–लालबहादुर ढेंगा, दुबई, युएई
दुबई । यहि आउने ११ अगष्ट आईतबारका दिन दुबईस्थित याक एण्ड यति क्लब एभरेष्टको बिशाल हलमा ३०औं अन्तर्राष्ट्रिय बिश्व आदिवासी जनजाति दिवस विभिन्न जातिय खानपान, भेष भूसाहरुको प्रदर्शन र मौलिक संस्कृति झल्काउने खालका नाचगानसंगै भव्य रुपमा मनाउने भएका छन् । विगतमा जस्तै यसपालि पनि ११ वटा जातिय संस्थाहरुको प्रतिनिधित्व गरेको संस्था नेपाल आदिवासी जनजाति महासंघ युएईद्धारा आयोजना गरिने भएको हो ।
हाम्रो देश नेपाल युगौयुगदेखि स्वतन्त्र राष्ट्र रहेको छ भने विभिन्न जातिय समुहबिच एक आपसमा मिलिजुली रहदै आएका छन् । बि.स २०४६ सालको राजनीतिक परिवर्तनपछि पहिचानको मुद्दा स्थान दिदै आएको छ । सन् २००७ मा स्थापना भएको नेपाल आदिवासी जनजाति महासंघ युएईले “संविधान प्रदत्त अधिकार आदिवासीहरुको बिशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर । प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागु गर ।” भन्ने मूल नाराका साथ जातिय संस्थाहरुसंग सहकार्य गर्दै आएको पाईन्छ । हालसम्म महासंघ युएईमा ११ वटा जातिय संस्थाहरु आवद्ध रहेता पनि छिट्टै कोच राजवंशी समाज युएई थपिने क्रममा रहेको जानकारीमा आएको छ ।
कार्यक्रमको मुख्य आकर्षण जातिय सांस्कृतिक झांकी प्रदर्शन, जातिय विभिन्न खानपानका परिकारहरुको स्टल, जातिय भेष भूसाहरुको स्टल, स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुतिसंगै मिस्टर एण्ड मिस इन्डिजिनियस प्रतियोगिता समेत हुने भएको छ । प्रतियोगितामा भने १० वटा संस्थाहरुको मात्र सहभागिता रहने छन् । जसमध्य हरेक संस्थाबाट एकजना मिस्टर र एकजना मिस गरि जम्मा २० जनाले भाग लिने भएको छ । जातिय संस्थाहरुको कार्यक्रम भएको हुनाले सांगीतिक रमझम मात्र नभएर विभिन्न रोचक प्रस्तुतिहरु पनि देख्न सकिने छ ।
कार्यक्रमको मिति नजिकिदै जांदा आयोजक टिम तयारीमा लागिपरेको देखिन्छ । खासगरी कार्यक्रममा सामिल हुने अतिथि तथा दर्शकहरुले विभिन्न जातिय सांगीतिक मंनोरञ्जनका साथ जातिय विभिन्न परिकारका स्वाद पनि लिन सकिन्छ । कार्यक्रमलाई अझै शोभा बढाउनका लागि नेपाली राजदूतावास अबुधावीबाट महामहिम राजदूत तेजबहादुर क्षेत्रीको प्रमुख आतिथ्यता रहने नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष बिक्रम लिम्बुले जानकारी दिनु भएको छ । युएईस्थित कार्यरत सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुलाई यसै समाचारलाई आधार मानेर उपस्थितिका लागि निमन्त्रणा समेत गरेका छन् ।
प्रतिक्रिया