पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले मेटा प्लेटफर्म्स(मंच )सँगको मुद्दा टुंग्याउने सम्झौतामा हस्ताक्षर गरेका छन्। उक्त मुद्दा उनले जनवरी ६, २०२१ मा अमेरिकी संसद (क्यापिटल हिल)मा भएको आक्रमणपछि आफ्नो सामाजिक सञ्जाल खाता निलम्बन गरिएपछि दायर गरेका थिए।
वालस्ट्रिट जर्नलले जनाए अनुसार सम्झौता अनुसार मेटा(फेसबुक)ले करिब २५ मिलियन डलर भुक्तानी गर्नेछ, जसको २२ मिलियन डलर ट्रम्पको आगामी राष्ट्रपति पुस्तकालयको कोषमा जानेछ, भने बाँकी रकम वकिलहरूको शुल्क र अन्य अभियोगीहरूलाई दिइनेछ।
यो सम्झौता ट्रम्पले २०२४ को चुनाव जितेपछि मेटाका प्रमुख कार्यकारी अधिकारी (सीईओ) मार्क जकरबर्गले ट्रम्पसँग सम्बन्ध सुधार गर्न खोजेको प्रयासको रूपमा आएको छ। करबर्गले ट्रम्पको उद्घाटन समारोहका लागि १ मिलियन डलर दान गरेका थिए र मन्त्रीमण्डलका सदस्यहरूसँगै सो कार्यक्रममा सहभागी भएका थिए।
साथै, मेटाले आफ्नो सामग्री निगरानी नीतिहरू सहज बनाएको छ, तेस्रो पक्षद्वारा गरिने तथ्य-जाँच साझेदारीहरू हटाउँदै सामुदायिक लेखाजोखा अर्थात् “कम्युनिटी नोट्स” प्रणाली अवलम्बन गरेको छ, जुन सामाजिक संजाल एक्स (पूर्व ट्विटर) को नमुनासँग मिल्दोजुल्दो रहेको एपीन्यूजले जनाएको छ ।
सम्झौतासम्बन्धी छलफलहरू ट्रम्पको नोभेम्बर २०२४ मा मारालागो क्लबमा भएको भेटघाटपछि सुरू भएका थिए। जहाँ जकरबर्ग र ट्रम्पले विशेष रूपमा यस मुद्दाबारे छलफल गरेको वालस्ट्रिट जर्नलले उल्लेख गरेको छ ।
यो घटनाक्रम सामाजिक सञ्जाल प्रतिष्ठानहरूले ट्रम्पसँग कानुनी विवाद समाधान गर्ने क्रमको हिस्सा हो। पूर्व ट्विटर अहिले एक्स र ट्रम्पबीच पनि यस्तै मुद्दासम्बन्धी सम्झौताको छलफल भइरहेको द एटलान्टिक डटकमले जनाएको छ ।
प्रतिक्रिया