इजरायलले हेजबुल्लाहका सञ्चार नेता मारेको दाबी ,इरानले इजरायललाई “आवश्यक भएमा” फेरि आक्रमण गर्ने चेतावनी

इनेप्लिज २०८१ असोज १८ गते ११:०४ मा प्रकाशित

इजरायलले हवाई आक्रमणमा हिजबुल्लाहका सञ्चार नेता मारेको दाबी गरेको छ । इजरायलको सेनाले स्थानीय समय अनुसार बिहीबार दिउँसो दक्षिणी बेरुतमा भएको आक्रमणमा हेजबुल्लाहको सञ्चार इकाईका प्रमुख मारिएको जनाएको छ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) अर्थात् इजरायल रक्षा बलका अरबी प्रवक्ता, अविचाय अद्राईका अनुसार मोहम्मद रशिद स्काफीले सन् २००० देखि समूहको सञ्चारको नेतृत्व गर्दै आएका थिए।

हेजबुल्लाहले बेरुतको दक्षिणी उपनगरहरूमा बिहीबारको इजरायली हमलापछि हताहतको बारेमा कुनै घोषणा गरेको छैन।

हेजबुल्लाह नेता हसन नसरल्लाहको हत्या भएको एक सातापछि इरानी विदेशमन्त्री अब्बास अराघची शुक्रबार सरकारी अधिकारीहरूसँग भेटघाट गर्न लेबनानको राजधानी बेरुत गएका छन् ।

अराघचीले लेबनानका कार्यवाहक प्रधानमन्त्री नजिब मिकातीलाई भेटे र लेबनानप्रति इरानको प्रतिबद्धता र “इजरायली आक्रमणको सामनामा आफ्नो समर्थन” व्यक्त गरेको इरानी विदेश मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ ।

यता, इरानका सर्वोच्च नेताले इजरायलमाथिको आक्रमणलाई ‘न्यूनतम सजाय’ को संज्ञा दिएका छन् । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले मंगलबार इजरायलमाथि गरेको इरानी हमलालाई ‘न्यूनतम सजाय’ दिएको बताएका छन्।

इरानले इजरायललाई “आवश्यक भएमा” फेरि आक्रमण गर्नेछ, उनले शुक्रबार तेहरानमा आयोजित एक भेलामा भनेका हुन् । “हाम्रो सशस्त्र बलको शानदार कारबाही पूर्णतया कानूनी र वैध थियो,” खामेनीले भने।

खामेनीले आफ्नो भाषणको ठूलो हिस्सा हेजबुल्लाह र हसन नसरल्लाहलाई समर्पित गरे, जसलाई गत शुक्रबार बेरुतमा इजरायलले हत्या गरेको थियो।

उनले इजरायलमा हमासको अक्टोबर ७ मा भएको आक्रमणको पनि प्रशंसा गरे र यसलाई “वैधानिक” भने ।

उनको प्रवचनको दोस्रो भाग लेबनानी र प्यालेस्टिनी दर्शकहरूलाई अपील गर्न अरबी भाषामा पठाइएको उनले भने। “इजरायलले हमास र हेजबुल्लाहलाई कहिल्यै हराउने छैन,” खामेनीले भने।

प्रतिक्रिया