अङ्ग्रेजी २५ मई, सन् २०२५ को दिन तेजपुरको सक्रिय साहित्यिक संस्था पुष्पलाल स्मृति अध्ययन गोष्ठी, तेजपुर, असमको आयोजनामा गोर्खा डेभेलोप्मेन्ट काउन्सिल भवन, नेपालीपट्टि, तेजपुर प्राङ्गणमा सम्पन्न भएको एक भव्य समारोहमा वरिष्ठ साहित्यकार मोहन सुवेदीको जीवनीमूलक निबन्ध सङ्कलन विश्व साहित्यका केही कवि र कथाकार नामको नवीनतम् कृतिको लोकार्पण भयो। यस कृतिको लोकार्पण गर्नुभयो तेजपुर विश्वविद्यालयका गणित विज्ञान विभागका प्रमुख प्राध्यापक डा.भीम प्रसाद शर्माज्यूले। यस कृतिमा विश्वभरिका उन्नाइसजना वरेण्य कवि र कथाकारहरूको बारेमा लेखिएका निबन्धहरू समावेश गरिएको छ।
सभाको सुरूमा आमन्त्रित अतिथिहरूलाई स्वागत गर्दै सभाको उद्देश्य व्याख्या गर्नुहुन्छ गोष्ठीका मूलसचिव आदरणीय मुक्ति लुइँटेल। यसै बैठकमा दुईवटा विषयमाथि कार्यपत्र पाठ गरिए, जसलाई प्रस्तुत गर्नुभएको थियो दरङ् कलेजका नेपाली विभागका अवकाशप्राप्त प्राध्यापक आदरणीय खेमानन्द शर्मामिश्र ( कवि पुष्पलाल उपाध्यायको जीवनी र काव्यिक प्रतिभा विषयमा ) तथा तेजपुर कलेजका अवकाशप्राप्त उपाध्यक्ष आदरणीय प्राध्यापक कमल उपाध्यायज्युले (वर्तमान नेपाली साहित्य र युवा प्रजन्म विषयमा )। सभाको बिचमा स्थानीय विभिन्न कविले गीत,गजल र कविता पाठ गर्नुभएको थियो। सभाको अध्यक्षता गर्नुभएको थियो गोष्ठीका भूतपूर्व सभापति श्रीमती लावण्य देवीले र यसलाई सुचारुरूपले परिचालना गर्नुभएको थियो गोष्ठीका मूलसचिव मुक्ति लुइँटेलले र धन्यवाद ज्ञापन गर्नुभएको थियो प्रा. कमल सेढाईंले।
गोष्ठीका सबै आदरणीय सदस्य-सदस्या साथै स्थानीय विद्वानवर्गको उपस्थितिले अनुष्ठानलाई रोचक र सफल तुल्याएको थियो।
प्रतिक्रिया