ट्रम्पले मेक्सिको ,क्यानडा र चीनलाई कर महसुल वृद्धि गरे पछि उपभोक्ताहरूलाई के के कुरामा असर पर्छ ?

इनेप्लिज २०८१ माघ २० गते २३:२६ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको ,क्यानडा र चीनलाई कर महसुल वृद्धि गरे पछि उपभोक्ताहरूलाई ठूलो असर पर्न सक्ने अर्थविदहरुले टिप्पणी गरेका छन् । ट्रम्पले मेक्सिको र क्यानडालाई २५ % र चीनलाई १० % कर लगाउने भएका छन् । उनले हस्ताक्षर समेत गरि सकेका छन् । उनले क्यानडा, मेक्सिको र चीनको प्रतिक्रियालाई नजिकबाट निहाली रहेका छन् ।

र आफ्नो सामाजिक संजाल मार्फत बेला बेलामा आफ्नो भनाई र टिप्पणी गरि रहेका छन् ।

तीनै राष्ट्रहरुले कडा जवाफ दिई सकेका छन् । अमेरिकामा आयात गर्ने वस्तुहरुमा यस प्रकारका शुल्क लगाउँदा अमेरिकी व्यवसायहरू र उपभोक्ताहरूलाई ठूलो असर पर्न सक्छ। यी शुल्कहरूले आयात गरिने वस्तुहरूको लागत वृद्धि गर्नेछ, जसको प्रत्यक्ष असर उपभोक्ताले बेहर्नु पर्ने हुन्छ ।

मुख्य असर पर्ने क्षेत्रहरूमा गाडी र गाडीका बिभिन्न पुर्जामा पर्नेछ । किनभने मेक्सिकोबाट ८७ अर्ब(बिलियन) डलर बराबरका गाडी र ६४ अर्ब (बिलियन) डलरका पुर्जा (पार्ट्स )आयात गरिन्छ।

यसै गरि क्यानडाबाट ३४ अर्ब(बिलियन )डलर बराबरका गाडीहरू आयात गरिन्छ। शुल्क लागेपछि कारको मूल्य वृद्धि हुन सक्छ, जसले ग्राहकहरूलाई थप आर्थिक भार हुन् सक्नेछ ।

त्यस्तै खाद्यान्न र मादक पेय पदार्थमा पनि मूल्य वृद्धि हुनेछ । स्मरण रहोस्, मेक्सिको अमेरिकाका लागि फलफूल र तरकारीको सबैभन्दा ठूलो आपूर्तिकर्ता हो।
क्यानडाबाट अन्न, मासु, कुखुरा, र अन्य खाद्य सामग्री निर्यात गरिन्छ। टकीला र मोडेलो जौ मदिरा (बियर) जस्ता लोकप्रिय पेय पदार्थहरू महँगा बन्नेछन्।

बिधुतिय सामग्री (इलेक्ट्रोनिक्स) खेलौना, र घरेलु उपकरणहरू पनि महँगो बन्ने छन् । चीनबाट आयात गरिने घुम्ती यन्त्र (मोबाइल फोन), काखे सुसांख्य यन्त्र (ल्यापटप) दूरदर्शन उपकरण( टिभी) श्रब्यदृश्य (भिडियो गेम)खेल उपकरणहरूमा असर पर्न सक्छ।

चीन अमेरिकाको मुख्य जुत्ता आपूर्तिकर्ता हो, जसले जुत्ता उद्योगलाई प्रभावित पार्न सक्छ। खेलौना र खेलकुद सामग्रीहरूको ७५% चीनबाट आयात गरिन्छ, त्यसैले यी वस्तुहरू पनि महँगो बन्न सक्छन्।

यी शुल्कहरूले व्यापार लागत बढाउने मात्र होइन, मुद्रास्फीति पनि थप बढाउने जोखिम रहन्छ, जसले अमेरिकी उपभोक्ताहरूको क्रयशक्ति घटाउन सक्छ।

यस्तो अवस्थामा उपभोक्ताहरूले महँगो सामान किन्नुपर्ने हुन्छ, जसले आर्थिक वृद्धिमा नकारात्मक प्रभाव पार्न सक्छ।

प्रतिक्रिया