मत्तमयूर छन्दकाे अभ्यास गर्दै छन्दमा टुक्का कविता लेखन कार्यक्रम सम्पन्न !

इनेप्लिज २०८० चैत २३ गते ११:२४ मा प्रकाशित

काठमाडौँ,
टुक्का साहित्य समाजकाे आयाेजनामा २०८० चैत १७ गते “छन्दमा टुक्का कविता लेखन श्रृङ्खला-१००” सम्पन्न भएकाे छ। ” छन्दमा टुक्का अभ्यासशाला ” मा सञ्चालन भएकाे उक्त कार्यक्रममा छन्द प्रशिक्षक रामशरण न्याैपानेले प्रशिक्षण गर्नु भएकाे थियाे । अभ्यासमा विश्वका विभिन्न स्थानहरूबाट ११ नेपालीभाषी सर्जकहरूकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमकाे सहजीकरण टुक्का साहित्य समाजका अध्यक्ष तथा परिकल्पनाकार ताराप्रसाद चापागाईँले गर्नु भएकाे थियाे ।

विभिन्न छन्दहरू सिकाउँदै छन्दमा टुक्का कविता लेखनकाे विकासगरी नेपाली भाषा साहित्यमा विशेष याेगदान पुर्याउने उद्धेश्यका साथ छन्दमा टुक्का कविता लेखन अभ्यास श्रृङ्खला सञ्चालन भइरहेकाे छ । यस श्रृङ्खलाका सहभागीहरूले वार्णिक छन्द अन्तर्गत मत्तमयूर छन्दकाे अभ्यास गर्दै टुक्का कविताहरू सिर्जना गरेका थिए ।

कार्यक्रमकाे समापन गर्दै अध्यक्ष चापागाईँ तथा प्रशिक्षक न्याैपानेले प्रयाेगवादी काव्यिक विधा टुक्का कवितामा छन्दकाे प्रयाेग गर्दै केही मात्रामा भए पनि छन्दमा काव्य सिर्जना गर्न प्रेरित गर्दै नेपाली भाषा साहित्यकाे जगेर्ना गर्ने प्रयास गरिएकाे जानकारी गराउदै उत्साहपूर्वक सहभागी भई मत्तमयूर छन्दमा सुन्दर टुक्का कविताहरू सिर्जना गर्नुभएका सहभागी सबै टुक्काकारहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।

~~~~~~~~~~~~~~~~~~
::::: मत्तमयूर छन्द :::::
~ गण : म त य स गुरु
~ सङ्केत- २२२ २२१ १२२ ११२ २
~ ४ र ९ अक्षरमा छोटो विश्राम
~~~~~~~~~~~~~~~~~~

अभ्यासका क्रममा सङ्कलन भएका मत्तमयूर छन्दमा सिर्जना गरिएका केही टुक्का कविताहरू
[१]
१.
नाङ्गो नाच्ने धेर यहाँ छन् अधिकारी
बेच्छन् आफ्नै ती जननीको पनि सारी ।
२.
झोला मात्रै भर्न बसेका पदधारी
नेपालीले चिन्न सकेनन् छलकारी ।
✍️ रामशरण न्यौपाने
भक्तपुर
[२]
हेर्दैमा आनन्द बगैँचा ममताकाे
रम्नेकाे भाे चाप छ खाेजी समताकाे ।
✍️ ताराप्राद चापागाईँ
धुनिबेसी
[३]
१.
खाली जाली हेर भएछन् जन माझ
डाँका धेरै हेर गएछ्न् घर साँझ ।
२.
नेता खोज्दै हेर गएको छ समाज
हेर्दा मान्छे मात्र भएको छ नि आज ।
✍️ बेदु न्यौपाने
काठमाडाैँ
[४]
१.
मेरा आँखा, भित्र तिमी, वास बसेर
बत्ती बाल्ने, झल्ल जिमी, ज्ञान छरेर ।
२.
खोजी गर्दै, हिँड्छु तिमी, आज कहाँछ्यौ
डाँडाकाँडा, भीर धरा, खोज्छु जहाँछ्यौ ।
✍️ रसज्ञ छहरा
[५]
१.
हाम्रा मान्छे लौ अब जाने किन टाढा
पैसा भन्दा छैन र माया अझ गाढा ?
२.
चर्चा पैसा कै अनि पैसा सब ठान्ने
विद्यालाई भो अब कस्ले किन मान्ने?
✍️ दीपा समभाव
काठमाडाैँ
[६]
१.
भोका नाङ्गा यी जनताले कति मान्ने ?
जाली झेली धूर्त लुटेरा अति जान्ने ।
२.
नेता राजा बन्न पुगेछन् यसपाली
देख्यौँ सिङ्गो देश बनेको जन खाली ।
✍️ विवश पारदर्शी
झापा
[७]
१.
कोही होलान् तागतका ती खलकामी
भोग्दै जान्छन् पीर व्यथा अौ बदनामी ।
२.
मान्छे नै हुन् लोभ भएका तन धारी
मर्दा पर्दा साथ दिने अौ उपकारी ।
✍️ होम प्रसाद नेउपाने
धरान, सुनसरी ।
[८]
यी आँखामा, व्यक्ति कि पार्टी, कुन छानौँ ?
सारा उस्तै, देखिन थाले, कति धानौँ ।
✍️ म्यामराज राई
भोजपुर
[९]
नेपालीले गर्नु सधैँ कार्य धरामा
आफैँ फल्छन् धान मकै आलु गरामा ।
✍️ भगवती दवाडी
झापा
[१०]
१.
पैसै पैसामा दुनियाँ मोज छ भन्छन्
पैसाले नै जीवन के सार्थक बन्छन्?।
२.
आमा हौ धर्ती जनमा सन्तति मानी
गर्छौं श्रद्धा भाव तिमी नै  सब ठानी ।
✍️ पद्मा काश्यप पाण्डे
मोरङ
[११]
त्यो पाखामा सुन्दरलाग्ने घर हाम्रो
डाँडामा आहा अझ त्यो फूल छ राम्रो ।
✍️ शोभा आचार्य गौतम
काठमाडौँँ

::::: जय टुक्का! जय साहित्य!! :::::

प्रतिक्रिया