मञ्जुभाषिणी छन्दकाे अभ्यास गर्दै छन्दमा टुक्का कविता लेखन कार्यक्रम सम्पन्न ।

इनेप्लिज २०८० चैत ३० गते ९:४६ मा प्रकाशित

काठमाडौँ,

टुक्का साहित्य समाजकाे आयाेजनामा २०८० चैत २४ गते “छन्दमा टुक्का कविता लेखन श्रृङ्खला-१०१” सम्पन्न भएकाे छ। ” छन्दमा टुक्का अभ्यासशाला ” मा सञ्चालन भएकाे उक्त कार्यक्रममा छन्द प्रशिक्षक रामशरण न्याैपानेले प्रशिक्षण गर्नु भएकाे थियाे । अभ्यासमा विश्वका विभिन्न स्थानहरूबाट ९ नेपालीभाषी सर्जकहरूकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमकाे सहजीकरण टुक्का साहित्य समाजका अध्यक्ष तथा परिकल्पनाकार ताराप्रसाद चापागाईँले गर्नु भएकाे थियाे ।

विभिन्न छन्दहरू सिकाउँदै छन्दमा टुक्का कविता लेखनकाे विकासगरी नेपाली भाषा साहित्यमा विशेष याेगदान पुर्याउने उद्धेश्यका साथ छन्दमा टुक्का कविता लेखन अभ्यास श्रृङ्खला सञ्चालन भइरहेकाे छ । यस श्रृङ्खलाका सहभागीहरूले वार्णिक छन्द अन्तर्गत मञ्जुभाषिणी छन्दकाे अभ्यास गर्दै टुक्का कविताहरू सिर्जना गरेका थिए ।

कार्यक्रमकाे समापन गर्दै अध्यक्ष चापागाईँ तथा प्रशिक्षक न्याैपानेले प्रयाेगवादी काव्यिक विधा टुक्का कवितामा छन्दकाे प्रयाेग गर्दै केही मात्रामा भए पनि छन्दमा काव्य सिर्जना गर्न प्रेरित गर्दै नेपाली भाषा साहित्यकाे जगेर्ना गर्ने प्रयास गरिएकाे जानकारी गराउदै उत्साहपूर्वक सहभागी भई मञ्जुभाषिणी छन्दमा सुन्दर टुक्का कविताहरू सिर्जना गर्नुभएका सहभागी सबै टुक्काकारहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।

::::: मञ्जुभाषिणी छन्द :::::
~ गण- स ज स ज गुरु
~ सङ्केत- ११२ १२१ ११२ १२१ २
~ पाँच अक्षरमा छोटो विश्राम

अभ्यासका क्रममा सङ्कलन भएका मञ्जुभाषिणी छन्दमा सिर्जना गरिएका केही टुक्का कविताहरू
[१]
१.
सपना भयो, सुख लिने कुरा अरू
लोकमाथि नै, अति चले छुराहरू ।
२.
जति काठ छन्, विपिनका सडे सुले
परदेशका, डलरले किने हुले ।
✍️ रामशरण न्यौपाने
भक्तपुर
[२]
अझ फेरि सम्झिकन दुख्छ याे मन
पर एउटा परिधिमा छ तड्पन ।
✍️ ताराप्रसाद चापागाईँ
धुनिबेसी ।
[३]
१.
कतिका खुसी अब टुटे स्वदेशमा
अबको खुसी हुन गयो विदेशमा ।
२.
मनमा थियो सुख हुने कुराहरू
टोल माथि पो चलिरहे छुराहरू ।
✍️ बेदु न्यौपाने
काठमाडाैँ
[४]
१.
विष मोहमा जन फस्यो कठैबरी
मदहोसझैँ छ धन लोभले गरी ।
२.
कसरी भयो मिलन एक रातमा
लु अचम्म भो प्रलय बात बातमा ।
✍️ विवश पारदर्शी
झापा
[५]
१.
धनको धनी, मन दुखी अझै हुँदा
ममता गयो, प्रणय काखमा रुँदा ।
२.
अधुरा भए, विरहका फुटे चुरा
मधुमासका, हृदयमा चले छुरा ।
✍️ होम प्रसाद नेउपाने
धरान
[६]
छ भने दया र ममता क्षमा पनि
अब भक्तिभाव मनमा रहोस् अनि ।
✍️ दीपा समभाव
खोटाङ्ग
[७]
१.
सबले उठाउनु छ माथ देशको
नभए विलीन अब हुन्छ भेषको ।
२.
रिसराग छोड सब दाजुभाइले
नमिले त डुब्छ अब यो लडाइँले ।
✍️ पद्मा काश्यप पाण्डे
मोरङ
[८]
नव वर्षले मुलुकमा छरोस् खुसी
कति बस्दछौ पद भनि पुग्यो चुसी ।
✍️ सुस्मिता अधिकारी
काठमाडौँ
[९]
१.
शुभकामना छ सब जिन्दगी हरि
रमझम्म होस् सकलमा मनैभरि ।
२.
सब दीपले जगमगाउने थियो
अब स्वच्छता डगमगाउँदै जियो ।
✍️ भगवती दवाडी
झापा

::::: जय टुक्का! जय साहित्य!! :::::

प्रतिक्रिया