प्रतिरूप : सामाजिक तथा यथार्थपरक धरातलमा आधारित उपन्यास

-लक्ष्मी राज जोशी लोचन कालुखेती, छान्ना, बझाङ २०८२ जेठ १४ गते १०:१३ मा प्रकाशित

‘कस्तो रहेछ छोरीको जुनी, अरूको छोरा आफ्नो हुनी’ पृष्ठ १३७ मा उल्लेख वाक्यांशले उपन्यास पढ्दै गर्दा नेपाली जनजीवनको यथार्थ भोगाइलाई लेखकले भावुकता, डर, उत्सुकता र जिज्ञासाको भवानाले भरिपूर्ण शब्दभावको प्रयोगमार्फत बडो रोचक अनि सुन्दर ढङ्गले प्रस्तुत गरको उपन्यास ‘प्रतिरूप’ पढ्ने मौका पाएकामा मैले आफूलाई भाग्यमानी ठानेको छु।

नेपाल सरकारको शिक्षा अधिकृतदेखि शिक्षा सचिव लगायत अन्य चार मन्त्रालय र विभिन्न आयोग तथा निकायहरूको सचिव पदसम्म सम्हालेका लेखक खगराज बराल चिरपरिचित व्यक्ति हुन। मुख्यरूपमा प्रशासनविद्, शिक्षाविद् र साहित्यिक व्यक्तित्व रहेका बरालका नेपाली साहित्य तथा शिक्षाको विविध विधामा दुई दर्जन जति पुस्तक र सयौं लेख प्रकाशित भएका छन् । यस उपन्यासले समाजमा रहेका यथार्थवादी विषयवस्तुलाई मनोवैज्ञानिक गहिराइसँग प्रस्तुत गरेको छ। प्रतिरूप उपन्यासको पात्र नवीनको मनोवैज्ञानिक सङ्घर्ष र आत्मअन्वेषणमा केन्द्रित छ।

लेखक बरालको पहिलो उपन्यास ‘स्यानी’ को सफलतापछि दोस्रो उपन्यास “प्रतिरूप” पाठक माझ आएको छ ।उपन्यास “प्रतिरूप” एघार भागमा लेखिएको छ । जम्मा २३८ पृष्ठको उपन्यास “प्रतिरूप” साङ्ग्रिला बुक्सले प्रकाशन गरेको छ । प्रतिरूप पढिसकेपछि मलाई उपन्यास मध्यम वर्गका मानिसको जीवनमा आधारित तथा आख्यानको प्रस्तुतिका हिसाबले उत्कृष्ट किसिमको रहेको महसुस भयो। लेखकको सरल तर चातुर्‍याइपूर्ण लेखनका कारण उपन्यासको ओझ र आकर्षण अझै बढेको पाएँ ।

लेखकले परिस्थिति र परिवेश अनुसारको फरक फरक जीवनका भोगाइहरूलाई उपन्यासमा ११ खण्डमा विभाजित गरी चित्रण गरेका छन् । उपन्यासको कथा पढिरहँदा आँखा झिमिक्क नगरी एकै पटक पूरा गर्ने मन हुँदाहुँदै पनि समय, वातावरण र व्यस्तताकारणले मलाई पढ्न झण्डै एक हप्ता लाग्यो।

जन्म दिने बाबु र कर्म दिने बाबुको बारेमा उपन्यासमा विषयवस्तु उल्लेख गर्दै भारतको खासी जातिमा रहेको महिला प्रधान (मातृसत्ता) सामाजिक मान्यतामा हुर्केका नवीनको आमामा त्यस्तो गुण भएकाले नै नवीनको शिक्षाका लागि बाबुलाई रिझाउँदै सिङ्‍गै समाजसँग लडेर भए पनि नवीनको उच्च शिक्षा हासिल गर्न पुर्‍याएको योगदानलाई बडो आकर्षक शैलीमा प्रस्तुत गरेका लेखकले शिक्षाको महत्त्व र शिक्षाप्रतिको चतेनाले मानिसको सर्वाङ्‍गीण विकासमा पुर्‍याउने भूमिकालाई सरल भाषामा लेखेका छन्।

मानिसले जन्मेदेखि नै समाजमा भोग्नुपर्ने हरेक पल, चुनौतीलाई नवीनको माध्यमबाट प्रस्तुत गरिएको यो उपन्यासमा सामान्य विषयवस्तुमा आधारित भएतापनि उपन्यास रोचकता र कौतुहूलताले भरिपूर्ण रहेको छ। हेडसर र नरेशसरको शिक्षाप्रतिको अमूल्य भूमिकालाई मिहिन ढङ्‍गबाट उपन्यासमा चर्चा गरिएको छ। नवीनको सहकर्मी परमानन्दको माध्यमबाट तराईको भौगोलिक परिवेश, सामाजिक, सांस्कृतिक अवस्था, मानवीय तथा सांस्कृतिक मूल्य र मान्यतालाई परिष्कृत रूपमा तर सरल भाषामा पस्किएको छ ।मधेशमा रोजगारीमा जाने कर्मचारी र मधेशी नागरिकले गरेको सङ्घर्ष साथै तराईको शिक्षा, स्वास्थ, पूर्वाधार संरचनाको सन्दर्भ राख्दै पहाड र तराईको तुलना गर्दै पहाडमा हुने राजनीतिक व्यक्तित्वको प्रभाव र कर्मचारीले भोग्नुपर्ने सांस्कृतिक कठिनाइ जस्ता वास्तविक जीवनमा घटेको घटनाहरुको सन्देश उपन्यासमा पाइन्छ।

कालीको नवीनप्रतिको स्नेहभाव र कालीकी छोरी अस्मिताको नवीनप्रतिको सद्भाव र शालिन प्रेमलाई यति अनुपम ढङ्‍गबाट प्रस्तुत गरिएको छ कि पाठकले कथामा आउने नयाँ मोड र अन्त्यको अड्कल काट्नै सक्दैन । उपन्यासको वास्तविक कथा थाहा पाउन पाठकले उपन्यास पढ्नै पर्छ ।

मेघालयको कोइलाखानीमा भएको दुर्घटनामा श्रीमान्‍को मृत्युपश्चात कालीको जीवनमा छाएको कालो बादल एकल महिलाको पीडा र अपहेलनालाई उपन्यासमा मिहिन रूपमा उजागर गरिएको छ ।एकल महिलाले समाजमा भोग्ने अनेकौ चुनौती तथा आफूमा शिक्षाको कमीले गर्दा छोरी अस्मितालाई शिक्षा प्रदान गर्न गरेको सङ्‍घर्षले जोड्दै र भत्किदै अघि बढिरहेको कालीको जीवनको भोगाइले पाठकलाई भावुक बनाउँछ ।

हुन त कसको पो जीवनमा ठूलो प्लट हुन्छ र मान्छे बाँच्ने पलपलका साना साना घटनामै हो ।तिनै घटनाले समग्रमा व्यक्तिलाई बनाइरहेका र भत्काइरहेका हुन्छन् जसको अभिलेख राख्न सम्भव हुँदैन ।

ससाना घटनाहरूलाई सरल भाषाको प्रयोग गरिएको र घटनाभित्र लुकेका सन्देशलाई प्रवाह गरिएको “प्रतिरूप” साहित्य प्रेमीहरूका लागि पढ्नैपर्ने पुस्तकको सूचिमा राख्न अनुरोध गर्दै लेखकलाई हार्दिक बधाई तथा धन्यवाद भन्दै अगामी दिनमा पनि यस्तै उत्कृष्ट लेखको अपेक्षासहित नमन।

कृति – “प्रतिरूप”
विधा – उपन्यास
लेखक – खगराज बराल
प्रकाशक – साङ्ग्रिला बुक्स
संस्करण – पहिलो
पृष्ठ – २३८
मूल्य – ४९५

प्रतिक्रिया