पोखरामा पहिलो अन्तरराष्ट्रिय हट एअर बलुन फेस्टिभल हुँदै

इनेप्लिज २०८१ कार्तिक १५ गते १९:०६ मा प्रकाशित

लन्डन – पर्यटकीय राजधानी पोखरामा नेपालमै पहिलो पटक अन्तरराष्ट्रिय हट एअर बलुन फेस्टिभल हुन लागेको छ।

बलुन नेपाल प्रा लिले आयोजना गर्न लागेको उक्त कार्यक्रमबारे जानकारी दिन बुधबार बेलुका दक्षिण पूर्वी लन्डनमा आयोजित एक कार्यक्रममा बलुन नेपाल प्रा लिका निर्देशक तथा व्यवसायी दीपक श्रेष्ठले नेपाललाई साहसिक पर्यटनको एक आकर्षक केन्द्रको रुपमा चिनाउँदै पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम गर्न लागिएको बताए। उनले आगामी २४ डिसेम्बरदेखि १ जनवरीसम्म पोखराको चंखपुर क्षेत्रमा आयोजना गरिने उक्त फेस्टिभलमा विभिन्न २० मुलुकका ३० भन्दा बढी हटएअर बलुनहरु सहभागी हुने जानकारी दिए।

उनले ९ दिने फेस्टिभललाई कम्तीमा १ लाख ५० हजार दर्शकहरुले अवलोकन गर्ने आफुहरुले अपेक्षा राखेको पनि बताए।

“हट एअर बलुन उडाउंदा हामीले यात्रु तथा चालकको सुरक्षालाई उच्च प्राथमिकता दिन्छौं र नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकेका सबै नियमहरु पालना गर्छौं,” श्रेष्ठले भने। “नौ हजार फिटको उंचाईबाट धौलागिरी, माछापुच्छ्रे, फेवाताल लगायत पोखराको मनोरम दृश्य हेर्न पाइने यो अवसर अविस्मरणीय हुन्छ। “

उनले उक्त महोत्सव आयोजना गर्न पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश सरकार, एनआरएनए , पोखरा महानगर लगायतसंग आफुहरुले सहकार्य गरि रहेको जनाउंदै महोत्सवलाई सफल पार्न आआफ्नो ठाउंबाट सहयोग गर्न आग्रह पनि गरे।

उक्त महोत्सवको ‘इभेन्ट म्यानेज’ गरिरहेका सुरेश तन्डुकारले कार्यक्रमको बारे जानकारी दिंदै महोत्सवका क्रममा खाना, नृत्य, साँस्कृतिक प्रस्तुति लगायत १०० ओटा जति विभिन्न इभेन्टहरु आयोजना गरिने जानकारी दिए।

उनले चिनियाँ कम्पनी बीवाईडी प्रमुख प्रायोजक रहेको उक्त महोत्सवमा महानायक राजेश हमाल तथा नायिका प्रियंका कार्की कार्यक्रमको ब्रान्ड एम्बेसडर रहेको पनि जनाए।

कार्यक्रममा रोयल बरो अफ ग्रिनिचका मेयर जीत रानाभाट, एनआरएनएका पूर्व अध्यक्ष कुल आचार्य, कडेल ग्रुपका निर्देशक राजन कडेल, पर्यटन व्यवसायी बिराज भट्ट, एभरेष्ट इन ग्रुपका निर्देशक यादव भण्डारी, पत्रकारहरु भगीरथ योगी तथा ध्रुव राज अर्यालले फेस्टिभल नेपालमा साहसिक पर्यटनको अभिवृद्धि गर्न महत्वपूर्व हुने अपेक्षा व्यक्त गर्दै सफलताको शुभकामना दिएका थिए।

प्रतिक्रिया