के दशैं मगर लगायत आदिवासी जनजातीहरूको होईन ?

भूपनारायण घर्तिमगर २०८१ असोज २२ गते ०:०६ मा प्रकाशित

दशैं;

आश्विन शुक्ल प्रतिपदादेखि नवमी तिथीसम्मलाई नवरात्र र दशमीलाई टिका (विजया दशमी) भन्ने प्रचलन रहेको छ।दशैमा हामि नवदुर्गाको (शैलपत्री,ब्रह्मचारिणी,चन्द्रघण्टा कुष्माण्डा,स्कन्दमाता,कात्यायनी, कालरात्री,महागौरी र सिद्धिदात्री) आरधना गर्छौं।पौराणिक शास्त्र तथा प्रचलन अनुसार चार नवरात्र रहि आएका छन्।चैत्र,आषाढ, आश्विन र पौष शुक्ल पक्षहरूमा यि नवरात्रहरू पर्दछन्।चैत्र नवरात्रलाई वासन्तिक, आषाढ नवरात्रलाई गृष्मिय,आश्विन नवरात्रलाई शारदीय र पौष नवरात्रलाई हेमन्तिक नवरात्र भनेर पनि भनिन्छ। बर्तमानमा चैत्र र आश्विन नवरात्रलाई मात्र सानो दशैं र ठूलो दशैं भनेर मनाउने चलन छ।यानि प्रकृति तत्वका नौ उप-त्तवहरूको आरधना गर्नु नै नवदुर्गा मनाउनु हो।अर्को शब्दमा भन्नु पर्दा माता पार्वतीका नौ रूप या अवतारलाई नै नवदुर्गा भनेर भनिन्छ। पूजा पद्धती तथा मन्त्रोचारणका बिधिहरू पनि स्थान विशेष अनुसार फरक फरक छन्।चढाउने बस्तुहरू तथा रङमा पनि कता कता फरक देखिन्छन्।बस्तु र रङहरूले पनि तत् सम्बन्धि सकारात्मक उर्जा श्रृजना गर्न भूमिका खेल्दछन्। मन्त्रोचारणले पनि वाणी ध्वनि शुद्धिका साथसाथै सकारात्मक उर्जा श्रृजना गर्न सहयोग पुर्याउदछन्। बस्तुमा पाईने तत्व,रङ अनि ध्वनिले हामि र हाम्रो वातावरणलाई प्रभाव पार्ने कुरामा धेरथोर आजको बिज्ञान पनि सहमत भएको पाईन्छ।

दशैंको प्रकार ;

●दशैंका सामान्यत: दुई मान्यता छन्।पहिलो/सतयुगे मान्यता:-

यस अन्तर्गत असुर राज रम्भका छोरा महिषाशुरलाई माता दुर्गाले वध गरि महिषाशुरको ज्यादतीबाट समाजलाई मुक्ति दिलाएको अवसरमा मनाईने चाडलाई हामि दशैं भन्छौ।यसैलाई हामी बडा दशै पनि भन्छौ। नेपालमा हामिले मनाउने बडादशै र शक्तिपीठहरूमा पूजाआजा गर्ने पनि यही मान्यता अनुरूपनै हो।जौंको जमरा राखेर दुर्गा स्थापना गरि पूजा आरधना गर्ने परम्परा तथा मान्यता आफैमा प्रकृति प्रधान हुन्।महिषाशुरको प्रतिकको रूपमा राँगो बली दिने गरिन्छ।चण्ड मुण्डको प्रतिकको रूपमा बोका बली दिईन्छ।नव कालरात्रीको रूपमा मनाईने यो चाड तात्विक रूपमा हेर्दा अज्ञानताका अन्धकारलाई चिर्दै ज्ञानका प्रकाश पुञ्जित गर्नु पनि हो।त्यसैले त मानव शरिर रूपी हाम्रो घरका ९ द्वारबाट हामी भित्र छिरेका अज्ञानता,मुर्खता,विकृति,विसंगति,अहंकार,लोभ,लालच,राग, द्वेष तथा मोह जस्ता खराब तत्वहरूलाई नवरात्रको साधनाले हटाउने प्रयास गरिन्छ।

●दशैंको त्रेता युगे/दोश्रो मान्यता:-

यस मान्यता अन्तर्गत भगवान श्री राम चन्द्रले असुर राज रावणको वध गरि असत्य उपर सत्यको विजय प्राप्त भएको अवसरको रूपमा मनाईन्छ।मुख्य गरि भारतमा यही दोश्रो मान्यताले प्रसय पाएको छ।जसलाई विजया दशमी भनिन्छ। भारतमा दशैं मनाउने परम्परा तथा चलन चल्ति हाम्रो भन्दा केही फरक छन्।जसको ज्वलन्त उदाहरण हो, उनिहरू टिका लगाउदैनन्।

संक्षेपमा दशैं एक नितान्त ॠतु प्रधान प्रकृति पूजक चाड हो।धार्मिक आध्यात्मिक तथा तात्विक रूपमा मात्र नभई सामाजिक रूपमा पनि यो चाड अत्यन्तै महत्वपूर्ण छ। यो दशैं चाडले सबै बर्ग,भाषा-भाषी,जात-जाती तथा क्षेत्रका जनजनलाई एक सूत्रमा बाध्दै मनले जोड्ने काम गर्दै आएको छ।पछिल्ला दिनहरूमा राजनैतिक तथा आर्थिक स्वार्थले केही ब्यक्ति तथा समूहहरूले अनावश्यक लाञ्छना लगाउदै बहिष्कारका दुष्प्रयास गर्ने निकृष्ट कार्य गर्दै आएका यदाकदा देखिन्छन्।राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विवीध स्वार्थ र षडयन्त्रका कारण धर्मान्तरण गर्दै हाम्रा धर्म, संस्कृति तथा चाड पर्वहरूलाई हिलो छ्याप्ने गरेको पनि पाईन्छन्।

के दशैं मगर लगायत आदिवासीहरूको होईन ?

संसारभरका आदिवासीहरू प्रकृति पूजक नै हुन।यस बिषयमा कसैको दुई मत छैन।सबै धर्म संस्कृतिमा प्रकृती तत्वको महत्वपूर्ण स्थान रहेको देखिन्छ नै।नेपालका मगर लगायत आदिवासीहरू प्रकृती पूजक हुन।उनिहरूका संस्कार,रितिरीवाज तथा चलनहरू पूर्ण त: प्रकृती प्रदत्त छन्।नेपालकै ईतिहासमा सबै भन्दा लामो ईतिहास र विरासत बोकेको किराँतहरूको मूख्य देउता नै किराँतेश्वर महादेव हुनुहुन्छ।मुख्य चाड उधौली उभौली लगायत चाडवाडहरू पूर्ण रूपमा प्रकृती प्रदत्त नै छन्।नेपाली आदिवासी तथा जनजातीहरूमा सबै भन्दा बढी जनसँख्या र नेपाल एकीकरण अगाडीसम्म राज्य तथा शासनमा रहेको समुदाय मगर समुदाय हो।मगरहरूको संस्कार,रीतिरिवाज तथा चलनहरू पनि पूर्ण त: प्रकृती प्रदत्त नै छन्।नेवारहरूको जीवन्त संस्कृती त झनै प्रकृती प्रदत्त नै छन्।नेपाल एकीकरण अगाडीसम्म आफ्नै शासन सत्ता रहेको नेवारी समुदायका संस्कृती,रीतिरीवाज तथा चाडवाडहरू आज पनि पृथक र विशिष्ट शैलीका छन्।दशैंमा बजाईने मालश्री धुन नेवारी संस्कृतीकै उपज हो।गुरूङ,तामाङ,थारू लगायत नेपालका सय भन्दा पनि बढी जातजाती तथा आदिवासीहरूको संस्कार,रितिरीवाज तथा चलन चल्तीलाई हेर्दा र अध्ययन गर्दा प्रष्ट रूपमा प्रकृती प्रदत्त र प्रकृती पूजक नै पाईन्छन्।

अर्को दृष्टिकोणबाट हेर्दा र विश्लेषण गर्दा दशैं पर्व नारी शक्तिको पूजा,बन्दना र आरधनाको पर्व हो।स्वयं माता पार्वतीका नौ अवतारका आरधना हो।सबै स्वरूपका आआफ्नै धार्मिक आध्यात्मिक महत्व छन्।सबैको बारेमा उल्लेख गर्दा लामो हुन जानेछ। नेपाली आदिवासी जनजातीहरूको सामाजिक संस्कृती रीतिरीवाज र चलनचल्ती पनि मातृसतात्मक प्रधान छन्।यसर्थमा नेपाली आदिवासी जनजातीहरूको सामाजिक स्वभाव र दशैं चाडको प्रकृती एक आपसमा मेल खाने र समन्वयात्मक देखिन्छ।

एकातर्फ नेपाली आदिवासीहरूको संस्कार,रितिरीवाज तथा चलन-चल्तीहरू पूर्ण प्रकृती प्रदत्त छन्।अर्को तर्फ दशैं आफैमा प्रकृती पूजक चाड हो।शक्ति आरधनाको अर्थ नै प्रकृतीको पूजा आरधना गर्नु हो।दशैंको पूजाआजाका विधी,जमरा राख्ने प्रकृया तथा टिकाकै चलनलाई गहिरिएर अध्ययन विश्लेषण गर्दा पनि प्रकृती प्रधान नै देखिन्छन्।जति पनि नेपालका शक्तिपीठ तथा कोतहरू छन्,लगभग अधिकांशमा मगर,राई,लीम्वु,गुरूङ,थारू लगायत पुजारीहरू छन्।कतिपय काली पीठहरूमा पुरेत ब्राह्मणलाई प्रवेश अनुमति हुदैन।छिन्ताङ भगवतीका पुजारी राई छन्।गढी माईका पुजारी थारू छन्।मनकामना गोरखकालीका पुजारी मगर छन्।देउती बज्यैका पुजारी राजी छन्।शक्तिपीठका पुजारीहरूको उल्लेख गरियो भने निकै लामो हुन जानेछ।यस्ता थुप्रै जीवन्त प्रमाणहरू छन्।जसले नेपाली आदिवासी जनजातीहरूको मौलिक चाड दशैं हो भनेर प्रमाणित गर्छन्।नेपाली आदिवासीले अरूबाट सिके या लादियो भन्ने भन्दा पनि,यो नेपाली प्रकृती पूजक आदिवासीहरूको आफ्नै मौलिक चाड हो।स्मरण रहोस श्री ५ पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नु भन्दा सदियौं पहिलेदेखि नै दशैं मानिदै आएको हो। बरू यसमा सनातन बैदिक पद्धतीहरू मिसिन आयो भनेर बुझ्न आवश्यक छ। ब्राह्मणहरूको आगमनसंगसंगै स्थानिय प्राकृतिक सनातन पद्धतीमा केही न केही रूपमा बैदिक पद्धती मिसिन गयो भन्दा अतिशयोक्ति नहोला।

यसै प्रसङ्गमा दुई महान ब्यक्तित्वहरूको भनाई साझा गर्दा उपर्युक्त होला।

●तिब्बतियन बौद्ध धर्म गुरू पूजनीय श्री दलाई लामाज्यू। ( पाञ्चजन्य हिन्दी साप्ताहिक सन् १९९२ नोवेम्बर २२)

“म हिन्दू र बुध्दलाई दाजुभाई मान्छु।यि दुबै धर्ममा योग तन्त्रशास्त्र जस्ता कुराहरूमा समानता छन्।जुन बौद्ध धर्मले हिन्दू धर्मबाट लिएका हुन।”

● नेपाल आमाका महान सपूत पूजनीय स्व• डा• स्वामी प्रपन्नाचार्य (काले राई) ज्यू ।

“दुर्गा,चण्डी र सुम्निमा एउटै देवीको नाम हो।राईहरू महादेव र पार्वतीलाई पारूहाङ र सुम्निमाको रूपमा मान्छन्।लिम्बुहरू धावासाम र युमासामको रूपमा महादेव र पार्वतीलाई ईष्ट-देवदेवीको रूपमा मान्छन्।”

नेपाली आदिवासीहरू प्रकृती पूजक तथा शक्तिपीठहरूका पुजारी मात्र होइनन्।धर्ती पुत्र र शासक पनि हुन।काराँतहरूको त लामै शासन सत्ता सम्हालेको गौरवशाली इतिहास छदै छ। मगर,नेवार र गुरूङका पनि नेपाल एकीकरण अगाडीसम्म आआफ्ना शासन सत्ता थिथो।यसर्थ कर्मका हिसाबले क्षेत्रीय हुन।”स्मरण रहोस क्षेत्री र क्षेत्रीयमा फरक छ”।तसर्थ नवरात्र आरधना गर्दै शक्तिपीठहरूमा हातहतियारको पूजाआजा गर्ने संस्कृतीको स्थापना भएको थियो।हातहतियार सफा दुरूस्त राख्ने र अभ्यास गर्ने चलन थियो।अवशेषको रूपमा अझै पनि कतै कतै कोतहरूमा छेलो फाल्ने चलन रहि आएको छ।

यसर्थ दशैं चाड नेपाली मगर लगायत आदिवासी जनजातीहरूको आफ्नै मौलिक चाड हो।यो अरू कसैको या कसैले लादेको चाड पटक्कै होईन।नेपाली सनातन संस्कृती मास्न उद्दतहरूको प्रायोजित बहुलट्ठी कुरा नसुनौ।बडो गर्वका साथ हजारौं हजार बर्षदेखि पुर्खाले मनाउदै आएको आफ्नो मौलिक चाड दशै धुमधामले मनाऔं।

दशैं टिकाको बिबाद;

दशैंमा दशमीका दिन टिका लगाउने चलन नेपालमा मात्र छ।पहिला पहिला रङको आविष्कार भएको थिएन।रङ नपाईदा सबै जातजाती समुदायले दही र अक्षताकै टिका लगाउने गर्थे।बुढापाकालाई सोधे स्पष्ट हुन्छ; पहिले क्षेत्री बाहुन मगर सबैले सेतै टिका लगाउने हो।बरू कुल देवता,पितृ देवता तथा शक्तिपीठहरूमा पूजाआजा गर्दा मगर लगायत धेरै जसो आदिवासी जनजाती समूदायले रगतमा अक्षता मुछेर रातो टिका लगाउने चलन छ।कसै कसैले रगतको मात्र पनि टिका लगाउने गर्छन्।तर दुखद कुरा आज बिदेशीको हण्डी खाएर आफ्नै आँगन खन्दै र नाँच्दै गर्नेहरूले रातो टिका यो जातीको सेतो टिका उ जातीको भनेर अनर्गल प्रचार गरेको देख्दा र सुन्दा दुख लाग्छ।

दशैं टिकाको बिबादलाई केही अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाका बहकाउमा बहकिनेहरूले आर्य अनार्य जस्ता कुराहरूमा अल्झ्याउने कुतर्क गरेको पाईन्छ। आर्य शब्दको सन्दर्भमा बिभिन्नखाले मत छन्।सामान्य त: आर्य ब्रतका निवासी आर्य भनेर भनिन्छ। महान पूजनीय योगी स्व• नरहरीनाथज्यूको भनाई पनि यही थियो। स्व• पूजनीय स्वामी प्रपन्नाचार्य पनि यही भन्नु हुन्थ्यो।भगवान श्री राम आर्यले रावण अनार्यलाई मारेको उत्सव भएकोले दशैं बहिष्कार गर्नु पर्छ पनि भनियो।तर रावण स्वयं पुलत्स्य ॠषिका नाती थिए। अर्को शब्दमा उनी ब्राह्मणका नाती थिए।यस्ता कपोकल्पित र आधारहीन कुतर्क गर्नुका पछाडी कुनै तुक छैन।जीवनका केही समय दशैं बहिष्कारको अभियानै चलाएका प्रख्यात मगर जनजाती नेता आदरणीय स्व• गोरे बहादुर खपाङ्गी मगरज्यूले पछिल्लो दिनमा दशैंको टिका लगाएर सबै प्रश्नको उत्तर दिनु भए झैं लाग्छ।

टिका आफैमा पूजापाठ,धर्म-कर्म या आशिर्वाद दिने लिने माध्याय या चलन मात्र होईन। यो एक प्रकारको विशिष्ट संस्कृति र तात्विक रूपमा थेरापी पनि हो।बाहुनहरूले नेपाली आदिवासी जनजातीहरूलाई थोपरेको या लादेको भए,भारतमा नेपाल भन्दा कैयौं गुणा बाहुनहरूको सँख्या छ।खोई त भारतीय बाहुनहरूले दशैंमा टिका लागाएको ? कतै देखिदैन त ! तसर्थ आआफ्नो संस्कार,रितिरीवाज र प्रचलन बमोजिम टिका लगाउन सकिन्छ र मिल्छ।दही र अक्षताको सेतो लगाउन चाहनेले सेतै लगाऔं।रातो रङ मिसाएर रातो लगाउन चाहनेले रातै लगाऔं।अनावश्यक षडयन्त्र मूलक ढङ्गले उठाईएका प्रायोजित बिबादमा नफसौं।सगौरव दशैं मनाऔं।

बडा दशैंको हार्दिक मँगलमय शुभकामना!

प्रतिक्रिया