रौतहट
रौतहटमा स्थापित अनिता–शिव प्रतिष्ठानले पुरस्कारका लागि कृतिको आह्वान गरेको छ । रौतहटको बज्जिकानगर मिठुअवा घर भई हाल अस्ट्रेलियामा रहेका युवा व्यवसायी नीतिश गुप्ताले मातापिताको नाममा स्थापना गरेको प्रतिष्ठानको तर्फबाट पहिलोचोटि पुरस्कारका लागि कृति आह्वान गरेका हुन् । गुप्ताले गत वर्ष ‘अनिता–शिव प्रतिष्ठान’को घोषणा गर्दै हरेक वर्ष एक उत्कृष्ट कृतिलाई पुरस्कृत र सम्बन्धित कृतिकारलाई सम्मानित गर्ने ‘अनिता–शिव अन्तर्राष्ट्रिय बज्जिका वाङमय पुरस्कार सम्मान’को घोषणा गरेका थिए ।
प्रतिष्ठानले सन् २०२४ भित्र प्रकाशित बज्जिका भाषाको कुनै पनि सिर्जनात्मक वा समालोचनात्मक कृतिका साथै बज्ज्किा भाषा, साहित्य तथा संस्कृतिमाथि नेपाली, हिन्दी, अंग्रेजी वा बज्जिका भाषामा गरिएको अनुसन्धानात्मक कृति जनवरी महिनाभित्र उपलब्ध गराउन आह्वान गरेको हो ।
निर्धारित अवधिभित्र प्राप्त कृतिलाई मूल्यांकन गराई उत्कृष्ट कृतिलाई २५ हजार रुपैयाको नगद पुरस्कार तथा कृतिकारलाई दोसल्ला ओढाई सम्मानपत्रले सम्मानित गरिने प्रतिष्ठानले जनाएको छ ।
कृतिकार वा प्रकाशकले गत अंग्रेजी वर्षभरि प्रकाशित कृतिलाई रौतहटको माधवनारायण नगरपालिका ४ मिठुअवाको बज्जिकानगरस्थित गुप्ताको निवास वा गरुडा चोकमा रहेको बिन्दा पुस्तक पसलमा जनवरी महिनाभित्र उपलब्ध गराउन प्रतिष्ठानले आग्रह गरेको छ ।
गुप्ताले बज्जिका भाषाका अभियन्ता आफ्ना पिता शिवचन्द्र साहको योगदानको सम्मान गर्दै प्रतिष्ठान र पुरस्कारको स्थापना गरेका हुन् । नेपाल र भारतमा बोलिने बज्जिका भाषाको साहित्य, संस्कृति तथा अनुसन्धान र समालोचनाको क्षेत्रको लागि यो नै पहिलो पुरस्कार रहेको दाबी गरिएको छ । प्रतिष्ठान संस्थापक गुप्ताले सबै किसिम र विधाका ३ प्रति कृति उपलब्ध गराइदिन कृतिकारहरुलाई विशेष आग्रह गरेका हुन् ।
नेपालको छैटौं ठुलो भाषाको रुपमा रहेको बज्जिका महोत्तरीदेखि बारासम्म बोल्ने गरिएको राष्ट्रिय जनगणना २०७८ को अन्तिम परिणाममा देखिन्छ ।
प्रतिष्ठानले पुरस्कार तथा सम्मानको लागि पहिलोपटक कृति आह्वान गरेको हो ।
प्रतिक्रिया