र्‍यान्डम रिडर्स सोसाइटीद्वारा पुस्तक साटासाट गरी मनाइयो पुस्तक दिवस

इनेप्लिज २०८१ वैशाख १२ गते १०:३४ मा प्रकाशित

पोखरा, वैशाख १२ गते । र्‍यान्डम रिडर्स सोसाइटीले विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवसका अवसरमा पुस्तक आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले पुस्तकका माध्यमबाट जीवन बुझ्न सघाउ पुग्ने धारणा राखे । युनेस्कोले मानव जातिको आवश्यकतालाई महसुस गरी विभिन्न दिवसहरूको घोषणा गर्ने क्रममा स्थापित पुस्तक दिवस निकै महत्वपूर्ण भएको बताए । पुस्तक दिवसले पठन संस्कृतिको विकासमा विशेष भूमिका खेलेको उनको भनाइ थियो । कतिपयले पुस्तक देख्न नपाएका र देख्न पाए पनि पढ्न नपाएका व्यक्तिहरू आज पनि विश्वमा रहेको प्रसङ्ग कोट्याउँदै सरुभक्तले पढ्न बाँकी विश्वका मानिसले पनि पुस्तक पढन् पाउन् भन्ने कामना गरे ।

सचिव नेपालप्रकाश अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा उपस्थित करिब ५० जनाले एकापसमा पुस्तक साटासाट गरेर पुस्तक दिवस मनाएका थिए । सोसाइटी हरेक वर्ष २३ अप्रिलमा पुस्तक दिवसमा पुस्तक आदानप्रदानसँगै विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सोही अवसरमा सोसाइटीले साहित्यकार प्रकट पगेनी ‘शिव’ को स्मृतिमा श्रद्धाञ्जली सभा पनि सम्पन्न गरेको थियो । उनकै शोकमा सोसाइटीले वैशाख महिनाको नियमित कार्यक्रम स्थगित गरेको जानकारी सो अवसरमा दिइएको थियो ।

प्रतिक्रिया