कलहंस छन्दकाे अभ्यास गर्दै छन्दमा टुक्का कविता लेखन कार्यक्रम सम्पन्न !

इनेप्लिज २०८१ वैशाख ७ गते १०:०२ मा प्रकाशित

काठमाडौँ,
टुक्का साहित्य समाजकाे आयाेजनामा २०८१ वैशाख १ गते “छन्दमा टुक्का कविता लेखन श्रृङ्खला-१०२” सम्पन्न भएकाे छ। ” छन्दमा टुक्का अभ्यासशाला ” मा सञ्चालन भएकाे उक्त कार्यक्रममा छन्द प्रशिक्षक रामशरण न्याैपानेले प्रशिक्षण गर्नु भएकाे थियाे । अभ्यासमा विश्वका विभिन्न स्थानहरूबाट १२ नेपालीभाषी सर्जकहरूकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमकाे सहजीकरण टुक्का साहित्य समाजका अध्यक्ष तथा परिकल्पनाकार ताराप्रसाद चापागाईँले गर्नु भएकाे थियाे ।

विभिन्न छन्दहरू सिकाउँदै छन्दमा टुक्का कविता लेखनकाे विकासगरी नेपाली भाषा साहित्यमा विशेष याेगदान पुर्याउने उद्धेश्यका साथ छन्दमा टुक्का कविता लेखन अभ्यास श्रृङ्खला सञ्चालन भइरहेकाे छ । यस श्रृङ्खलाका सहभागीहरूले वार्णिक छन्द अन्तर्गत कलहंस छन्दकाे अभ्यास गर्दै टुक्का कविताहरू सिर्जना गरेका थिए ।

कार्यक्रमकाे समापन गर्दै अध्यक्ष चापागाईँ तथा प्रशिक्षक न्याैपानेले प्रयाेगवादी काव्यिक विधा टुक्का कवितामा छन्दकाे प्रयाेग गर्दै केही मात्रामा भए पनि छन्दमा काव्य सिर्जना गर्न प्रेरित गर्दै नेपाली भाषा साहित्यकाे जगेर्ना गर्ने प्रयास गरिएकाे जानकारी गराउदै उत्साहपूर्वक सहभागी भई कलहंस छन्दमा सुन्दर टुक्का कविताहरू सिर्जना गर्नुभएका सहभागी सबै टुक्काकारहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।

~~~~~~~~~~~~~~~~~~
::::: कलहंस छन्द :::::
~ गणः स ज स स गुरु
~ ११२ १२१ ११२ ११२ २
~ नवौँ अक्षरमा छोटो विश्राम
~~~~~~~~~~~~~~~~~~

अभ्यासका क्रममा सङ्कलन भएका कलहंस छन्दमा सिर्जना गरिएका केही टुक्का कविताहरू
[१]
१.
शुभकामना खुब दिएँ मन छाई
नववर्षले जय गरोस् सबलाई ।
२.
नव कोइली विपिनमा खुब गायो
वन झाँगियो प्रणयको दिन आयो ।
✍️ रामशरण न्यौपाने
भक्तपुर
[२]
कमजाेर माथि अझ झन् कति दार्नु  
दुनियाँ बदल्नु छ भने मन खार्नु ।
✍️ ताराप्रसाद चापागाईँ
धुनिबेसी
[३]
१.
जब चोट लाग्छ मनमा,अति धेरै
पदचाप दुख्छ मुटुमा अनि मेरै ।
२.
नव पालुवा पिपलका,जब फुल्छन्
नववर्षले वन लता, खुब झुल्छन्।
✍️ होम प्रसाद नेउपाने
धरान, सुनसरी ।
[४]
१.
मदमस्त बन्नुछ तिमी अब धेरै
मन भित्र नै बस तिमी अब मेरै ।
२.
दिलमा रहेर क्षमता पर सार्छौ
उसको भएर ममता किन टार्छौ ।
✍️ बेदु न्यौपाने
काठमाडाैँ
[५]
मनमा बसेछ पिरती खुब राम्रो
सुरु नै भएछ नव जीवन हाम्रो ।
✍️ आर्त अकुलीन
कैलाली
[६]
१.
अब शान्तिले पढ तिमी भ्रम तोडी
जप देवता जति सबै कर जोडी ।
२.
नव वर्षको परिधिमा सुख खोज
शुभकामना छ सबमा गर मोज ।
✍️ विवश पारदर्शी
झापा
[७]
शुभकामना अब दिँदैछु म हेर
नववर्षमा सब खुसी हुनु धेर ।
✍️ दीपा समभाव
दुबेकोल खोटाङ्ग
[८]
कति पीर राष्ट्र प्रतिको, सपनामा
शुभकामना प्रकट भो, रचनामा ।
✍️ सुस्मिता अधिकारी
काठमाडौँ
[९]
नव वर्षको सकलमा शुभ शान्ति
शुभकामना जन नहोस् नि अशान्ति ।
✍️ भगवती दवाडी
दमक, झापा
[१०]
१.
बनियो सबै मनुज सुन्दर तारा
नव पालुवा फरर गर्छ इसारा ।
२.
जब यो वसन्तमय हुन्छ धरामा
तब हर्ष बढ्दछ कुना पहरामा ।
✍️ पद्मा काश्यप पाण्डे
मोरङ
[११]
१.
नववर्ष हर्ष सब माझ दिलाओस्
सुख शान्ति लोक सबमा खुब छाओस् ।
२.
सुखमा रहेर जन हर्ष मनाओस्
नववर्ष खुशी सबको गराओस् ।
✍️ चूडा निर्भीक
हालः काठमाण्डौँ ।
[१२]
१.
म कनै कतै भुल भए भन बाेली
मनको  भनेर खुस हाै दिल खाेली ।
२.
मनले दिएछु कति छन् भर माया
वयले सकेन किन हो दिन छाया ।
✍️ रामप्रसाद पुरी
बादेल, खाेटाङ ।

::::: जय टुक्का! जय साहित्य!! :::::

प्रतिक्रिया