करणको हिजोभन्दा आजमा सम्राटको अभिनय

इनेप्लिज २०८१ पुष ६ गते १९:०४ मा प्रकाशित

काठमाडौं, ६ पुस

नेपाल आइडल सिजन ५का विजेता करण परियारको स्वरमा नयाँ गीत अस्ति भन्दा हिजो….को भिडियो दर्शकमाझ आएको छ । गीतमा संगीतकार दीपक शर्माले संगीत सृजना गरेका हुन् । यो गीतको भिडियोलाई सम्राट क्रिएसनको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । गीतको बोल यस्तो छ,

‘अस्तीभन्दा हिजो अझै
झनझन झनझन
हावामा हराउँदैछु किन
म त बुझ्दै बुझिन…’

यो गीत निकै माधुर्य बनेको छ । किशोर मनोविज्ञापनमा आधारित भएर तयार गरिएको यो गीतलाई निर्देशक सुमन दाहालले लेखेका हुन् । गीतमा सम्राट न्यौपानेको संगीत संयोजन रहेको छ ।

गीतकार सुमनका अनुसार बालबाट किशोरावस्थामा प्रवेश गरेका किशोरहरुको मनोविज्ञानमा यो गीत केन्द्रित रहेको छ । किशोरमा प्रवेश गर्दै गर्दा उनको शारीरिक र मानसिक विकासमा आएका परिवर्तनले जीवनमा ल्याउने कौतुहलतालाई गीतमा प्रस्तुत गरिएको सुमनले बताए ।

यो गीतको भिडियोमा बाल कलाकार सम्राटको एकल अभिनय रहेको छ । सम्राटले यो गीतमा आफुजस्तै किशोरहरुको भावना समेटिएकाले यसमा आफुले अभिनय गरेको बताएका छन् ।

उमेरले १४ वर्ष पुगेका सम्राटको यो १४ औं भिडियो हो । सम्राटले पाँच वर्षको उमेरबाटै अभिनय यात्रा सुरु गरेका हुन् । उनले राष्ट्रिय भावको भिडियोमा पहिलो पटक अभिनय गरेका थिए । त्यसपछि सम्राटले निरन्तर मोडलिङ गर्दै आएका छन् ।

बिगत ८ वर्षदेखि अमेरिकामा रहँदै आएका निर्देशक सुमन दाहालले म्युजिक भिडियो तथा लघु चलचित्र निर्देशनलाई पनि निरन्तता दिँदै आएका छन् । यो गीतको भिडियोको सबै छायांकन अमेरिकाको केन्टकी राज्यका विभिन्न रमणीय स्थानमा गरिएको सुमनले जनाए । भिडियोलाई दर्शकले मन पराएको उनले बताए ।

प्रतिक्रिया