जीवन विज्ञान अमेरिकाकाे चाैथाे वार्षिकाेत्सव रक्तदान कार्यक्रम सहित सम्पन्न

इनेप्लिज २०८१ मंसिर १२ गते २:१० मा प्रकाशित

जीवन विज्ञानका संस्थापक रमेश गुरुदेवको परम प्रकाश दिवस तथा जीवन विज्ञान अमेरिकाको चौथो वार्षिकोत्सव आज अमेरिकामा सम्पन्न भयो । जुमका माध्यमबाट पूर्वी समयअनुसार साँझ ८ः३० मा प्रारम्भ भएको समारोहमा जीवन विज्ञान प्रतिष्ठानका संस्थापकद्वय भानु गुरुदेव र रमेश गुरुदेवले सम्बोधन गर्नुभयो । परमात्मासितको भेटका लागि प्रत्येक साधकले सर्वप्रथम आफ्नो हृदयको द्वार खोल्नुपर्ने सन्देश दिनुभयो । जीवन विज्ञान सेवाप्रधान संस्था भएको जानकारी गराउँदै भानु गुरुदेवले जीवन विज्ञानका प्रत्येक साधकले आफूले आन्तरिक रुपमा साधना र बाहिर सेवा समान रुपमा गहिरो बनाउँदै जानुपर्दछ भन्नुभयो ।

आफूले परमात्मासित साक्षात्कार भएको दिनको संस्मरण गर्दै रमेश गुरुदेवले आफूले आफूसित भेट नगरी मरेर कसैले पनि परमात्माको राज्यमा स्थान पाउन नसक्ने बताउनुभयो । हरेक साधकले शरीरको क्षेत्र वा स्थूल, मनको क्षेत्र वा सूक्ष्मको साधनाबाट बिस्तारै निराकारको साधनातर्फ गहिरिनुपर्ने बताउनुभयो । अशरीर र अमनी नभई निराकारसम्म पुग्न सकिँदैन, निराकारमा अडिन सकेपछि आत्मदर्शन हुन्छ । त्यसबाट साधनाको अर्को चरण अर्थात् परमात्माको दर्शनको मार्ग खुल्न थाल्छ भन्दै रमेश गुरुदेवले हरेक जीवको स्रोत परमात्मा हो र उसलाई कसैले बिर्सनु हुँदैन भन्नुभयो ।

जीवन विज्ञानका प्रशिक्षकद्वय (कल्याणमित्र) गोमा संग्रौला र कृष्ण रेग्मीले सञ्चालन गरेको उक्त समारोहमा जीवन विज्ञान अमेरिका कार्यसमिति उपाध्यक्ष कैलाशमोहन कायस्थले भजन प्रस्तुत गर्नुभयो । समारोहमा क्यालिफोर्नियाका सिद्धार्थ सिलबाल, भर्जिनियाका अर्जुन सिग्देल र क्यालिफोर्नियाका अप्सरा कार्कीले जीवन विज्ञानका विभिन्न तहका साधनाले आफ्नो जीवनमा पारेका विभिन्न सकारात्मक र प्रगतिपरक परिवर्तनका अनुभव सुनाउनुभयो । कार्यसमिति अध्यक्ष सुशील शर्माले जीवन विज्ञान अमेरिकाले एक वर्षको अवधिमा गरेका कार्यप्रगति र भावी कार्यक्रमबारे प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

समारोहमा रमेश गुरुदेवले जीवन विज्ञान अमेरिकाका संस्थापक अध्यक्ष शिव लामिछानेले लेख्नुभएको जीवन विज्ञानको परिचय दिने अंग्रेजी भाषाको किताब ‘जीवन विज्ञान (द साइन्स अफ लिभिङ) एन इन्ट्रोडक्सन’ किताब सार्वजनिक गर्नुभयो । सो किताब जीवन विज्ञानको इतिहास र यसका विविध कार्यक्रमसहित समग्र पक्षबारे समेटिएको अंग्रेजी भाषाको पहिलो किताब हो ।

आजै जीवन विज्ञान अमेरिकाले रमेश गुरुदेवको प्रकाश दिवस तथा जीवन विज्ञान अमेरिकाको चौथो वार्षिकोत्सवको अवसरमा भर्जिनियामा रक्तदान कार्यक्रम सम्पन्न गर्यो । जीवन विज्ञान अमेरिका संस्थापक कार्यसमितिको स्वास्थ्य तथा कल्याण विभागका संयोजक डा कल्पना सत्यालको संयोजनमा भएको रक्तदान कार्यक्रममा भर्जिनियाका १७ जना दाताले रक्तदान गरे ।

जीवन विज्ञान अमेरिकाले विगत तीन वर्षदेखि लगातार आफ्नो वार्षिकोत्सबका अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया