टोरोन्टो, क्यानडाको टोरोन्टो शहरमा नेवाः समुदायकी जेष्ठ महिला अष्ट कुमारी ताम्राकारको नेवाः परम्परा अनुसार दोश्रो ” ज्याःजन्कु””(चन्द्ररथारोहण) संस्कार सम्पन्न गरिएको छ। नेवाः परम्परा अनुसार मण्डप बनाएर संचालन गरिएको सो अनुष्ठान भगबान गणेशको पुजाबाट शुरु गरिएको थियो भने चन्द्रको प्रतिमा राखि आबश्यक सामाग्रि सहित दीप प्रज्वलन गरिएको थियो। त्यसपछि शुभ घडिमा नवग्रह लगायत पुजा गरेर अष्ट सिद्दिको कामना गरिएको थियो भने नेवाः परम्परा अनुसार “सी फःलुयगु” कार्य सहित उहाँको आरोग्यको कामनार्थ बिशेश गहना”पुन्हाय चा” कानमा लगाईदिएको थियो।सो कार्यक्रम पछि आफन्तहरुले उहाँको पाउ धोएका थिए भने उहाँले सबैलाई दक्षिणा सहित शुभ आसिष दिएका थिए।
पुजाको कार्यक्रम पछि उहाँका सुपुत्र नरेश ताम्राकारले उपस्थित पाहुनाहरुको स्वागत गर्नु भएको थियो। त्यसपछि उहाँलाई क्यानेडियन नेवाः गुथिको तर्फ बाट शुभकामना पत्र को साथै दोसल्ला ओढाई सम्मान गरिएको थियो। सो संस्कारको महत्व बारे बोल्नु हुन्दै गुथिका अध्यक्ष उत्तम माकःजुले “ज्याःजन्कु” संस्कार जेष्ठ नागरिकहरुलाई देबता सरह सम्मान गरि उहाँहरुको मनोबल बढाउने नेवाः संस्कारको एउटा मह्त्वपूर्ण पक्ष हो भन्नु भयो।साथै उहाँले संसारमा नेपालमा मात्र उमेर अनुसार पाँचतह सम्मको जेष्ठ नागरिक सम्मान गर्ने परम्परा रहेको बताउनु हुन्दै यस्ले अन्तर पुस्ता सम्बन्धलाई पनि जोडी राख्ने भएकोले यसको प्रचार प्रसार अन्तर्राष्ट्रिय क्षेत्रमा हुनु पर्ने बिचार ब्यक्त गर्नु भयो। कार्यक्रममा बिभिन्न महानुभाब हरुले उहाँको सुस्वास्थ्य, समृदि तथा दिर्घायुको कामना गरेका थिए।
नेवाः परम्परा अनुसार आफ्नो जीबनमा हजार पुर्णिमाको दर्शण गरेका ब्यक्तिले मात्र यो चन्द्र रथारोहण संस्कार गर्न पाउने भएकोले यसलाई” सहश्र चन्द्र दर्शन” पनि भन्ने गरिन्छ र ज्याः जन्कु गरेका ब्यक्ति देबता सरह हुने जन बिस्वास छ। सात समुद्र पार क्यानडामा बसेर पनि नेवाः संस्कार लाई जिबन्तता दिई यो संस्कार पूर्ण गरेकोमा पाहुनाहरुलेआयोजक परिवारलाई धन्यबाद दिन्दै सो संस्कारले क्यानडामा नेवाः संस्कृतिको प्रबर्द्दन र संरक्षण हुनुको साथै नयांँ पुस्ताको लागि पनि एउटा उदाहरण भएको बिचार ब्यक्त गरेका थिए।
प्रतिक्रिया