कोलोराडोमा हलिं नेवाः दिं मनाइयो

नातिबाबु भट्ट कोलोराडो, अमेरीका २०८० चैत २० गते २:१० मा प्रकाशित

कोलोराडो नेवाः खलःको आयोजनामा हलिं नेवाः दिं (World Newah Day) मनाइएको छ ।

धिमे बाजा र धिमे नाचको प्रस्तुति सँगै नेपाली सॉंस्कृतिक केन्द्र (नेपाली घर) मा आयोजित कार्यक्रममा कोलोराडो नेवाः खलःका अध्यक्ष भूषण लाल श्रेष्ठले लसकुस न्वचु (स्वागत मन्तव्य) दिएका थिए । World Newah Organization, America को Mountain Region उपाध्यक्ष तथा कोलोराडो नेवाः खलःका सल्लाहकार भुबनकृष्ण श्रेष्ठ तथा खलःका निवर्तमान अध्यक्ष प्रेमकाजी श्रेष्ठले World Newah Day को बारेमा आफ्ना भनाइहरू राखेका थिए ।

कार्यक्रममा स्थानीय गायक कलाकारहरू प्रमोद श्रेष्ठ ‘सालुगु गाचा साले मते’, सुरेश ताम्राकारले ‘राजमति कुमति जिके वःसा पिरति’ तथा मनोज काजी तुलाधरले ‘धाल जित नेवाः जिके नेवाः पह मन्त यःमां ’ लगायत गीतहरू गाएर सहभागीहरूलाई मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रमको अन्तमा वर्ल्ड नेवाः अर्गनाइजेशनले भर्खरै विमोचन गरेको लोककवि राजभाइ जकःमिको रचना, जुगल डंगोलको संगीत रहेको “नेपाः देयया सगरमाथा संसारया गजू, संसारया गौरव झीगु हलिं नेवाः दबू” बोलको हलिं नेवाः म्ये गीतमा सबैले गीत गाएर एक्यबध्दता जनाएका थिए ।

गायक गायिकाहरू जुजुकाजी रंजित, रीता महर्जन, पवित्र कसाः, दीपा महर्जन, सतीश महर्जन र रत्नशोभा महर्जनको स्वर रहेको यस गीतलाई संसारभर छरिएर रहेका ५० भन्दा बढी नेवाः कलाकार तथा सामाजिक अभियन्ताहरूले गीत गाएर र अभिनय गरेर म्यूजिक भिडियो तयार गरिएको थियो । कोलोराडो नेवाः खलःका मूछ्याञ्जे (महासचिव) सञ्जय शाक्यले सञ्चालन गरेको कार्यक्रममा मिसा कवका कजि (संयोजक) रमिता तुलाधरले कार्यक्रममा सहभागी सम्पूर्णमा धन्यवाद दिएकी थिइन ।

प्रतिक्रिया