न उपहार दिने यो मात्रै एक उपयुक्त दिन हो जसरी मनाउने गरिएको छ ।
भनिराख्न परोईन कि, भ्यालेन्टाईन डेको सुरुआत रोम बाट भएको हो। भ्यालेन्टाईन डे मात्र हैन, कृश्चियनहरुका अरु धेरै धार्मिक र सांस्कृतिक पर्व तथा परम्पराहरु रोम वाटै आएको र अन्यत्र प्रसार भएको हो।
त्यस अर्थमा पनि क्रिश्चियन धर्म मान्नेहरुले यसलाई परम्परागत रुपमा एक आपसमा प्रेम भाव साट्दै प्रेमी र प्रेमिका वा श्रीमान श्रीमतीबीच रातो गुलाफको फुल वा चक्लेटहरु वा विभिन्न उपहारहरु दिएर मनाउनु स्वाभाविक नै हो। त्यो उनीहरूको संस्कार र आफुले माया गरेको मानिसलाई प्रेम जताउने प्रचलित परम्परा नै हो। तर त्यही लहलहैमा ती पश्चिमाहरुलाई नै माथ दिनेगरी नेपाली युवायुवतीमा भ्यालेन्टाईन डे मनाउने जुन होडबाजी नेपाली समाजमा अहिले चलेको छ, त्यसले नेपाली मौलिक संस्कृति र परम्परा नै पूर्णत: ओझेल परेको त हैन भन्ने प्रश्न खडा भएको छ।
हो, कुनै पनि चाड पर्व तथा परम्पराको आआफ्ना मूल्य र मान्यताहरु हुन्छन्। र तिनीहरूकोको आआफ्नै अर्थ, महत्त्व र ईतिहास पनि हुन्छ। सबैको संस्कार र संस्कृतिको सम्मान पनि गर्नु पर्छ तर हामीले के हेक्का राख्न भुल्नु हुँदैन भने आधुनिकता र पश्चिमाकरणको नाममा पश्चिमा संस्कार र संस्कृति अन्धाधुन्ध अबलम्बन गर्ने चक्करमा हाम्रो आफ्नो मौलिक संस्कृतिको चिरहरण गर्न भने कदापि दिनु हुँदैन।
हामी कोही सनातनी छौं, कोही बौद्ध मार्गी त कोही प्रकृतिपूजक छौ। माया प्रेम पश्चिमा समाजमा मात्र हैन हाम्रो समाजमा पनि जताउने र त्यसको अभिव्यक्ति गर्ने प्रचलन छ। पश्चिमाले फ्रेबुअरी १४ को दिन कुर्लान् तर हाम्रो जात, धर्मं, स्थान, संस्कार, संस्कृति र परम्परा अनुसार प्रेम जाहेर गर्ने तौरतरिका भिन्न छ। आआफ्नै मौलिक पर्व र अवसर पारेर जीवन साथी रोजिन्छ, माया पिरती साटिन्छ।
मूल कुरा के हो भने जीवन साथी रोज्ने, माया र प्रेम अभिव्यक्त गर्ने हाम्रो आफ्नो मौलिक परम्परा र शैलीलाई चटक्कै बिर्सने तर पश्चिममाले प्रचार गरेको भ्यालेन्टाई डे लाई नै एकमात्र प्रणय दिवस जस्तो ठानेर एक आपसमा प्रेम भाव दर्शाउने, उपहारहरु आदान प्रदान गर्ने जुन आधुनिक शैली नेपाली युवायुवतीमा बढेको छ, त्यसले हाम्रो मौलिक संस्कार र परम्परालाई मन्द विष जसरी हामीले नै थाहा नपाउने गरी क्रमिक रुपमा बिस्तारै बिस्तारै मार्दै छ। चिन्ता र चासोको मूल विषय नै यही हो।
भ्यालेन्टाईन डे हाम्रो परम्परागत मान्यता होईन, मनाउनु पर्छ भन्ने छैन । यदि अरुको परम्परामा रमाउन मन लाग्छ, उनीहरु संगै खुसी बाँढ्न मन लाग्छ भने त्यो आफैंमा अपराध चाहि होईन। कुनै धर्म जात जाती तथा संस्कृती का सकारात्मक सन्देश दिने प्रचलन तथा परम्पराहरुमा रमाउनु र तिनलाई साथ दिनुलाई अन्यथा मान्नु पनि हुँदैन तर आफ्नो धर्म, संस्कृती चाडपर्व, परम्परारा, मान्यताहरुलाई आत्मसाथ गर्ने र तीनको अर्थ, ज्ञान र महत्वलाई मनन गर्ने र त्यसको उचित प्रवर्धन गर्ने कार्यमा पनि त्यतिकै लाग्नु आवश्यक छ। मूल कुरा भनेको विदेशी दबाब र प्रभावमा परेर आफ्नो धर्म, संस्कार र संस्कृति भने चटक्कै बिर्सन हुन्न भन्ने नै हो।
हामीलाई अरु भन्दा भिन्न देखाउने र हामीलाई अरु माझ चिनाउने भनेकै हामीले अंगालेको संस्कृति र परम्परा हो। हाम्रा ती सबै सामाजिक सास्कृतिक धरोहरलाई एकपछी अर्को गर्दै छोड्दै जाने, बिर्सदै जाने र पश्चिमाको टिप्दै सिक्दै जाने हो भने हाम्रो पहिचान कसरी जोगिएला ?
राधा कृष्णको प्रेम गाथालाई बुझ्ने कि नबुझ्ने ? सती र शिवको प्रेमभावलाई मनन गर्ने कि नगर्ने ? पर्वतीको महादेव प्रतिको प्रेम अनि महादेवसंगको मायाप्रेम सफल बनाउन पार्वतीले गरेको संघर्ष, गृह त्याग, भोक हड्ताल, जंगलवास जस्ता त्याग र बिद्रोहको गाथालाई सम्झने कि नसम्झने ?
कसैले कसैलाई माया गर्नू, कसैसँग सँगै हिड्नु, अनि सँगै बस्दैमा आकाशै खसे जस्तो गरेर छाती पिटिपिटी रोईकराई गर्न आवश्यक त छैन तर पश्चिमी संस्कृतिबाट भित्रिएको प्रणय दिवसले नेपाली समाजमा आजसम्म आइपुग्दा थुप्रै विकृति विसंगतिहरू मौलाएको र हाम्रो समाज र संस्कृति भित्रका पवित्र प्रेम गाथाहरुलाई बिस्मृती तिर धकेल्दै तिनको धज्जी उडाएकोमा भने टुलुटुलु हेरेर बस्नु हुन्न।
भ्यानेन्टाईन डे को कथा ब्यथा बुझ्ने पुस्ताले स्वस्थानी व्रत कथामा आउने बृन्दाको कथा र पतिव्रतालाई सम्झने कि नसम्झ्ने ? जालन्धर प्रति बृन्दाको माया समर्पण र त्याग सहितको बलिदानलाई याद गर्ने कि नगर्ने ? राधा कृष्णको प्रेम गाथालाई बुझ्ने कि नबुझ्ने ? सती र शिवको प्रेमभावलाई मनन गर्ने कि नगर्ने ? पर्वतीको महादेव प्रतिको प्रेम अनि महादेवसंगको मायाप्रेम सफल बनाउन पार्वतीले गरेको संघर्ष, गृह त्याग, भोक हड्ताल, जंगलवास जस्ता त्याग र बिद्रोहको गाथालाई सम्झने कि नसम्झने ? आफ्नो वर आफैले छान्न पाउनु पर्छ, अभिभावकले बलात् लाद्नु हुन्न भन्ने पार्वतीको त्यो बिद्रोह, सन्देश र संकेतलाई आजको युवा पुस्ताले सम्मान गर्नु पर्ने कि नपर्ने ? हामी नेपाली युवा पुस्ताले प्रणय दिवसका नाममा फ्रेबुअरी १४ ठूलो अनि सेन्ट भ्यालेन्टाईन महान भन्ने भ्रम पाल्ने कि शिव-पार्वती, राधा-कृष्ण, सुम्निमा र पारुहांगका कथा ब्यथा र अमर प्रेम कहानीलाई पनि आत्मसाथ गर्ने ? भ्यालेन्टाईन डे भनेर उफ्रदै रमाउँदै हिंड्ने युवा पुस्ताबाट हामीले यी र यस्ता सवालको जवाफ खोज्नै पर्छ।
कुरोको चुरो के हो भने भ्यालेन्टाईन डे भनेर एकोहोरो कोलाहल गर्ने चक्करमा र आफुलाई आधुनिक, सभ्य र सभ्रान्त पुस्ता हो भनेर प्रमाणित गर्ने होडबाजीमा लागेका नेपाली युवा पुस्ताले बिश्वका चर्चित प्रेम कहानीहरू लैला-मजनु, रोमियो जुलियट, मुना-मदन, हीर-राँझा, नल-दमयन्ती, सावित्री-सत्यवान, सुम्निमा र पारुहांगका ती ऐतिहासिक प्रेम गाथालाई एकपल्ट घोत्लिएर पढुन्, राम्रोसँग बुझुन्।
फ्रेबुअरी १४ मा सेन्ट भ्यालेन्टाइनको बार्षिक श्राद गर्दै गर्दा हाम्रो आफ्नै धर्म, संस्कृति र परम्परा भित्रको प्रेम गाथा र समर्पणको उच्चतम र अनुपम उदाहरणलाई चटक्क नबिर्सिएर त्यसलाई अबलम्बन गर्ने र आत्मसाथ गर्ने चेतना युवा पुस्तामा जागोस्। आधुनिकता र पश्चिमाकरणको अन्धो नक्कलपनबाट हाम्रो मौलिकता र पहिचान जोगाउन युवा पुस्तामा कम्मर कस्ने सद्बुद्दी पलावस् – फ्रेबुअरी १४ अर्थात् “भ्यालेन्टाइन डे” को सबैमा शुभकामना !
मदन बस्नेत
प्रतिक्रिया