ट्रम्पको फ्लोरिडा स्थित मारा लागोमा पर्खाल नाघ्ने प्रयास! युवकले भने– “सुसमाचार सुनाएर ट्रम्पकी नातिनीसँग विवाह गर्न चाहन्थेँ”

इनेप्लिज २०८२ जेठ २२ गते १:३० मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित मारा लागो विश्रामस्थल भवनमा पर्खाल नाघेर प्रवेश गर्न खोज्ने एक व्यक्तिलाई मंगलबार बिहान गोप्य सुरक्षा सेवाले नियन्त्रणमा लिएको छ। पक्राउ परेका व्यक्तिको नाम २३ बर्षिय एन्थोनी थोमस रेयेस रहेको प्रहरी प्रतिवेदनमा उल्लेख गरिएको छ।

पाम बिच प्रहरी विभागका अनुसार रेयेसले रिसोर्टमा अवैध रूपमा प्रवेश गर्ने प्रयास गरेका थिए। प्रहरी अनुसन्धानमा उनले ट्रम्पलाई “सुसमाचार (गस्पेल) सुनाउन र उनकी किशोरी नातिनी, कायसँग विवाह गर्न चाहेको बताएका थिए।

यो पहिलो पटक भने होइन। रेयेसलाई यसअघि नयाँ वर्षको समयमा पनि मारा लागो परिसरमा अवैध रूपमा प्रवेश गर्न खोजेको अभियोगमा पक्राउ गरिएको थियो।

पाम बिच शेरिफ कार्यालयको विवरण अनुसार उनलाई मंगलबार बिहान फेरि पक्राउ गरिएको हो। प्रहरी प्रतिवेदन अनुसार उनले धार्मिक उद्देश्यले ट्रम्पसँग भेट गर्न र उनको नातिनीलाई विवाह प्रस्ताव दिन चाहेको बताएका छन्।

यस घटनाले ट्रम्पको सुरक्षाको विषय फेरि एकपटक चर्चामा ल्याएको छ। प्रहरी अधिकारीहरूले अनुसन्धान जारी राखेको जनाएका छन्।

प्रतिक्रिया