अहिले सर्वाधिक चर्चामा रहेको नेपाली चलचित्र ‘तेल भिसा’ ५१ औ दिन सम्म पनि निरन्तर चलि रहेको छ भने अमेरिकाको मेरिल्याण्ड राज्यको कोलम्बियामा ‘तेल भिसा’ हेर्ने सबै दर्शक भावुक भए । उत्कृष्ट चलचित्र भएको दर्शकले प्रतिक्रिया दिएका छन् ।
हेर्न आएका अधिकांश दर्शकहरुले सबैले एक पटक हेर्नै पर्ने चलचित्र भएको पृष्ठपोषण (फिडब्याक) दिएका छन् । ईनेप्लिजले चलचित्र समाप्त पछि लिएको अन्तरक्रियामा अधिकांशको आँखा रसाएका र सबैले भाबुक भएको बताए । स्पष्ट रुपमा अधिकांशको आँखा भिजेका देखिन्थे ।
गत जनवरी २५ शनिबारका दिन मेरिल्याण्डको कोलम्बिया स्थित एक चलचित्र मन्दिरमा प्रदर्शन गरिएको तेलभिषा चलचित्र बिशेष प्रदर्शनमा बिशेष व्यक्तित्वहरुलाई आमन्त्रित गरिएको थियो ।
चलचित्र प्रदर्शनमा मेरिल्याण्ड राज्यमा बिधान सभा सदस्य सांसद डा ह्यारी भण्डारीको साथै भर्जिनियाबाट चर्चित महिला अधिवक्ता बन्दिता शर्मा दाहाल लगायत बिदेशी कलाकारहरुको पनि उपस्थिति रहेको थियो । डा ह्यारी भण्डारीले अभिनेत्री द्वय पूजा चन्द लामा तथा रिचा घिमिरेलाई संसदको तर्फबाट सम्मान गरे ।
अमेरिका आएको झन्डै १० बर्ष पछि युवा चलचित्र निर्देशक शंकर घिमिरेले अत्यन्तै मेहनत साथ चलचित्रमा निर्देशन दिएका हुन् । उनले ईनेप्लिजसंग कुरा गर्दै ७० प्रतिसत भन्दा ज्यादा चलचित्र अमेरिकामा छायांकन गरिएको बताए । प्रवासमा निर्मित तेल भिसाले नेपाल र बिश्व भरि चर्चा परिचर्चा पाउन सफल भएकोमा हर्ष व्यक्त गर्दै सबैलाई एक पटक यो चलचित्र हेर्न अभिनेत्री रिचा घिमिरेले आग्रह गरिन ।
हजुरआमाको भूमिकामा रहेकी कलाकार पूजा चन्द लामाको बिषयवस्तुमा केन्द्रित चलचित्रमा चन्दले अद्वितीय अभिनय गरेकी छिन् । उनले वास्तविक अभिनय गरेको पाइन्छ र दर्शकले उनलाई मुक्त कण्ठले प्रशंसा गरे ।
चलचित्रको अन्तिम समयमा अदालतमा बहसमा अभिनय गरेकी रिचा घिमिरेको दमदार प्रस्तुति रहेको छ भने उनको निहित प्रतिभाको झनै प्रसंसा गरिएको छ । अमेरिकाको ३० वटा स्थानमा जनवरी २४ देखि बिभिन्न राज्य तथा शहरहरु प्रदर्शन भै रहेको छ । अमेरिकाको टेक्सस राज्यमा ७ वटा चलचित्र मन्दिर, क्यालिफोर्नियामा ३ वटा, ओहायोमा ३ वटा ,पेन्सेल्भेनियामा २ ,नर्थ क्यारोइनामा २ चलचित्र मन्दिरहरुमा प्रदर्शन भै रहेका छन् ।
त्यस्तै अमेरिकाको अन्य राज्यहरुमा बाल्टिमोर, आएवा, न्यूयोर्क, य़ूटाः ,नेभादा ,केन्टकी ,कोलोराडो लगायत राज्यहरुमा जनवरी २४ देखि प्रदर्शनी भै रहेका छन् ।अमेरिकाको लागि वितरक नेपाल ११ इन्टरटेन्टमेन्ट रहेको छ । कथा वस्तु र सबै कुरालाई राम्रोसँग प्रस्तुती गरिएकोले चलचित्र यत्र तत्र सर्वत्र चर्चाको शिखरमा पुगेको छ ।
निर्देशक घिमिरेले ईनेप्लिजसँग कुराकानी खुसी व्यक्त गर्दै हेर्ने दर्शक प्रति कृतज्ञता व्यक्त गरेका छन् । साथै अमेरिकामा रहेका सबैलाई एक पटक चलचित्र हेर्न आह्वान गरेका छन् ।
चलचित्रमा अभिनेता विपिन कार्की बाबु र छोराको गरी दोहोरो भूमिकामा छन् । विपिनसँगै चलचित्रमा वर्षा राउत, बाल्टिमोरमै बस्दै आएकी पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारहरूको समेत अभिनय छ ।
वेलडन क्रियसनको ब्यानरमा अनिल पाण्डे र शिवराज कार्की निर्माता रहेको चलचित्रका प्रिन्स युवराज कार्की र श्रुति दाहाल कार्यकारी निर्माता हुन् ।
प्रतिक्रिया