अमेरिकामा तिहार तथा नेपाल सम्बतको अवसरमा प्रसिद्ध छायाचित्रकार राजीव श्रेष्ठले कैद गरेका बिशेष तस्बिरहरु

इनेप्लिज २०८१ कार्तिक १५ गते १२:११ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यमा बसोबास गर्दै आएका राजीव श्रेष्ठले नेपालीहरुको दोश्रो ठूलो चाड तिहारको साथै नेपाल सम्बतको उपलक्ष्यमा तस्बिरहरु कैद गरेका छन् । बिगत बर्ष देखि नै यस बर्ष पनि फरक फरक महिला दिदीबैनी र चेलीबेटीहरुको तिहार तथा नेपाल सम्बतको लागि सजिएका सुन्दर तस्बिरहरु कैद गरेका छन् ।

यस बर्ष पनि उनले त्यो क्रमलाई निरन्तरता दिएका छन् । श्रेष्ठले मेरिल्याण्ड आफ्नै फोटो बैंक स्टुडियोमा तस्बिरहरु कैद गरेका हुन् । उनले कैद गरेका तस्बिरहरुमा रमिता महर्जन ,लोचनी तारा शाक्य ,सुष्मा महर्जन ,अनु जोशी ,कमल रन्जु श्रेष्ठ ,केरिषा सिंह ,लुजला रंजित ,समिधा श्रेष्ठ ,प्रतिशा प्रधान र सम्वृद्धि प्रधान रहेका छन् ।

कुनै बेला नेपाली मनोरञ्जन क्षेत्रमा खासगरि नेपाली चलचित्र जगतमा आफ्नो जीवनचर्या बनाउन चाहने युवा–युवतीहरुले आफ्नो अभिनय यात्राको प्रारम्भमा लोकप्रिय छायाचित्रकार (फोटोग्राफर )राजीव श्रेष्ठसंग फोटोसेसन ( तस्बिर खिच्न)नगरि अघि बढ्दैन थियो । नेपाली चलचित्र क्षेत्रमा अहिलेका अधिकांश दिग्गज अभिनेता–अभिनेत्रीहरुको अभिनय करियर यी नै छायाचित्रकार (फोटोग्राफर)संग फोटोसेसन (तस्बिर सत्र )गरेर प्रारम्भ भएको हो ।

कुनै बेला भुवन केसी, शिव श्रेष्ठ, श्रीकृष्ण श्रेष्ठ, करिश्मा मानन्धर, राजेश हमाल, सरोज खनाल, विपना थापा, जल शाहदेखि २०५० को दशकमा नेपाली चलचित्र क्षेत्रमा जमेका अधिकांश अभिनेता–अभिनेत्रीहरुले राजीव श्रेष्ठसंग तस्बिर सत्र (फोटोसेसन)का लागि समय नै लिनु पर्ने अवस्था थियो ।

ललितपुरको कुपण्डोल तथा काठमाडौंको बागबजारमा रहेका राजीव श्रेष्ठका भव्य स्टुडियो ‘फोटो बैंक’ मा चलचित्र क्षेत्रमा जीवनयात्रा (करियर )बनाउन इच्छुक युवा–युवतीहरु तस्बिर सत्रका लागि समय मिलाउन भेला भैरहन्थे ।

अत्यन्त सुन्दर तथा बान्की मिलेका तस्विरहरु खिच्न सिपालु राजीव श्रेष्ठसंग तस्बिर सत्र गरेपछि २०५२ सालदेखि प्रकाशनमा आएको कान्तिपुर पब्लिकेशन्सको मनोरञ्जनात्मक पत्रिका ‘साप्ताहिक’ को मध्यपृष्ठमा प्रकाशित हुने लोभमा समेत कतिपय युवतीहरु यीनै चित्रकारसंग तस्बिर खिच्न चाहन्थे ।

‘साप्ताहिक’ का लागि राजीव श्रेष्ठले सयौं युवतीका सुन्दर तस्विरहरु खिचे । नेपालमा कलाकार मोहकता छायाचित्रकार (सेलिब्रेटी ग्ल्यामर फोटोग्राफर)को छवि बनाएका राजीव श्रेष्ठले खिचेका सयौं तस्विरहरु विभिन्न पत्रिकाका आवरण तस्विरको रुपमा समेत प्रकाशित भएका छन् ।

कान्तिपुरको मासिक पत्रिका नारी, कामना मासिक, ढुकढुकी, गिताञ्जली आदि पत्रिकाका आवरणमा राजिव ले नै खिचेका विभिन्न अभिनेता अभिनेत्रीका तस्विरहरु प्रकाशित हुन्थे ।

अहिले राजीव श्रेष्ठ अमेरिकाको मेरिल्याण्डमा बसोबास गर्छन् । उनी अमेरिकामै रहेर पनि आफ्नो पेशामा आवद्ध छन् । ३५ वर्षभन्दा लामो समयदेखि श्रेष्ठ आफ्नो कामप्रतिको ईमान्दारिता तथा लगनाशिलताका कारण पनि अमेरिकामा समेत सफल छायाचित्रकारको रुपमा स्थापित भएका छन् ।

नेपाली समुदायमा आयोजना हुने विवाह, ब्रतवन्ध, जन्मदिन, वैवाहिक उत्सव आदि कार्यक्रमहरुमा समेत राजीव श्रेष्ठको माग रहेको छ ।

नेपालमै छँदा विभिन्न कलाकारहरुलाई लिएर दशैँ, तिहार, शिवरात्रि, फागू पूर्णिमा, नयाँ वर्ष, तीज आदि विशेष अवसरहरुमा तस्बिर खिच्ने (फोटो सेसन )काम गर्ने श्रेष्ठले अमेरिकामा समेत यो कार्यलाई निरन्तरता दिइरहेका छन् ।

प्रतिक्रिया