क्यापिटल हिलतिर लम्किंदै नेपाली पाइला !

- लेखनाथ भण्डारी २०८१ वैशाख २५ गते ०:५४ मा प्रकाशित

विश्वको सम्वृध्दि र शक्तिको केन्द्र मानिने संयुक्त राज्य अमेरिकालाई अवसर र स्वतन्त्रताको भूमि पनि मानिन्छ । आप्रवासीहरूको बहुसांस्कृतिक पहिचानयुक्त अमेरिकामा नेपालीले पाइला टेकेको २०१९ मा एक शताब्दी पुग्यो । त्यसयता केही वर्ष नबित्दै केही जोर नेपाली पाइला अमेरिकी संसदको सर्वोच्च केन्द्र क्यापिटल हिलतिर बढिरहेका छन् ।

अमेरिकामा यो वर्ष राष्ट्रपतिको निर्वाचन हुने वर्ष हो । हरेक ४ वर्षमा हुने यो निर्वाचनकै वर्ष अमेरिकी संघीय संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सको सदस्यका लागि पनि निर्वाचन हुन्छ । यो वर्षको नोभेम्बर महिनाको पहिलो मंगलबार नोभेम्बर ५ मा परेको छ । यही दिन अमेरिकामा आम निर्वाचन हुँदैछ । यस निर्वाचनमा अमेरिकी राजधानी वासिङ्टन डीसी रहेको ग्रेटर वाशिङ्टन महानगर क्षेत्रबाट दुई जना नेपाली भाषी अमेरिकी हाउस अफ रिप्रेजेन्टेटिभ्सको सदस्यका लागि प्राइमरी(अन्तरपार्टी) प्रतिष्पर्धामा र एक जना स्थानीय टाउनको मेयरका लागि प्रत्यक्ष निर्वाचनमा होमिएका छन् ।

अमेरिकी संसदको निर्वाचनको दौडमा रहेका नेपालीहरूमा डा. ह्यारी भण्डारी अमेरिकी मूलधारको राजनीतिमा परिचित नाम हो । अमेरिकामा नेपाली मूलको पहिलो राज्य सांसद (डेलीगेट) उनी मेरिल्याण्ड राज्यको हाउस अफ एसेम्बेली निर्वाचन क्षेत्र नम्बर ८ का बहालवाला सांसद हुन् । मेरिल्याण्ड राज्यबाट गत वर्षको नोभेम्बरमा दोस्रो कार्यकालका लागि निर्बाचित डेलिगेट भण्डारी अहिले मेरिल्याण्ड राज्यको कंग्रेसनल निर्वाचन क्षेत्र २ बाट डेमोक्रेटिक पार्टीको तर्फबाट संघीय सांसदका लागि अन्तरपार्टी प्रतिष्पर्धामा छन् ।

यसैगरी भर्जिनिया राज्यको निर्वाचन क्षेत्र १० का एड्रियन (आशिष) पोखरेल पनि संघीय सांसदका लागि डेमोक्रेटिक प्राइमरी प्रतिष्पर्धामा छन् । पोखरेल निर्वाचनकै लागि सरकारी ‘अफिसर’को जागिर छोडेर चुनावी प्रतिष्पर्धामा उत्रिएका हुन् । उनले केही वर्ष अमेरिकी सेनामा पनि काम गरेका थिए ।

प्रदीप ढकाल ग्रेटर वाशिङ्टन मेट्रो क्षेत्रको फेयरफेक्स काउन्टी अन्तर्गतको हरेन्डन टाउनको मेयरका लागि प्रतिष्पर्धा गर्दैछन् । उनी त्यही सिटीका तेस्रो कार्यकालका लागि बहालवाला टाउन काउन्सिल सदस्य पनि हुन् ।

ह्यारी भण्डारी

डेलिगेट भण्डारीले अमेरिकामा रहेको नेपाली समुदायमाझ अमेरिकाव्यापी निर्वाचन अभियान चलाएका छन् । भण्डारी अमेरिकामा रहेका २५ हजार नेपालीको प्रत्यक्ष सम्पर्कमा रहेको बताउँछन् । उनको चुनावी अभियानका लागि दुई साता पहिला अमेरिकाका विभिन्न राज्यमा रहेका नेपालीहरूको एक ‘भर्च्युल’ भेलाका सहभागीहरूले ६५ हजार डलर उपलब्ध गराउने प्रतिवद्धता जनाएका थिए । प्राइमरी चुनावका लागि अमेरिकी नागरिक वा स्थायी बसोबासको लागि अनुमतिप्राप्त व्यक्तिले एकजना उम्मेद्वारलाई ६ हजार ६ सय डलरसम्म चन्दा दिन सक्छन् ।

उनले प्रस्तुत गरेका विधेयकहरूमा मेरिल्याण्डमा हरेक वर्षको अक्टोबर ५ मा ‘दशैं दिवश’ मनाउने अमेरिकामा रहेका नेपालीहरूका लागि अहम् महत्वको छ ।

भण्डारीको अनुमानित चुनावी खर्च करिव सात लाख डलर रहेको छ । उनले गत साता एक अपिल मार्फत् प्रतिस्पर्धामा खरो रुपमा उत्रिन तथा विगतको सफलता तथा भविष्यको कार्ययोजना शिक्षा, स्वास्थ्य, आप्रवासन,विश्वमा भईरहेको द्वन्दलगायतका जल्दाबल्दा चुनावी मुद्दालाई मतदाताहरुको घर घरमा पुर्याउन प्रचार सामाग्रीको लागि केही दिन भित्रमै करिब ३ लाख डलर जम्मा गर्न आवश्यक भएको सार्वजनिक गरेका थिए ।

डेलिगेट भण्डारीले मेरिल्याण्ड राज्यको संसदमा आफ्नो पहिलो ४ वर्षे कार्यकालमा १९ र दोस्रो कार्यकालको पहिलो ६ महिनामा अर्को एउटासमेत गरेर २० वटा विधेयक पारित गराएर कानून बनाइसकेका छन् । उनले प्रस्तुत गरेका विधेयकहरूमा मेरिल्याण्डमा हरेक वर्षको अक्टोबर ५ मा ‘दशैं दिवश’ मनाउने अमेरिकामा रहेका नेपालीहरूका लागि अहम् महत्वको छ । यो कानूनको प्राकथनमै दशैं नेपालमा उत्पति भएको सांस्कृतिक पर्व भनिएको छ । उनले मेरिल्याण्डको नेपाली समुदायका लागि निर्माण हुँदै गरेको सांस्कृतिक केन्द्र र सामुदायिक भवनका लागि राज्यकातर्फबाट साढे पाँच लाख डलर निकासा गर्ने लगायतका सामाजिक कार्यहरूमा सहजिकरण गरेका छन् ।

भण्डारीले संघीय संसदको सदस्यका लागि उमेद्वारी दिएको निर्वाचन क्षेत्रको जनसङ्ख्या करिब ८ लाख छ । डेमोक्रेटिक प्राइमरीमा ६ जनाबीच प्रतिष्पर्धी रहेपनि भण्डारीको मुख्य प्रतिस्पर्धा जोनी ओल्स्जेस्की जुनियरसँग छ । मेरिल्याण्डका राज्यकै पूर्व हाउस अफ एसेम्बेली सदस्य जोनी हाल बाल्टिमोर काउन्टीका एक्ज्युकेटिव हुन् । प्राइमरी निर्वाचनमा ४० हजार मत प्राप्त गर्न सक्दा भण्डारीको क्यापिटल हिलको यात्रा सहज हुनसक्छ । डेमोक्रेटिकको पकड रहेको यस क्षेत्रबाट डेमोक्र्याट पार्टीका उमेदवार नै निर्वाचित हुँदै आएका छन् । मेरिल्याण्ड राज्यमा मे २ देखि ९ सम्म अग्रिम मतदान गर्न सकिन्छ भने १४ मा प्राइमरी चुनाव हुने कार्यतालिका रहेको छ ।

ह्यारी भण्डारीलाई सहयोग गर्न चाहनु हुनेहरूले यो लिङ्क मार्फत् गर्न सक्नुहुन्छ-

hb4md.com/text?refcode=240423&t=CKawK1

एड्रिन (आशिष) पोखरेल

अमेरिकाको राजनीतिमा आफ्ना महत्वाकाङ्क्षी पाइला क्यापिटल हिलतर्फ लम्काएका अर्का नेपालीमूलका अमेरिकी हुन्, एड्रिन(आशिष) पोखरेल । तीन दशक पहिले उच्च शिक्षाका लागि अमेरिका आइपुगेका पोखरेल अहिले पनि विद्यावारिधिको विधार्थी भएको बताउँछन् । नेपालको पूर्वी शहर धरान विजयपुरका उनले यही वर्षदेखि अमेरिकी राजनीतिमा पाइला राखेका हुन् ।

अमेरिकी नेपाली समुदायबाट हुने स्वयंसेवी तथा स्वैच्छिक आर्थिक सहयोगका लागि नेपाली समुदाय अग्रसर भएकोमा प्रसन्न छन् उनी । अहिलेसम्म तीनहजार दुईसय नेपाली समुदायका सदस्यसँग सामाजिक सञ्जालमार्फत सम्पर्क स्थापित गरिसकेका पोखरेल १० हजार नेपालीहरू माझ पुग्ने योजनामा छन् । आफ्नो निर्वाचन क्षेत्रका अमेरिकी समुदायका भित्री तहसम्म घरदैलोमा सकृय पोखरेल अमेरिकी भूमीमा आफूले गरेको सेवा र समर्पणको अनुभव सुनाउँदै मतदाताहरूलाई आफुतिर आकर्षित गर्ने प्रयासमा छन् । सेवा,समर्पण र अनुभवलाई अमेरिकी समाजले सम्मान गर्नेमा पोखरेल विश्वास गर्छन् ।

उनको प्राइमेरी चुनावी खर्चको आकलन करिव ३ लाख डलर रहेको छ । भर्जिनिया राज्यको निर्वाचन क्षेत्र १० स्थित गेन्सभिलमा ५ वर्ष पहिले किनेको घर बैंकमा धितो राखेर एक लाख डलर चुनाव खर्च छुट्याएका छन् पोखरेलले ।

पोखरेलको निर्वाचन क्षेत्र भर्जिनिया १० मा डेमोक्रेटिक प्राइमरी आगामी जुन १८ मा हुँदैछ । अग्रिम मतदान भने मे ३ बाटै सुरू हुन्छ ।

आफ्नो निर्वाचन क्षेत्रका अमेरिकी समुदायका भित्री तहसम्म घरदैलोमा सकृय पोखरेल अमेरिकी भूमीमा आफूले गरेको सेवा र समर्पणको अनुभव सुनाउँदै मतदाताहरूलाई आफुतिर आकर्षित गर्ने प्रयासमा छन् ।

साढे ६ लाख मतदाता रहेको भर्जिनिया १० मा पोखरेलको प्रतिष्पर्धा १२ जनासँग हुँदैछ । यस क्षेत्रमा ६२ प्रतिशत स्थानिय ह्वाइट अमेरिकन,१८ प्रतिशत स्पेनिश,१४ प्रतिशत एसियन र बाँकि अन्य छन् । प्राइमरीमा ६० हजार मत खस्न सक्ने र विजेताले १५ हजार कटाउनुपर्ने पोखरेलले अनुमान गरेका छन् ।

एड्रिन(आशिष) पोखरेललाई सहयोग गर्न चाहनु हुनेहरूले यो लिङ्क मार्फत् गर्न सक्नुहुन्छ-

https://secure.actblue.com/donate/adrian4congress-4

प्रदीप ढकाल

फेयरफेक्स काउन्टीअन्तर्गत हरेन्डन टाउनको मेयरका उम्मेद्वार प्रदीप ढकालको निर्वाचन क्षेत्रमा करिव १२ हजार मतदाता रहेका छन् । उनको प्रतिष्पर्धा एकजनासँग मात्र छ । यस निर्वाचन क्षेत्रमा स्थानीय अमेरिकन ३५,स्पेनिस १८,एसियन १६ प्रतिशत र बाँकी अन्य समुदायका मतदाता छन् । राष्ट्रपतिका लागि हुने मतदानसँगै स्थानीय टाउनको मेयरका लागि पनि निर्वाचन हुने भएकाले तुलनात्मकरुपमा अन्यत्रभन्दा यहाँ धेरै मतदान हुन्छ । कूल मतदातामध्ये ८० प्रतिशतले मतदान गरे मेयरमा निर्वाचित हुनका लागि ५ हजारभन्दा माथि मत पाउनुपर्ने अनुमान गर्न सकिन्छ ।

आगामी नोभेम्बर ५ मा हुने राष्ट्रपतीय चुनावकै दिन अन्तिम मतदान हुने भए तापनि सेप्टेम्वर २० देखि नै मतदाताहरू आ-आफ्नो अनुकुलमा मतदान केन्द्रमा गएर वा हुलाकबाट पनि अग्रिम मतदानमा सहभागी हुनसक्छन् |

मेयरका उमेदार ढकालले चुनाव खर्च २५ हजार डलर अनुमान गरेका छन् । आफ्ना निर्वाचन क्षेत्रका सबै समुदायका सदस्यहरूको स्वैच्छिक सहयोगको अपेक्षा राखेका उनको अहिलेसम्मको खर्च १ हजार डलर आसपासमा छ । उनको चुनावी नारा हो ‘परिवर्तन,प्रगति र समृद्ध शहरको लागि नयाँ नेतृत्व’। मेयरका लागि हुने निर्वाचनमा निर्वाचन कार्यालयले पार्टीगत राजनीतिक पहिचान खोज्दैन तर पार्टीको अनुमोदन पाउनका लागि पार्टीको सरोकार समुहको समर्थन भने जुटाउनु पर्छ | निर्वाचन कार्यालयबाट उमेदवारको आधिकारिक अनुमति लिइसकेका ढकाल फेयरफेक्स डेमोक्र्याट पार्टिको अनुमोदनको प्रतिक्षामा छन् |

अमेरिकाको मूलधारको राजनीतिमा नेपाली मूलका अमेरिकीको चासो र सहभागिता क्रमशः बढ्दैछ । मेरिल्याण्ड राज्यको इन्डियन हेड सिटीको उपमेयर किरण सिटौला सोही पदमा दोस्रो कार्यकालको जिम्मेवारीमा दोहोरिएका छन् । न्यूयोर्क राज्यको डिष्ट्रिक १०३ बाट न्यूयोर्क स्टेट एसेम्वलीमा सराहना श्रेष्ठ २०२२ मा निर्बाचित भइन् । न्युयोर्कको हाउस अफ एसम्बेलीको दुईवर्षे कार्यकाल रहेकाले यसपटक उनी दोस्रो कार्यकालका लागि चुनावी प्रतिस्पर्धामा छिन् ।

अमेरिकाको विभिन्न राज्यका सिटी काउन्सिलका बहालवाला अन्य

सदस्यहरूमा रामचन्द्र श्रेष्ठ, टीका पौडेल र भुवन प्याकुरेल निर्वाचित भएका छन् । अन्य थुप्रै नेपालीहरूले पनि अमेरिकाको मूलधारको राजनीतिमा आफ्ना पाइला बढाइरहेका छन् ।

नेपालीहरूका यस्ता प्रयास केही व्यक्तिगत महत्वाकाङ्क्षा र प्रचारका लागिजस्ता मात्र पनि देखिए पनि केही प्रयास वस्तुगत अवस्थाको आँकलन गरेर सुविचारित नै छन् । अमेरिकी राजनीतिमा नेपाली भाषीहरूको सहभागिता बढ्नुलाई पत्रकार तरुण पौडेल स्वभाविक मान्छन् । विश्वका सबैजसो देशका आप्रवासीहरूको देश भएकाले पनि यहाँ अन्य क्षेत्रमा जस्तै राजनीतिमा जान चाहनेका लागि पनि उतिकै अवसर छ । पौडेलका अनुसार अमेरिकामा राजनीति पेसाका रुपमा नलिने भएकाले राजनीतिप्रति धेरैको रुचि छैन । बढ्दै गएको नेपाली भाषीहरूको जनसङ्ख्याका कारण पहिचान र पहुँचका लागि राजनीतिमा नेपालीहरूको सहभागी बढ्दैगएको हो।

अमेरिकामा नेपाल तथा नेपालीलाई देखिने र सुनिने बनाउन पनि यहाँको मूलधारको राजनीतिमा नेपालीको प्रवेश आवश्यक छ । तर, अत्यन्तै अल्पसंख्यमा रहेको नेपालीका लागि यो यात्रा सहज छैन । सन् २०२० को जनगणनाअनुसार अमेरिकामा नेपाली भाषीहरूको संख्या २ लाख १९ हजार नाघेको छ तर उनीहरूको प्राथमिकता राजनीति भैसकेको छैन । अमेरिकामा चुनाव ज्यादै खर्चिलो हुने भएकाले नेपालीका लागि राजनीतिक यात्रा कठिन भएको हो । मुठ्ठीदानका लागि कहलिएका नेपालीले राजनीतिका लागि त्यस्तो किसिमको दान दिन सकेको देखिएको छैन । उनीहरूको प्राथमिकता बदलिएर मन पनि परिवर्तन भयो भने नेपालीका लागि चुनाव खर्च जुटाउन गाह्रो छैन । त्यस्तो भएमा केही नेपालीहरूले अमेरिकी मूलधारको राजनीतिमा मानक उपलब्धि हासिल गर्न सक्छन् । त्यसले अन्ततः अमेरिकामा नेपाली अरू देखिने र सुनिने हुनेछन् ।

अमेरिकी राजनीतिमा नेपाली भाषीहरूको सहभागिता बढ्नुलाई पत्रकार तरुण पौडेल स्वभाविक मान्छन् ।

आगमी नोभेम्बर ५ को आमनिर्वाचनसम्म पुग्नलाई प्राइमरीको खड्को काट्नुपर्ने हुन्छ । त्यसका लागि क्यापिटल हिलतिर बढेका नेपाली पाइलाहरूलाई अग्रिम शुभकामना । @patalbat

https://jhannaya.nayapatrikadaily.com/news-details/2446/2024-05-04

  • नयाँ पत्रिका/ झन् नयाँ,११ मे २०२४

प्रतिक्रिया