क्यालिफोर्निया नाम नै काफी छ रमाईलोकोलागी, चमकधमक अनि भब्यता र ब्यस्तताकोलागी। ब्यस्त शहरमा बस्ने मानिसहरु ब्यस्त नहुने त कुरै भएन तर अरु सबैको ब्यस्तता भन्दा भिन्दै छ, फोटोग्राफर अर्जुन केसीको ब्यस्तता।
जिविकोपार्जनकोलागी आफुले नियमित गर्ने काम पछी विश्राम नलिएको कति भो उनी आफैंलाई सम्झना छैन। सानफ्रान्सिस्को, मन्टेरे र वे एरियाका नेपालीहरुको ब्यक्तिगत होस कि पारिवारिक, सामाजिक – सांकृतिक होस् कि धार्मिक वा बिभिन्न संघसंस्था र समुदायले आयोजना गर्ने भेला, मेला, प्रशिक्षण वा सभा, समारोह र म्युजिकल कन्सर्ट नै किन नहोस्, त्यहाँ अरु पुगुन् नपुगुन्, लामा लामा लेन्सलाई मिलाउँदै, दृश्यमा फोकस गर्दै राईट टाईम राईट क्लिक गर्न भ्याइनभ्याई गरेको अबस्थामा भेटिन्छ्न् – फोटोग्राफर अर्जुन केसी।
मानव जीवनका अनेकन भावभंगीहरुलाई क्यामेराको फ्रेममा अटाउँदा र प्रकृतीका सुन्दर छटाहरुलाई जस्ताको त्यस्तै फोटोमा उतार्दाको अहोरात्र खटाईले उनलाई विश्रामको पर्याय भनेकै फोटोग्राफी हो भन्ने लागिसक्यो रे। त्यसले त आफ्नै बारेमा उनको ठम्याई छ, क्यामेरा नचलाई बस्नु भनेको आराम हैन हराम हो।
परदेसको भूमी, प्रायजसो सबैलाई फुर्सद हुने भनेको विकेण्डमा नै हो। त्यसैले जे जती कार्यक्रम हुन्छ्न् ती सबै विकेन्डमा नै हुने हुनाले अर्जुन विकेन्डमा अरुले जस्तै निर्धक्क फुर्सद लिन भ्याउँदैनन्। भन्छ्न्, बरु विक डेमा अलि सास फेर्न भ्याईन्छ तर विकेन्डमा भ्याईनभ्याई नै हुन्छ। क्यामेरा, लेन्स, लाईट, ब्याट्ट्री अरु के के हो के के, सबै बटुल्यो अनि कार्यक्रम तिर दगुर्यो। त्यसैले विकेण्ड अफ डे हैन क्लिक डे हो रे उनकालागि।
नेपालबाट अमेरिका भ्रमणमा आउने गायक हुन् वा कलाकार, सानफ्रान्सिस्को नपुग्ने कमै होलान्। जहाँ कलाकार त्यहाँ भीड अनि जहाँ भीड, त्यहाँ अर्जुन केसी।
नेपाली सिने जगतका सबैजसो कलाकारहरुको उपस्थितिका बीच सम्पन्न ग्लोबल अवार्ड २०१९ मा अफिसियल फोटोग्राफर बन्ने सौभाग्य पाएका अर्जुनले त्यसपछी कहिल्यै पछाडी फर्कनु परेन।
उनले सुशान्त केसी, सुगम पोख्रेल, अन्जु पन्त, प्रमोद खरेल, स्वप्न सुमन, प्रकाश सपुत, हेमत शर्मा, हेमन्त राना, अस्मिता अधिकारी लगायत थुप्रै गायक गायिका र नेपालका चर्चित म्युजिकल ब्याण्ड: मन्त्र ब्याण्ड, एक्स ब्याण्ड, नेपथ्य,1974 एडी , द इलिमेन्टस, कबवेब मात्र हैन शान्तिश्री, ज्योति मगर, रचना रिमाल, करिश्मा ढकालको अब नाच्छ अमेरिका र सन्दिप क्षेत्री लगायत अन्य सात हाँस्य कलाकारहरुको अब हाँस्छ अमेरिका लगायतका अन्य धेरै कार्यक्रमहरुमा अफिसियल फोटोग्राफी गरेर सबैको मन जितिसकेका छ्न्।
नेपाली चलचित्र जगतका महानायक राजेस हमालले त अर्जुनकोको प्रशंसा गर्दै उनले खिचेको फोटोलाई आफ्नो सोसियल मेडियामा अनेकौंपटक पोस्ट गरेका छ्न्।
सबैको आलोचना गरेर उछितो काट्ने रजतपट कार्यक्रमका चिप्ल्याउने अंकल प्रकाश सुबेदीले समेत अर्जुन केसीको फोटोग्राफिको तारिफ गरेका छ्न्। हास्यबिनोदमा पारंगत सन्दिप क्षेत्रीले समेत अर्जुनको खुलेर प्रशंसा गरेका छ्न्।
कलाकारद्वय मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, शिव श्रेष्ठ, नयाँ पुस्ताका अभिनेता अनमोल केसी, रास्वपाका उपसभापति स्वर्णिम वाग्ले पनि अर्जुनको फ्रेम भित्र परिसकेका छ्न्। हालसालै मात्र उनले समकालीन नेपाली सिनेमाको चकलेटी हिरो भुवन केसीको समेत फोटो सुट गर्न भ्याईसकेका छ्न्।
त्यति मात्र हैन, क्यालिफोर्नियामा आयोजित भारतीय मूलका मानिसहरुले आयोजना गरेको मिट एण्ड ग्रीट कार्यक्रममा सहभागी भारतीय सिनेमाको प्रख्यात अभिनेत्री ज्याकलिन फर्नान्डिस, अभिनेता अरबाज खान र अर्का चर्चित कलाकार पुनित इसर (महाभारतका दुर्योधन) को पनि फोटो सुट गरेको अनुभव छ, उनीसंग।
सानालाई राजा र ठुलालाई दादा भनेर सम्बोधन गर्ने अति नै बिनम्र, फरासिला स्वभावका अर्जुन केसी सबैका प्यारा भएका छ्न – सानफ्रान्सिस्को, सेन्ट होजे, वे एरिया र मन्टेरे क्षेत्रका नेपाली समुदाय माझ।
उनको त्यही सोझोपन र कामप्रतिको लगाव र गुणस्तरिय फोटोग्राफीका कारण उनलाई नेपाली समुदायले आफ्नो निजि ईभेन्टस बिहे, पास्नी, इङ्गेजमेन्ट, घरपूजा, म्याटर्निटी, बेबी सावर , जेण्डर रिभिल लगायतका आफ्ना निजी ईभेन्टहरुमा समेत फोटो शुट गर्न अनुरोध गरिरहेका हुन्छ्न्। झट्ट नाई भन्न नसक्ने स्वभाव भएका उनी आफ्नो त्यही स्वभावका कारण पनि ब्यस्त हुन्छ्न, अति नै ब्यस्त भेटिन्छ्न् ।
ब्यस्तता जतिसुकै किन नहोस, आफ्नो नियमित १०-५ को जागिर, केटाकेटीलाई स्कुल ड्रपअफ – पिकअप, घरको ग्रोसरी, मेन्टेरेको हाट बजार, मन्टेरे बजारमा रहेको रायन दाजुको कफी सप, श्रीमती केटकेटीसंगको घुमघाम, बाल्यकालदेखिको लगौंटिया यार शेखरसंगको कफी गफ, सबै गर्न भ्याएकै हुन्छ्न्।
एकाबिहानै उठेर फिसर्सम्यान वार्फ्टको समुन्द्र तटको मनै लोभ्याउने सुर्योदयको अलौकिक क्षणलाई क्यामेरामा क्लिक गर्न र मन्टेरे नजिकको जंगल डुलेर क्यालिफोर्निया ब्लूजे बर्डको अनेकन भावभंगीलाई फेसबुक र ईन्स्टाग्राममा पोस्ट्याउन पनि छुटाउँदैनन् उनी।
सानफ्रान्सिस्को तिर हुने कार्यक्रम दूरीका हिसाबले टाढा पर्छ उनलाई तर दुई चार घन्टाको ड्राईभमा उनी नेपाल तिर आफ्नो घर परिवारदेखि छरछिमेकका साथिभाई अनि बिदेशतिरका आफन्ती र साथिसंगी सबैसंग बात मारेर सदुपयोग गर्छन्। नयाँ रिलिज भएका नेपाली गीतहरु बाटोमा आउजाउ गर्दा सुनेर मनोरंजन पनि लिईरहेका हुन्छ्न्।
पैसा,पेशा, नाम अनि काम अनुसार मान, यी सबै कुराको सन्तुलन मिलाएका छ्न् उनले। भन्छ्न् – काम भएर मात्र नहुँदो रहेछ, दामले मात्र मन नरम्दो रहेछ। साथिसंगती र सामाजिकता सबैको सन्तुलनमा जीवन सार्थक हुँदो रहेछ। त्यही सार्थक जीवनको आनन्ददायी यात्राको सुखानुभूति गर्दैछ्न् रे उनी यतिखेर। यो सबै खुसी अनि उपलब्धिको क्रेडिड कसैलाई दिनु हुन्छ भन्ने प्रश्नमा उनी एक क्षण घोत्लिए, अलि भावुक बने अनि भने “मेरो सबै सफलताको श्रेय, मेरो जीवन संगीनी चम्पालाई। उनकै साथ, समर्थन र सहयोग कै परिणति हो यो सुखानुभूति।”
फोटो खिच्न सजिलो छ कि ? रमाईलो लाग्दो हुन्छ कि ? कि अलि बढी नै मेहनत गर्नु पर्ने हुन्छ ? प्रश्न सुनेर मज्जाले हाँसेका अर्जुन त्यो हाँसोलाई थाम्दै भन्छ्न् – “झ्वाट हेर्दा अरु सबैलाई कति सजिलो जस्तो लाग्छ फोटो खिच्न। क्यामेराको भ्यु फाईन्डरबाट दृश्यावलोकन गर्यो, ओके बटन क्लिक गर्यो, सकियो। तर सोचे जस्तो वा देखे जस्तो सजिलो छैन फोटोग्राफी। कार्यक्रम को प्रकृति अनुसार कुन सट लिने, कस्तो ईन्सिडेन्ट नछुटाउने भन्ने हेक्का राख्दै ती महत्वपूर्ण क्षणलाई सही र सटिक ढंगले क्यामेराको फ्रेममा अटाउने कुरा आफैंमा एउटा ठुलो चुनौती हो।
बढी मेहनत लेन्स, लाईट र एंगल मिलाउन मात्र हैन राईट क्लिक एट राईट टाईम को निर्धारण गर्न लाग्छ। त्यसैले फोटोग्राफी आर्ट हो र साथै हार्डवर्क पनि हो। फरक यत्ती हो कि, पेशा ठान्नेलाई यो झन्झटिलो र पट्यातलाग्दो लाग्न सक्छ तर शौख मानेर सृजनात्मकता खोज्नेलाई फोटोग्राफी जीवन र जगतसंग रमाउने सुन्दर अबसर पनि हो।” अर्जुन फोटोग्राफीलाई प्रोफेसन हैन प्यासन ठान्दछ्न्। त्यसैले फोटो खिच्दाको समय उनलाई काम गरे जस्तो पट्क्कै लाग्दैन। भन्छ्न् – फोटो खिच्नु भनेको नै आनन्दको अनुभुति गर्नु हो।
एकातिर भीड अर्कोतिर चहलपहल , त्यसमाथि रमाइलो अनि सेलिब्रेशनको मुड। त्यस्तो मस्त माहोल र उल्लासपूर्ण वातावरणमा घटनाक्रमहरुलाई नछुटाई नबिराई क्यामेरामा अटाउन त्यति सजिलो छैन। क्यामेरा चलाउने ज्ञान र सीप जानेर मात्र पनि पुग्दैन। एउटा असल र सफल फोटोग्राफर बन्न, त्यो बिशेष ईभेन्टसको बारेमा बिस्तृतमा जानकारी हुन पनि त्यत्तिकै आवश्यक हुन्छ । त्यसैले उनले अलि ठट्यौली भाषामा भने – फोटोग्राफरलाई बिबाह, पास्नी, न्वारान, ब्रतबन्धका बारेमा पण्डितलाई भन्दा बढ्ता ज्ञानको आवश्यकता पर्छ।
फोटो खिचेर मात्र काम सकिने भए कुरा बेग्लै। ती खिचिएका फोटाहरुको ईडिटिंग स्कृनिंग पनि गर्नै पर्यो, त्यो पनि समयमै। त्यसैले उनी ईभेन्टमा मात्र हैन, घरमा बिहान बेलुकाको फुर्सदको समयमा पनि आफैले खिचेका फोटोको सम्पादनमा ब्यस्त हुन्छ्न्। घरमा काँधको क्यामेरा त छुट्छ तर हातमा मोबाईल अनि डेस्कमा ल्यापटप कहिल्यै छुट्दैन किनकि खिचेका फोटोहरु समयमै बुझाउने हतारो जो हुन्छ उनलाई।
कुराले मात्र चिउरा भिज्ने कुरै भएन। त्यसैले कुराकारीको शिलशिलामा मैले उनलाई फ्याट्ट सोधेँ- काम राम्रो छ, भ्याईनभ्याई छ तर कस्तो छ त कमाई ? प्रश्न सुनेर उनी खिस्स हाँसे र मतिर पुलुक्क हेरेरे जवाफ फर्काए – “पैसा भन्दा पेशा ठूलो अनि पेशा भन्दा सृजनात्मकता ठूलो। त्यसैले म पैसा हैन, प्यासन बढी ध्यान केन्दृत हुन्छु। फोटोग्राफीबाट आएको आम्दानी नयाँ नयाँ उपहरण र प्रबिधिमा खर्च गर्छु।” उनलाई फोटोग्राफीको कमाईले हैन त्यसबात प्राप्त हुने नयाँ ज्ञान, सिप, सिकाइ र भोगाइले बढ्ता खुसी दिन्छ रे। भन्छ्न् – फोटोग्राफीकै कारण आफूले प्रकृतिलाई बुझ्न पाएकोमा उनलाई निकै खुसी लागेको छ। फोटोग्राफी उनकोलागी पेशा हैन प्यासन बनेको छ। आनन्द प्राप्त गर्ने माध्यम बनेको छ।
त्यसो त उनले फोटोग्राफर बन्ने कल्पना कहिल्यै गरेका थिएनन् रे। अमेरिका आउँदा उनमा कुनै दिन फोटोग्राफर बन्छु भन्ने एक रत्ती पनि लागेको थिएन उनलाई। नेपालमा छँदा, घर गाउँमा हुँदा क्यामेरा बोक्नेको मान र शानले उनको मन नलोभिएको त हैन तर भविस्यमा फोटोग्राफर नै बन्छु भन्ने सोच भने त्यतिबेला पटक्कै थिएन रे उनमा।
त्यसैले त विद्यार्थी भएर अमेरिका छिर्दा उनको विषय फोटोग्राफी हैन म्यानेजमेन्ट थियो। बोस्टनको ५ बर्षको बसाईमा स्मार्ट फोनले रमाईलोकालागी फोटो खिच्ने बाहेक फ्रोटोग्राफर बन्ने उनमा कुनै किसिमको उत्साह र लक्षण देखिएको थिएन।
उनको मन र मस्तिष्कमा फोटोग्राफीको अंकुरन भएको भनेकै बोस्टनबाट क्यालिफोर्निया सरेपछी हो। सानफ्रान्सिस्कोबाट दक्षिण प्यासिफिक कोस्ट छेउ अबस्थित सुन्दर पर्यटकिय क्षेत्र मन्टेरे जब उनको अर्को कार्य थलो बन्यो, तब त्यहाँको प्राकृतिक वातावरण र मनमोहक दृश्यहरुले उनलाई नजानिदो किसिमले फोटोग्राफी तिर तान्यो।
आजको सट्टा भोलि राम्रो होला की ? भोलि भन्दा पर्सि पो राम्रो आउला कि ? यस्तै त्यस्तै कौतुहलताले नजानिदो किसिमले उनी कतिखेर मोब्लियोग्राफीमा रमे, उनलाई नै हेक्का भएन रे
प्यासिफिक ओसनको पानीलाई रंग्याउँदै पूरै आकाशलाई रंक्त्तरंजित पार्ने त्यो सूर्योदय र सुर्य अस्तको मनमोहक क्षण हेरेर उनी कहिल्यै अघाएनन्। समुन्द्रको छालसंगै रमाएका वालरस र अटरका हाउभाउ, माछा खोज्न आएका चराहरुको सामुन्दृक डुबुल्की, घर नजिकैको जंगलमा भेटिने अनेकन रंगीबिरंगी चराहरुको हर्कत, चित्रकारले फुर्सदमा कोरेझैं देखिने मन्टेरे वरपरका ल्याण्डस्केपहरु देखेर उनको मन कहिल्यै अघाएन। पकेटको स्मार्टफोनले ती सुन्दर दृश्यहरुलाई क्याप्चर नगरी उनी बस्नै सकेनन्। घुम्ने क्रममा जानीनजानी मोबाईलमा कैद गरिएका फोटो र भिडियोहरुलाई घर फर्किएपछि राती सुत्ने बेलामा बिस्तारामा पल्टेर उपरखुट्टी लगाउँदै हेर्दै गर्दा आफुँले नांगो आखाँले देखेका प्राकृतिका ती सुन्दर छटाहरुलाई आफुँले न्याय गरे जस्तो पटक्कै लागेन रे उनलाई।
आजको सट्टा भोलि राम्रो होला की ? भोलि भन्दा पर्सि पो राम्रो आउला कि ? यस्तै त्यस्तै कौतुहलताले नजानिदो किसिमले उनी कतिखेर मोब्लियोग्राफीमा रमे, उनलाई नै हेक्का भएन रे।
जिज्ञासा र कौतुहलता उनमा यति बढ्यो कि राम्रो फोटो कसरी खिच्ने भन्ने जान्न उनले फुर्सद पायो कि गुगल सर्च गर्ने र युट्युब हेर्ने गर्न थाले। त्यसबाट जति जाने बुझे त्यसलाई ब्यबहारमा उतार्दा फोटोको सुन्दरता र गुणस्तरीयतामा आएको परिवर्तनले उनलाई यसबारे थप सैद्धान्तिक ज्ञान लिन प्रेरित गर्यो। परिणामत: उनले मन्टेरेको पेनेन्सुला कलेजमा भर्ना भए। लगन र मेहनतका साथ पढाई समयमै सके।
एउटा दुईटा गर्दै बिस्तारै क्यामेरा, लेन्स, लाईट जोड्दै गए। सैद्धान्तिक ज्ञान, ब्यबहारिक अनुभव र अत्याधुनिक उत्कृष्ट उपकरण यी सबैको संयोजनको नतिजा उत्कृष्ट र प्रशंसनीय रह्यो। उनको फोटो र भिडियोको तारिफ सबैले गर्न थाले। उनको “अर्जुन केसी फोटोग्राफी” फेसबूक एकाउन्ट र ईस्ट्राको “अर्जुन केसी डट फोटोग्राफी” एकाउन्टमा प्रशंसाको बाढी आउन लाग्यो। चिनेजानेका आफन्त साथिभाईले फोटो खिचिदिन अनुरोध गर्न थाले। एक कान दुई कान मैदान, नजानिदो पाराले उनको नाम र कामले समुदायमा चर्चा पाउन थाल्यो। परिणामत: आज अर्जुन केसी एक सफल र ब्यस्त फोटोग्राफर भनेर चिनिएका छन् – अमेरिकाको क्यालिफोर्नियामा।
सानो कदका निकै भद्र सुशील, मिलनसार, भलाद्मी अर्जुन केसी यतिखेर मन्टेरेमा एक दक्ष फोटोग्राफर बनेर उदाएका छ्न्। उनलाई काम र नामले मात्र हैन, नेपाली समुदायले एउटा मनकारी ब्यक्ति र समाजका अशल सदस्यको रुपमा स्वीकारेको छ।
फोटोग्राफी सम्बन्धि अमेरिकामा हाँसिल गरेको सैद्धान्तिक र ब्यबहारिक ज्ञान र ब्यबहारिक अनुभवलाई उनले नेपालमा पनि हस्तान्तरण गर्ने प्रयास गरेका छ्न्। उनकै प्रेरणा र निर्देशनमा नेपालको भक्तपुरमा खुलेको “कोसेली फोटो स्टेसन” नामक एउटा फोटोग्राफी सेवाले राम्रो बजार पाएको छ। नाताले काका पर्ने तर उमेर र ब्यबहारले साथी भन्दा फरक नहुने बिक्रम केसीलाई उनले सैद्धान्तिक र प्राबिधिक ज्ञान प्रदान गर्नुका साथसाथै अत्याधुनिक उपकरण पनि उपलब्ध गराएका छ्न्।
सफलताको यो उपलब्धिलाई बताउँदै गर्दा उनले आफ्नो फोटोग्राफी यात्राको सुरुवाती चरणमा सघाउने र उत्प्रेरणा जगाउने साथिभाइलाई सम्झिएनन मात्र, उनीहरुलाई धन्यबाद पनि टक्र्याए। वे एरियाका चर्चित फोटोग्राफर बिनोद केसी जसले उनकोलागी पहिलो वेडिंग फोटो सुटको बन्दोबस्त मिलाईदिएका थिए, उनको गुण सम्झिए। फोटोग्राफीको आधिकारिक अनलाईन पेज खोल्न प्रेरित गर्ने रिमा महर्जलाई पनि स्मरण गरे।
कुराको टुंग्याउनी तिर आईपुग्दा अन्तमा केही भन्नु छ कि भन्ने प्रश्नमा उनले बडो अप्ठेरो मानेर लामो सुस्केरा लिँदै भने – नेपालमा ८६ बर्सको हजुरबुबा हुनुहुन्छ, वहाँको देख्ने बुझ्ने बेला छँदै पनातिनीहरुको गुन्युचोली गरिदिन मन छ अनि त्यो अबिस्मरणिय क्षणलाई फ्रेममा सदासदाकोलागि कैद गर्ने मन छ। उनको जवाफ सुनेर म आफै एक क्षण भावुक बनेँ। उनको मनोकांक्षा पूरा होस् भनेर भगवानसंग मनमनै प्रार्थना गरेँ।
मदन बस्नेत, टोरोन्टो
प्रतिक्रिया