कञ्चनपुरको दोधारा चाँदनीमा जलवायु परिवर्तन अनुकूलनसम्बन्धी तीन दिने कार्यशाला सुरू

इनेप्लिज २०८२ जेठ १८ गते २:५४ मा प्रकाशित

कञ्चनपुर — जलवायु परिवर्तनका प्रभावबारे चेतना अभिवृद्धि र समुदायस्तरमा अनुकूलन क्षमताको विकास गर्ने उद्देश्यले भानु बहुमुखी क्याम्पस, दोधारा चाँदनीले जलवायु परिवर्तन अनुकूलनसम्बन्धी तीन दिने कार्यशाला सुरू गरेको छ। विश्वविद्यालय अनुदान आयोग (UGC) अन्तर्गत समता आधारित अनुदान (Equity Grant) को सहयोगमा भानु बहुमुखी क्याम्पसले कार्यशालाको आयोजना गरेको हो।

कार्यशालाको उद्देश्यबारे स्पष्ट पार्दै क्याम्पस प्रमुख प्रकाश बहादुर चन्दले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण र अनुकूलन साथै विपद् जोखिम न्यूनिकरण प्रक्रियामा शैक्षिक संस्थाहरूको प्रभावकारी सहभागिता आवश्यक भएकाले यस कार्यशालाको आयोजना गरिएको बताउनुभयो। उहाँले सामुदायिक क्याम्पस भएकाले क्याम्पसले पनि यो क्षेत्रमा आफ्नो भूमिका पूरा गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रमका प्रमुख अतिथि, प्रदेश सभा सदस्य बेल बहादुर राना मगरले दोधारा चाँदनी नगरपालिका महाकाली र जोगबुढा नदीले घेरिएको क्षेत्र भएकाले बाढीजन्य विपद्को उच्च जोखिममा रहेको बताउनुभयो। उहाँले हाल जलवायु परिवर्तनको प्रभाव तीव्र रूपमा देखिन थालेको अवस्थामा, कार्यशालाबाट सिकिएका अनुकूलन अभ्यासहरूलाई व्यवहारमा रूपान्तरण गर्नु अत्यन्त आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

कार्यक्रमका सभापति तथा क्याम्पस सञ्चालन समितिका अध्यक्ष भरत दत्त भट्टले नेपालमा बढ्दो जलवायु परिवर्तनका प्रभावलाई कम गर्न र जोखिममा रहेका स्थानीय समुदायलाई सुरक्षित गर्ने उपायसहित कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँले यस्ता कार्यक्रमहरूले समुदायमा चेतना अभिवृद्धि गर्नुका साथै दीर्घकालीन समाधानतर्फ मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यशालामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, नेपालमा जलवायु परिवर्तनको असर र अनुकूलन अभ्यासहरू, तथा पूर्वसूचना प्रणाली र सामुदायिक अग्रिम प्रतिकार्य जस्ता विषयमा छलफल तथा प्रशिक्षण प्रदान गरिनेछ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (NNSWA) का पूर्वसूचना तथा पूर्वप्रतिकार्य अधिकृत भोजराज भट्ट, भीमदत्त नगरपालिकाका वातावरण अधिकृत सविन रावल, र दोधारा चाँदनी नगरपालिकाका पूर्व विपद् सम्पर्क व्यक्ति रघुनाथ भट्टले कार्यशालामा सहजीकरण गरिरहनुभएको छ। यस्तै, कञ्चनपुरमा बाढी तथा पहिरो व्यवस्थापनसम्बन्धी सत्रमा सशस्त्र प्रहरी उपरीक्षक लोकेन्द्र भट्टले प्रशिक्षण दिइरहनुभएको छ।

कार्यशालाको उद्घाटन सत्रमा दोधारा चाँदनी नगरपालिकाका पूर्व उपमेयर चिनी गिरी, वडा नम्बर ६ का वडाध्यक्ष ओम बस्नेत, र क्याम्पस सञ्चालन समितिका पूर्व अध्यक्ष राजिव खड्काले समेत आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो। कार्यशालामा विद्यार्थी, प्राध्यापक, जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता देखिएको छ।

प्रतिक्रिया