अनेसास निर्वाचन:२०२६-२०२८ संक्षिप्त विवेचना

इनेप्लिज २०८३ असार १६ गते २:२७ मा प्रकाशित


ऋषभदेव घिमिरे ललितपुर, नेपाल

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को निर्वाचनले यतिबेला नेपाली भाषा, साहित्य, कला र संस्कृति पनि जुर्मुराउँन लागेको प्रतीत गराउँदै छ । स्वदेश-विदेश जहाँ रहे पनि चाहिने भनेको आफ्नै भाषा, भेष, संस्कार र संस्कृति रहेछ । यसको संरक्षण, प्रवर्द्धन तथा पुस्तान्तरण हामी सबैको साझा लक्ष्य र ज़िम्मेवारी हो भन्ने भावनाका साथ विभिन्न स्रष्टा/ सर्जक चुनावी मैदानमा हुनुहुन्छ । नेपाली भाषा, साहित्य, कला र संस्कृतिको उन्नयन, संरक्षण, पुस्तान्तरण तथा विश्वव्यापीकरणको गहन उद्देश्य रहेको संस्स्थाको निर्वाचनलाई धेरैले नियालि रहेका छन् । मूलतः संस्थाको लक्ष्य र उद्देश्यपूर्तिका लागि संस्था पहिलो प्राथमिकता हो । आम आजीवन सदस्य, स्रष्टा/ सर्जक , साहित्यकार साहित्यानुरागि तथा शुभेच्छुकका भावनाको कदर र सम्मान गर्र्ने नेतृत्व त्यसपछिका अभियन्ताका रुपमा रहने प्रतिनिधि पात्र मात्र हुन् । व्यक्तिभन्दा माथि संस्था भन्ने कुरालाई कसैले पनि बिर्सन हुदैन ।

अनेसासको गरिमा, साख र विश्वसनीयतालाई अक्षुण्ण राख्नु संस्थामा आबद्ध हामी सबैको कर्तव्य र जिम्मेवारी हो । संस्थाको विधि, विधान, अनुशासन र पारदर्शिता सहितको सामुहिक नेतृत्व प्रणालीमा चल्ने र चलाउने नेतृत्वले संस्था सवल र समृद्ध बन्दछ। यसो हुँदा नेतृत्वको योगदानको कदर हुने र इतिहासको रचना गर्न पनि सहज हुने कुरालाई कसैले पनि नकार्न सकिदैन। निर्वाचन प्रकृया र पद्धति हो । मतदान वा सर्वससम्मत रुपमा नेतृत्व चयन हुने परिपाटी अनुरूप नै चयन हुने हुन संस्थामा पदाधिकारीहरू।

अनेसास निर्वाचन २०२६-२०२८ का निमित्त विभिन्न पदमा उम्मेदवारी मनोनयनको क्रम सकिएको छ। प्रचारप्रसार तीव्र बन्दै गएका छ । अध्यक्षदेखि सदस्यसमेतले जाहेर गरेका छन् विविध घोषणा र प्रतिबद्धताहरू। अनेसासको संस्थागत विकास र भौतिक पूर्वाधारका अनेकन योजना छन् । दृष्टिकोण छन । नीति छन् । व्यक्ति-व्यक्तिका महत्वाकाङ्क्षी योजना पनि छन् । राम्रा र अनेसासका लागि उपयुक्त, फलदायी र दीर्घकालीन योजनाहरुलाई संस्थागत गर्न सकियो भने मात्र प्रस्तुत गरिएका योजनाहरू साकार हुन सक्छन् , अन्यथा नारामा सीमित रहन्छन् । विगतका राम्रा र अधुरा नीति, कार्यक्रम तथा योजनाहरू सामुहिक रुपमा पुरा गर्न लागि पर्नु सक्षम नेतृत्वको कार्यकुसलता हो । पदाधिकारीहरूको एकताबिना क्षेत्रीय योजनाको कार्यान्वयन, च्याप्टरहरूको स्वायत्तता र कार्यक्रम तथा आजीवन सदस्यहरूको अपेक्षा पुरा कठिन हुन्छ । हाम्रा सामु निकै चुनौतीहरू छन् । विमतिलाई पर राखेर सहमतिका साथ अबको नेतृत्व अगाडि बढ्नु सबैका लागि हितकर रहन्छ भन्ने लाग्दछ। सर्वपक्षीय सहयोग र सहभागिताबिना संस्थालाई सवल बनाउन प्रायः कठिन नै हुन्छ ।

अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव (अमेरिका महादेश बाहेक अरु उपाध्यक्ष, सचिव र कोषाध्यक्ष निर्विरोध भइ सकेको) र सदस्यसमेतले जाहेरको प्रतिबद्धता र योजनाहरू अत्यन्त राम्रा छन् । नेतृत्व निर्वाचन र सर्वससम्मत बनाउनका लागि अनेसासको विधानमा संशोधन आवश्यक छ। तलदेखि नेतृत्वको विकास गर्ने र आकाङक्षीलाई पनि स्थान उपलब्ध गराउन संरचनामा केही संशोधन र परिमार्जन गर्ने हो भने प्रतिस्पर्धा अझ स्वस्थ्य र स्वच्छ हुनेछ भन्ने लाग्दछ। आवश्यकतानुसार यसको खाका पछि प्रस्तुत गर्नेछु । अनेसासको हित र विकासका लागि महत्त्वपूर्ण देखिने सशक्त कार्यक्रमहरू सार्वजनिक भएका छन। यो अनेसासका लागि सुन्दर पक्ष हो ।संस्थाको भविष्यसँग जोडिएका नीति, योजना र कार्यक्रमले पक्कै पनि मवदाता खुसी देखिन्छन् । मतदानबाट कोही विजयी हुन्छ, कोही पराजित । यो निर्वाचनबाट अनेसासले जित्ने नेतृत्व निर्वाचित हुन सकोस् भन्ने अपेक्षा राख्दछु।

अनेसासका प्रत्येक आजीवन सदस्य भाषा, साहित्य, कला र संस्कृतिलाई जगेर्ना र माया गर्ने सम्वाहकहरू हुन । अनेसासका विभिन्न संरचनामा रहेका नेतृत्वको अतिरिक्त संस्थाका योजनाहरूलाई कार्यान्वयनको दिशामा अगाडि बढाउन सबैको भूमिका र योगदान अपरिहार्य छ। चुनावी घोषणा र योजनालाई यथार्थमा बदल्न गाह्रो छ। त्याग, समर्पण , समय, निरन्तरता र सहकार्य त्यत्तिकै महत्त्वपूर्ण रहने भएकाले रहर भन्दा जाँगर भएकालाई विजय गराउनुका लागि हार्दिक अपील समेत गर्न चाहन्छु । कुनै योजना तर्जुमा मात्र पर्याप्त होइन, त्यसलाई लागु गर्न र अन्तिम निष्कर्षमा पुर्‍याउन इमानदारिता, मिहेनत, धैर्य, लगनशीलता निरन्तरता र प्रतिबद्धता पनि त्यत्तिकै आवश्यक पर्दछ।

निर्वाचन संस्थागत विधि र आन्तरिक प्रतिस्पर्धा मात्र हो । नीतिगत कुराको कार्यान्वयन नियमित रहन्छ भने निर्वाचनले प्राविधिक पक्षको निरुपण गरि नयाँ नेतृत्व चयन गर्दछ। व्यक्ति भन्दामाथि संस्था भन्ने भावनालाई आत्मसात् गर्दै एकता र सहकार्यलाई प्राथमिकतामा राख्न सकियो भने मात्र संस्थाले लक्ष्य र उद्देश्य हासिल गर्न सक्दछ। निर्वाचनले हामीबिचको एकतालाई खलल पुर्याउँनु हुदैन । एकता खलल भएका थुप्रै कटु यथार्थ छन् हामीबिच । संस्था सामुहिक नेतृत्व पणालीमा चल्नाले धेरै उपलब्धि हासिल गर्न सकिन्छ । सबै सहि र असल समुदायका बिचबाट सक्षम नेतृत्व सर्वससम्मत चयन गर्ने परिपाटी पनि लोकतान्त्रिक अभ्यासभित्रको अर्को सौन्दर्य हो । त्याग, समर्पण र सहभागितालाई अक्षुण्ण राख्ने विधि र विकल्पको खोजि गरि संस्थालाई आवश्यक र उपयुक्त नेतृत्वको चयन गर्न सकियो भने यो निर्वाचन ऐतिहासिक बन्न सक्छ । इतिहासको रचना हामीले नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ?

म नेपाल च्याप्टरको महासचिव हुनु पूर्व नै तात्कालिन अध्यक्ष राधेश्याम लेकालीको कार्यकालमा नेपालमा ड्यास्पोरा डेक्स संचालनमा थियो । हामीले त्यसलाई स्डासपोरा अध्ययन केन्द्र सहित नेपालमा सचिवालय समेत संचालन गरिरहेका छौं। त्यसपछिका अध्यक्षहरू क्रमशः प्रकाश पौडेल माइला, गोवर्धन पूजा, सर्वज्ञ वाग्लेको कार्यकालमा समेत सचिवालयको योजना र मुद्दालाई घोषणापत्रमा उल्लेख्य गरि नै रहियो। कुन हबिगतमा छ पछि पुछनि समेत नभएको प्रत्यक्ष पात्र हू म। नेपाल च्याप्टरका बर्तमान अध्यक्ष अहिलेका केन्द्रीय सदस्य उम्मेदवार राजेन्द्र के.सीको संघर्ष छुट्टै छ। नेपालमा सचिवालय स्थापनाको विषय अध्यक्षका उम्मेदवार सुरेन उप्रेती र लालगोपाल सर दुबै उम्मेदवारले उठान गरेको विषय हो। वरिष्ठ उपाध्यक्षहरू तारा अधिकारी र सुदीपभद्र खनालले पनि उठाउनु भएको छ। सकुन ज्ञवाली र गीताजीका घोषणापत्र भित्र संस्थाको समृद्धिका थप योजना पनि छन् । महासचिवका प्रत्याशी राजन सिटौला र सहदेवको पनि योजना सुन्दर छन । आशा छ यो कार्यकालमा पुरा होस् सचिवालयको योजना । नेपालमा रहँदा संस्कृति समितिका संयोजक जो अहिलेको निर्वाचनमा सदस्यका प्रत्याशी समेत हुनुहुन्छ महेश्वर पन्तलाई सुनाउँदा उत्साही भएर यसको लागि आर्थिक स्रोतको खाका बनाउने प्रतिबद्घता जाहेर गर्नु भएको छ। केहि समय अगाडि अनेसासको डीसी मेट्रो च्याप्टरका अध्यक्ष नीलकण्ठ सुवेदीलाई सुनाउँदा राम्रो काम हो, सहयोग गर्ने तत्परता उहाँले पनि देखाउनु भयो । सहयोगका लागि लागि पर्ने बताउँनु हुने थुप्रै छन। त्यसैगरी भारतबाट केन्द्रीय सदस्यका उम्मेदवार डा. पारसमणी दंगालले पितृभूमिमा अनेसासको सचिवालय रहनु गर्वको विषय बताउँनु भएको छ । हामी थप आशावादी छौं नेपालमा अनेसास सचिवालय व्यवस्थित हुनेमा। यो विषय नारामा सीमित नहोस् । नेपालमा अनेसासको स्थायी सम्पर्क सचिवालय स्थापना गर्नु केवल योजना र घोषणापत्रमा मात्र रहनु हुदैन । ड्यास्पोरा र नेपाललाई जोड्ने यो महत्त्वपूर्ण कडी हो । एजेन्डा मात्र नबनोस्। सार्थक बनोस् । विभिन्न उम्मेदवारले गरेका घोषणा र प्रतिबद्धता साकार पार्न अनेसास २०२६-२०२८ को कार्यसमिति सफल बनोस् ।तल उल्लेखित मुद्दालाई सम्बोधन गर्न समेत लागि पर्दछ भन्ने अपेक्षा र आत्मविश्वास लिएको छु।

नेपालमा अनेसासको व्यवस्थित स्थायी सचिवालय र ड्यास्पोरा अध्ययन केन्द्र नियमित संचालन हुनु पर्दछ। सदस्यहरूको अभिलेखलाई व्यवस्थित गर्ने काम कार्यभार सम्हालेका दिनबाट नै प्रारम्भ गरिनु पर्दछ। आजीवन सदस्यअरुको परिचय पुस्तिका तयार गर्ने कामलाई अगाडि बढाउनु जरुरी छ । प्रकाशन व्यवस्थालाई सहज, सरल र गुणस्तरीय बनाउने संयन्त्रको विकास गर्नु जरुरी छ ।अनुवाद साहित्य तर्फ ठोस योजना बनाएर अन्तरदेशीय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली साहित्य, कला र संस्कृतिलाई विश्वव्यापीकरण गरिनु अत्यावश्यक छ ।अनेसासका च्याप्टरहरुलाई सरकारसंग जोडेर साहित्यक एवं सांस्कृतिक दूत बनाउने काममा अवधारणा बनाउनु जरुरी छ । अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना, बहुभाषिक सम्मेलन, डिजिटल प्रकाशन र साहित्यिक आदानप्रदानलाई क्यालेन्डर बनाएर सहकार्य गर्नु उपयुक्त हुन्छ । सदस्यता अभिवृद्धिका निमित्त नयाँ पुस्तालाई अनेसाससँग जोड्ने अभियान संचालन, युवा लेखकलाई प्रोत्साहन, विद्यार्थी र नवप्रतिभाका लागि कार्यक्रम तर्जुमा तथा विशेष साहित्यिक कार्यक्रमको आयोजना तर्फ लागि पर्नु जरुरी छ । विभिन्न प्रतियोगितात्मक कार्यक्रम संचालन, सिर्जनशील लेखन प्रशिक्षण तथा अन्तर्राष्ट्रिय सहभागिताका अवसर सिर्जना गर्ने तर्फको योजना निर्माण गर्नु सान्दर्भिक रहन्छ । आधुनिक डिजिटल प्रणालीको उपयोग गर्दै सिर्जना र रचनालाई विश्वका जुनसुकै ठाउँमा पुग्नसक्ने बनाउनु जरुरी छ । च्याप्टरहरुलाई स्वायत्त बनाउने र न्यूनतम कार्यादेश हुने गरि कार्यक्रम तर्जुमा र विनियोजन गरिनु पर्दछ।

अहिलेका उम्मेदवारहरू मत मात्र मागि रहेका छैनन् । संभावनाको खोजि र अनेसासको भविष्य प्रति चिन्तन पनि गरि रहेका छन् । सक्षम उम्मेदवारको पहिचान गरि अनेसासलाई समृद्ध बनाउन लागि परौं।

जय भाषा ! जय साहित्य !! जय अनेसास !!!

( लेखक ऋषभदेव घिमिरे अनेसास केन्द्रीय निर्वाचन २०२६-२०२८ का निमित्त सचिव पदमा निर्विरोध हुनु भएको छ। हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना। सं.)

प्रतिक्रिया