ट्रम्पद्वारा आफ्नी छोरी टिफनी ट्रम्पका अरबपति ससुरालाई अरब र मध्य पूर्वी मामिलाहरूमा वरिष्ठ सल्लाहकारको रूपमा नियुक्त

इनेप्लिज २०८१ मंसिर १६ गते १८:०७ मा प्रकाशित

नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अरब र मध्य पूर्वी मामिलाहरूमा वरिष्ठ सल्लाहकारको रूपमा सेवा गर्न अरबपति मसाद बुलोसलाई चयन गरेको उनले आइतवार घोषणा गरेका छन् ।

बुलोस ट्रम्पकी छोरी टिफनीका ससुरा हुन् । ट्रम्पको चुनाव अभियानमा युद्धभूमि (स्विङ्ग स्टेट)राज्यहरूमा मुस्लिम समुदायसम्म पुग्ने अभियानमा निकै संलग्न थिए। ट्रम्पले आइतवारको घोषणामा बुलोससँग आफ्नो पारिवारिक सम्बन्धको बारेमा उल्लेख गरेनन्।

“मसाद एक कुशल वकिल र व्यापार जगतका एक उच्च सम्मानित नेता हुन् ,” ट्रम्पले आफ्नो सामाजिक संजाल ट्रुथ सोशलमा लेखेका छन् ।

“उनी एक सम्झौताकर्ता हुन्, र मध्य पूर्वमा शान्तिको अटल समर्थक हुन्। उनि संयुक्त राज्य अमेरिका र यसको हितका लागि एक सशक्त अधिवक्ता हुनेछन् , र उनलाई हाम्रो टोलीमा राख्न पाउँदा म खुसी छु!” ट्रम्पले भने ।

गत शनिबार ट्रम्पले चार्ल्स कशनरलाई फ्रान्सका लागि अमेरिकी राजदूतको रूपमा नियुक्त गरेका थिए। उनी ट्रम्पका ज्वाइँ जेरेड कशनरका बुबा हुन्।

प्रतिक्रिया