राष्ट्रवादी साहित्यकार जनकप्रसाद हुँमागाई

सुरेन उप्रेती पाँचथर हाल क्यानडा २०८१ असार १२ गते ९:४९ मा प्रकाशित

जीवनी

यो पृथ्वीमा हरेक दिन लगभग तीनलाख पचास हजार वालवालिकाहरू जन्मन्छन् । त्यस्तै गरी लगभग तीनलाख छयालिसहजार मानिसहरूको मृत्यु हुन्छ । कती मानिसहरूको मृत्यु भएको कुरा उनीहरुका परिवार र केही छिमेकीहरूलाईमात्र थाहा हुन्छ । कती ठाउँमा त छरछिमेकीलाई पनि थाहा हुँदैन । तर हाम्रो समाजमा त्यस्ता मानिसहरूपनि जन्मन्छन् । जसको मृत्यु गाउँ समाजमा मात्र हैन देश विदेश र सन्सारलाई नै थाहा हुन्छ । उनीहरु मरेरपनि लाखौँ मानिसहरूका मनमा बसेका हुन्छन् । त्यसैले त्यस्ता सबैको मनमा बस्न सफल मान्छेहरूलाई अमर मानिस भन्दछन । मानिस अमर हुनका लागि राम्रा राम्रा काम गरेका हुन्छन् । समाजलाई बिकाश गर्न र परिवर्तन गर्न राम्रा सोच र विचारहरू ल्याएका हुन्छन् ।

त्यस्तै एक अमर व्यक्तीको नाम हो जनक प्रसाद हुँमागाईँ । जनक हुँमागाई काठमाण्डुको नजिकै रहेको काभ्रेपलाम्चोक जिल्लाको बलथली गाउँमा जन्मिएका थिए । बिक्रम सम्बत १९९४को अशोज महिनामा पिता दुर्गाप्रसाद र माता पार्वतादेवीबाट जनकप्रसादको जन्म भएको थियो । उनी जन्मनु भन्दा पहिला दुईबर्षको उमेर नपुग्दै उनका दाजुको मृत्य भएको थियो । जनकलाई कसरी बचाउने होला भन्ने बुबाआमालाई चिन्ता पर्यो । बालकलाई अरु कसैंलाई बेची दियो भने बालक बाँच्दछ भन्ने कुरा छिमेकीहरूले सल्लाह दिए । सबैको सल्लाह अनुसार जनकलाई दुई पैसा लिएर छिमेकी महिलालाई बेची दिए । छिमेकी महिलाले दुई बर्षसम्म जनकलाई हुर्काइन । दुई बर्ष पछी बुबा दुर्गाप्रादले छिमेकी महिलालाई दुई पैसा फिर्ता दिएर छोरालाई घर ल्याए ।

पहिलो छोराको वियोगमा रहेका बुबाआमाको अगाधमायामा जनक हुर्किए । गाउँका केटाकेटीहरूसँग डण्डिवियो ,कपर्दी र भेडीगाँठो खेल्दै बढे । जनककी आमा पार्वतादेवीले पढ्न लेख्न जानेको थिएन । तर उनका बुबा दुर्गाप्रसाद हुँमागाईँ भने हिन्दू धार्मिक पुस्तकहरूका ज्ञाता थिए । त्यसबेला गाँउमा पढ्नका लागि स्कुलहरू थिएनन् । जनकले उनका बुबासँग घरमै अक्षर चिने । बुबाबाट गीता, रूद्री, चण्डी, रामायण, महाभारत जस्ता धार्मीक पुस्तकहरु पढ्न सिके । सामान्य हिसाबहरु गर्न पनि जाने । बुबाबाट पढ्न र लेख्न सिकेपछी उनले गाउँउलेहरूलाई पनि लेखपढ गर्न सिकाए ।

बिसं २००८ सालमा बुबा दुर्गाप्रसाद हुमागाँइले छोरा जनकलाई नेपाली भाषा पढाउन काठमाण्डौको सोह्रखुट्टेको स्कुलमा भर्ना गरी दिए । तर त्यस विधालयको पढाई उनलाई चित्त बुझेन । त्यसपछी काठमाण्डौको झोँछेमा मास्टर मोहनराज बज्राचार्यसँग पढन शुरू गरे । उनले बिसं २०१२ सम्म पढे र सरकारी सेवामा प्रवेश गर्नका लागि इन्टरमिडियट पब्लिक सर्भिस परिक्षाको पूरा गरे । उनले त्रिपुरेश्वरमा रहेको घरेलु उधोगको तालिम लिने बिचार गरे । तर उनले त्यसमा भर्ना हुन पाएनन् । पढन नपाए पछी दिक्क भएका जनक काकासँग कलकत्ता गए । कलकत्तामा पुगे पछी रोय नाम गरेको व्यक्तीसँग भेट भयो । रोय अँग्रेजीमूलको मानिस भए पनि दार्जेलिङमा बसेको हुनाले सामान्य नेपाली बोल्न जान्दथ्यो । रोयको गाडी बनाउने ग्यारेज थियो । जनकले त्यही ग्यारेजमा काम गर्न शुरू गरे । बिहानबेलुकाको समयमा रोयसँग नै अंग्रेजीभाषा सिक्न शुरू गरे । जनकले कलकत्तामा बस्दा अंग्रेजीभाषासँगै बंगालीभाषा पनि सिक्न थाले ।

कलकत्ता बसेको एक बर्ष भएको थियो । जनकलाई उनका बुबा दुर्गाप्रसादले लेखेको चिठ्ठी प्राप्त भयो । आफ्नो भाषा संस्कृति र मातृभूमिको मायाले भरिएको चिठ्ठीले जनकको मन फर्कियो । उनलाई एकपल पनि कलकत्ता बस्न मनलागेन । उनी बहिनीको बिवाह रहेछ जानु पर्छ भन्ने बहाना बनाएर नेपाल फर्किए । काठमाण्डौ आएर पुन झोँछेमा पढ्न शुरू गरे । उनले दुई बर्षमा पब्लिक सर्भिस इन्टरमिडियट लेभलको पढाई प्रथम श्रैणमीमा उतिर्ण गरे । उनलाई भाषा र ब्याकरण पढ्ने उत्शुकता जाग्यो । उनी त्रिभुवन प्रौढ शिक्षा निकेतनमा भर्ना भएर पढ्न थाले । तर उनलाई त्यहाँको पढाई राम्रो लागेन । उनी गोपाल पाण्डे द्वारा संचालित नेपाल शिक्षा परिषदमा भर्ना भए । त्यहाँको पढाईबाट पनि सन्तुष्ट हुन सकेनन् । मात्र छ महिना पढेर नेपाल शिक्षा परिषदबाट पनि निस्किएर स्वअध्ययनमा लागे ।

स्वअध्ययनबाट नै उनले बिसं २०२०मा राष्ट्रिय बिधापिठ परिक्षा उतिरण गरे । त्यस्तै २०२३मा नेपाली साहित्यमा डिप्लोमा उतिर्ण गरे । जनकप्रसाद हुमागाँईको वाल्यकाल र सैसवकाल पनि बिभिन्न उतारचढावमा बित्यो । पारिवारिको आर्थिक अवस्था सम्पन्न नभएकै कारणले उनले चाहेको शिक्षा आर्जन गर्न पाएनन् । उनलाई इन्जिनियरिङ पढ्ने तिब्र इच्छा थियो । उनलाई अंग्रेजी साहित्य अध्ययन गर्ने रहर थियो ।तर उनका ती सपनाहरु अधुरै रहे । उनले वाल्यकाल देखिनै बिभिन्नकाम गरेर आयआर्जनमा लाग्नु पर्यो ।

तेतीबेला बालबिवाह गर्ने चलन थियो । तेह्र बर्षका जनकप्रसाद हुमागाईले भक्तपुरका जगन्नाथ र बालकुमारी दाहालकी दसबर्षिया छोरी शोभा देवी दाहालसँग २००७सालमा विवाह गरे । झण्डै एघार बर्षसम्म शोभादेवी माइतमा नै बसिन् । उनी २०१८सालमा श्रीमतीलाई लिन शशुराल गए । त्यो मलवासको बेला थियो । मलबासमा श्रीमान् श्रीमती भेटगर्नु हुन्न भन्ने चलन थियो । तर जनकप्रसाद त्यस्ता अबैज्ञानिक कुराहरूलाई मान्दैन थिए । उनी पुराना धार्मिक र साँस्कृतिक कुराहरूमा बैज्ञानिक तरिकाले हेर्नु पर्छ भन्ने प्रगतिशील सोच राख्दथे । शोभादवी र जनकप्रसाद हुमागाईबाट पाँच छोराहरूको जन्म भयो ।

बिसं २०१४ सालमा सरकारी कार्यालयको कार्यलय सहायक भएर तल्लोतहको कर्मचारीभएर जागीर सुरू गरे । २०१७सालमा मालपोत कार्यालयमा बैदारको जागीर पाए । बिसं २०२१ सालमा भूमिसुधार लागु भएपछी बढुवा भएर नायब सुव्वा भए । भूमिसुधार कार्यालयमा जागिरे भएर २०४९ सम्म बत्तिस बर्ष सरकारी सेवा गरे । सरकारी सेवाका तलबले मात्र घरपरिवार चलाउँन मुस्किल थियो । जागिरका साथसाथ प्रुफरिडरको काम गरे ।साँझमा सन्चालन भएका स्कुलमा शिक्षक भएर काम गरे । पढाउनुका साथसाथ साँझ बिहान आधुनिक तरिकाको खेती गर्ने गर्दथे ।



जनकप्रसाद हुमागाँई एक राष्ट्रबादी र देशभक्त व्यक्ती थिए । उनी सबैमानिसले आत्मसम्मान पूर्वक बाँच्न पाउनु पर्दछ भन्दथे । उनले जीवनभरी नै सामान्य दौरासुरूवाल, सुतीकपडाको कोट र नेपाली टोपी जस्ता राष्ट्रिय पोशाक लगाए । उनी सबै प्रकारका सामाजीक धार्मिक साँस्कृतिक रूढीबादी अन्धविश्वासहरूलाई हटाउनु पर्छ भन्दथे । उनले मानिसमानिसहरूका विचमा हुँने भेदभाव छुवाछुत जस्ता बिकृतिहरू हटाउनु पर्छ भनेर अभियान नै शुरू गरेका थिए । उनले तेह्रबर्षको उमेरमा नै ग्रामनिती सुधार केन्द्र भन्ने संस्थाको स्थापना गरे ।

सामाज सुधारका बिभिन्न योजनाहरू बनाउँथे । तीर्थबहादुर खड्का र चन्द्रबहादु खड्काहरुसँग मिलेर जनचेतनाका गीतहरू गाउँथे । सरकारी जागिरे भए पनि सरकारका गलत नीति र कामको आलोचना गर्दथे । उनले जनहित संघ नामक संस्थाको स्थापना गरेका थिए । त्यस संस्थाले सरकारले गरेका नेपालभारत बिचका असमान सन्धीहरु कोशी र गण्डक सन्धीका बिरूद्धमा आवाज उठाएका थिए । उनले जनताहरूलाई सही सूचना निडरता पूर्वक दिनेकाम गरेका थिए । उनले बिसं २०१५मा आफु जन्मिएको ठाउँ बालथलीमा लँकेश्वर माध्यमिक बिधालयको स्थापना गरेका थिए । सो बिधालयको स्थापनासँगै लङकेश्वर पुस्तकालयको स्थापना पनि गरेर । उनी त्यसको अध्यक्ष भएर काम गरे । उनले २०१९ सालमा बसन्तवाचनालय नामक अध्ययन केन्द्रको पनि स्थापना गरे । जसले गाउँलेहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रपत्रिका र पुस्तकहरूको अध्ययन गर्ने व्यवस्था मिलाउँदथ्यो । गाउँका विकाश निर्माणमा खानेपानी ,पुल ,सडक ,कुलो आदि निर्माण गराउँन पहल गरे । सामाजको विकाश भएमात्र राष्ट्रको विकाश हुनसक्छ भन्ने कुरा उनलाई विश्वास थियो । जातिय भेदभाव हटाउन र समाजले दलित ठहर्याएका मानिसहरूको उत्थानका लागि बिभिन्न संघ सँस्थाहरूसँग मिलेर काम गरेका थिए । “जातिय भेदभाव, लैङ्गिक भेदभाव, धार्मिक भेदभाव जस्ता विकृतिहरू समाजका क्यान्सर हुन । यी सबैको जरा नकाटिए सम्म समाजमा एकता ,सत्भाव र विकाश सम्भव छैन” जनकप्रसाद भन्दथे ।



बालबालिकाहरुलाई राम्रो ज्ञान दिनसके देखि नेपालको भविष्य सुन्दर हुने थियो भन्ने सोच उनमा आयो । त्यस पछी निरन्तररूपमा बालसाहित्य सृजना गर्न शुरू गरे । उनले बालसाहित्यका बिविध विधामा कलम चलाएका छन् । नाटक, गीती नाटक, कविता, कथा, निबन्ध, यात्रा साहित्य, लेख आदि गध र पध दुबै बिधामा कलम चलाएका छन् । उनले वाल्यकाल देखि नै साहित्य सृजना शुरू गरेका थिए । किसानको गीतलाई २०१६ सालमा लेखेका थिए । त्यस्तै एउटा नारा लगउनु छ अब २०१६, नेपाल आमाको सत्यवचन काव्य २०१७, पसिना कविता संग्रह २०१९, दुःखी गरीबको सवाई गीत संग्रह२०२१, गोरेघर्तिको सवाई खण्डकाव्य २०३२, बाआमाको माया २०४३, गुनिला पाँच बालकथा कथा संग्रह २०४१, सातसालको परिवर्तन र हाम्रो भविष्य, गोकुलकी आमा कसरी निको भइन् ? , एउटा ईन्जिनियरको तालिमे भाषा , मालतीको यात्रा वर्णन,भाइबहिनीका कथा, नेपाली बालसाहित्य लेखहरूको सँगालो ,चम्पा र मायालु काका बालकथा संग्रह ,भाषा र भाषा विकाश निबन्ध संग्रह, शब्द ज्ञान निबन्ध संग्रह ,लहरे पिपलको कथा, नानी पढ्छ , असल मित्र, शब्द ज्ञान ,दिदीभाईको माया बालकथा संग्रह २०४७, गल्ती पत्ता लगाउने नाति ,मनवता र मुक्तीका कवि गोकुल जोशी जीवनी, सगुन र सडक, मुरली वंशी, आमाकोमाया बालकथा संग्रह लहरे पिपलको कथा, नानीको प्रगति, खेतवारीको गीत बिकृतिका ढोका आदि । उनका धेरै कृतिहरूले प्रकाशन हुन पाएका छैनन् ।

उनले साहित्यकार शान्तदास मानन्धरसँग मिलेर बाल साहित्यिक पत्रिका बालपोष सचित्र रंगीन प्रत्रिका २०३६ प्रकाशनको शुरू गरे । त्यस्तै श्रृँखला माशिक २०३५ देखि २०४३ सम्म रारा अर्धबार्षिक २०३३- ३४ प्रलेश त्रैमाशिक २०५३ -५५, संस्कृति द्धैमासिक २०५३ अरनिको अर्धवार्षिक २०३४ -३६ ,जुगल हिमाल २०२४, नेरावि र बिभिन्न पत्र पत्रिकाहरूमा कथा कविता निबन्धहरू सम्पादन गरी प्रकाशन गरे ।

उनले नेपाली साहित्यमा पुर्याएको योगदानलाई उच्च सम्मान गर्दै बिभिन्न सँघ संस्थानहरूले पुरस्कार र पदकहरुले जनक हुमागाँईलाई सम्मानित गरेका छन् । जिल्लाव्यापी कवि सम्मेलन २०१९मा दोश्रो पुरस्कारले सम्मानित भए । धादिङ जिल्लाले आयोजना गरेको साहित्यक सम्मेलन २०२३ मा कवितामा प्रथम भए । उत्कर्ष्ट बाल साहित्य पुरस्कार२०४१ ले सम्मानित भए । २०४६ सालमा शिक्षा मन्त्री द्धारा रू दशहजार नगद सहित नेपाल सरकारका शिक्षा मन्त्री द्वारा सम्मानित भए ।

सुरेन उप्रेती

प्रतिक्रिया